• २४ वैशाख २०८३, बिहिबार

१२६ औँ वर्षमा गोरखापत्र

इतिहासको पहिलो मसौदा

blog

काठमाडौँ, वैशाख २४ गते । दक्षिण एसियाकै पुराना अखबारमध्येमा पर्ने गोरखापत्र दैनिक बिहीबारदेखि १२६ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि विभिन्न आरोहअवरोह पार गर्दै आएको यस अखबारले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा उल्लेखनीय योगदान पु¥याएको यस क्षेत्रका जानकारले बताउनुभएको छ । 

नेपाली समाजलाई सुसूचित गर्नुका साथै भाषिक र साहित्यक फाँटमा पनि गोरखापत्रको योगदान विशिष्ट रहेको उहाँहरूको अनुभव छ । स्थापनाकालदेखि अहिलेसम्म गोरखापत्रलाई नै आधार मानेर विश्वविद्यालयका विद्यार्थी, अनुसन्धान संस्थाका अध्येतादेखि पत्रकारिता क्षेत्रमै क्रियाशील संस्था तथा व्यक्तिका लागि पनि यो पत्रिका गतिलो खुराक बन्ने गरेको छ । 

गोरखापत्रले अवलम्बन गरेको भाषा, समाचार लेखन शैली, आफ्ना उत्पादनको बजारीकरणमा यसले अपनाएको रणनीतिलाई आधार मानेर आफ्नो मानक स्थापना गर्ने पनि प्रशस्तै छन् । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी गोरखापत्रलाई इतिहासको पहिलो मसौदा मान्नुहुन्छ । “आज पनि विगतका कुनै विषय चर्चामा आयो भने त्यतिखेर गोरखापत्रले के लेखेको रहेछ त भनेर खोज्ने गरिन्छ,” अधिकारीले भन्नुभयो, “यसको अर्थ गोरखापत्रले विगतदेखि नै आधिकारिकता प्रदान गर्दछ भन्ने हो । आजको चुनौती भनेको त्यही विश्वासलाई कायम राख्न सक्नु हो ।”अन्य सञ्चार माध्यमले जसरी समाचार, विचार लेख्न सकेनौँ भनेर विचलित नभई गोरखापत्रले आफ्नै धारमा निरन्तर बगिरहनुपर्ने पनि अधिकारीले बताउनुभयो । 

गोरखापत्र संस्थानकै पूर्वमहाप्रबन्धक तथा वरिष्ठ पत्रकार किशोर नेपाल भने गोरखापत्रले आफूलाई जीवन्त राख्न जनताको पक्षमा तटस्थ भएर सामग्री सम्प्रेषण गर्नुपर्ने बताउनुहुन्छ । सरकारी कुरालाई पनि प्राथमिकता दिँदै गोरखापत्र जनताको चेतनाको पहिलो विम्ब बन्नुपर्ने नेपालको भनाइ छ । नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिसमेत रहनुभएका नेपालले भन्नुभयो, “पत्रिकाले यति वर्ष पुरानो भएँ भनेर वर्ष गनेर मात्रै हुन्न । सामग्रीमा विविधता ल्याउनु पर्छ । आफूलाई छरितो रूपमा प्रस्तुत गर्न सक्नु पर्छ ।”

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले गोरखापत्रले नेपाली पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको वर्णन गरिसाध्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोरखापत्र देशको ठुलो र चहकिलो पत्रिका हो । यसले हरेक क्षेत्रमा उत्तिकै योगदान पु¥याएको छ ।”

वरिष्ठ सञ्चारकर्मी नम्रता शर्माले नेपाली पत्रकारिताको जग बसाल्ने श्रेय गोरखापत्रलाई जाने बताउँदै भन्नुभयो, “राणा शासनकालदेखि गणतन्त्रसम्म आइपुग्दा पनि गोरखापत्रले आधिकारिक सूचना सम्प्रेषण गर्दछ भन्ने जुन विश्वास छ । त्यो विश्वासलाई आजसम्म टुट्ट नदिनु ठुलो उपलब्धि हो ।” पछिल्लो समय विभिन्न भाषाका लागि छुट्टै पृष्ठ छुट्याएर गोरखापत्रले सबै समुदायको साझा पत्रिकाका रूपमा आफूलाई उभ्याएको शर्माले बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति धमेन्द्र झाले राष्ट्र निर्माणमा गोरखापत्रले पु¥याएको योगदान महìवपूर्ण रहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “नेपाली भाषा, साहित्य र कलाको जगेर्ना गर्नमा पनि गोरखापत्रको भूमिका अतुलनीय छ । यसलाई भविष्यमा पनि कायम राख्न सक्नु पर्छ ।”मिडिया अध्येता हर्षमान महर्जन भने गोरखापत्रले अब आफूलाई सार्वजनिक मिडियाभन्दा कसरी फरक बनाउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्ने बताउनुहुन्छ । गोरखापत्रले विविध भाषाभाषीलाई समेटेर छुट्टै पृष्ठ प्रकाशन गर्नु सुखद भएको बताउँदै महर्जनले सरकारलाई उत्तरदायी बनाउने कार्यमा पनि गोरखापत्रले ध्यान दिनुपर्ने बताउनुभयो । 

गोरखापत्रको नियमित प्रकाशन आरम्भ विसं १९५८ वैशाख २४ गते सोमबारदेखि साप्ताहिक रूपमा भएको थियो । नेपालबाटै प्रकाशन भएको नेपाली भाषाको पहिलो अखबारका रूपमा रहेको यस पत्रिकालाई नेपाली पत्रकारिता जगत्को विश्वविद्यालयको उपनामसमेत दिने गरिएको छ । 

गोरखापत्र प्रकाशनको ऐतिहासिक दिनलाई नै आधार मानेर सरकारले वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस पनि मनाउँदै आएको छ । 

सुरुमा साप्ताहिक रूपमा प्रकाशन आरम्भ भए पनि आफ्नो प्रकाशनको प्रारम्भदेखि विसं १९९१ वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि विसं २००१ असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ फागुन ७ गतेबाट दैनिक भएको हो । गोरखापत्रका सहप्रकाशनमा अङ्ग्रेजी भाषाको ‘दी राइजिङ नेपाल’, मासिक पत्रिका ‘मधुपर्क’, ‘युवामञ्च’, ‘मुना’ र ‘गोरखापत्र अनलाइन’ संस्करण रहेका छन् ।   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।