• ७ मंसिर २०८१, शुक्रबार

वराहक्षेत्रलाई समृद्ध नगर बनाउँछौँ

blog

वराहक्षेत्र नगरपालिका सुनसरी जिल्लाकै कान्छो नगरपालिका हो । स्थानीय तह पुनर्संरचना आयोगको सिफारिसबमोजिम २०७३ सालमा स्थापना भएको यस नगरपालिकाको नाम प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र देवस्थलको नामबाट नामकरण गरिएको छ । कुल २२२.०९ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको यो नगरपालिका भौगोलिक रूपमा कोशी प्रदेशकै ठुलो नगरपालिका हो । वराहक्षेत्र नगरपालिकाका प्रमुख  रमेश कार्कीसँग गोरखापत्रका वराहक्षेत्र समाचारदाता बाबुराम कार्कीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

निर्वाचित भएको एक वर्ष बितेको छ, यस अवधिमा कति काम गर्नुभयो ?

स्थानीय सरकारप्रति नागरिकको अपेक्षा हुन्छ नै । नगर प्रमुखको कार्यभार सम्हालेदेखि जनचाहना अनुसार नगरवासीको काममा लागिरहेको छु । नगरवासीलाई स्थानीय सरकारको अनुभूति गराउने कार्यमा लागेको छु । स्वास्थ्य उपचारका लागि सहरतिर जाने बाध्यतालाई हटाएका छौँ  । लालपुर्जा वितरणका लागि पहल भइरहेको छ । शिक्षामा सुधार, पूर्वाधारमा जोड, विपन्नलाई स्वास्थ्य बिमा, ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण, युवालाई गाउँमै राखेर रोजगारी, आधुनिक कृषि कार्यलाई जोड दिएका छौँ । महिलालाई आत्मनिर्भर बनाउन तालिम र स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरी योजना बनाएका छौँ । 

नगरको मुख्य सम्भावना के के देख्नुभएको छ ? 

यो नगरपालिका केही सीमित चुनौती र असीमित सम्भावना बोकेको नगरपालिका हो । पहाड, चुरे र समथल मैदान भौगोलिक अवस्था रहेको यो नगरपालिका धार्मिक एवं पर्यटकीय नगरपालिका हो । प्रसिद्ध तीर्थ वराहक्षेत्रधाम, चतराधाम, औलिया मठ, सूर्य कुण्डलगायत हरिद्वार कुम्भ क्षेत्र मानिने पुरातात्त्विक महत्त्व बोकेको धार्मिकस्थलहरू भएकाले पर्यटनको सम्भावना रहेको छ । कोशी नदीको मनोरम दृश्य, हरियाली जङ्गल, अर्ना र चरा खेल्ने ठाउँ कोशी टप्पु, सिमसार, कोशी नदीमा जल यात्रा, -याफ्टिङ, पानी बोट यहाँको पर्यटक लोभ्याउने स्थलका रूपमा रहेका छन् । वराहक्षेत्र कृषि तथा पशुपालन व्यवसायको हबका रूपमा रहेको छ । बेसार, अम्लिसो, अदुवा, उखु, आलु उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको छ । यी कुरालाई प्रवर्धन र विकास गर्न निरन्तर लागेका छौँ । 

नगरको मुख्य समस्या र चुनौती के कस्ता छन् ?

वराहक्षेत्रको समृद्धिको आधार सप्तकोशी नदी नगरका लागि अवसर र चुनौती  दुवै हो । नदीले गर्ने कटान र नदीको जोखिममा रहेका बस्तीको संरक्षण गर्नु नगरपालिकालाई चुनौती बन्दै आएको छ । वि. सं २०२२ देखि कोशी बाढीपीडित परिवारहरू नगरपालिकामा छन् । साबिकका वराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुरमा कोशी कटान पीडितहरू अव्यवस्थित रूपमा बसोबास गरिरहेका छन् । कोशीपारि श्रीलङ्का टापुमा एक हजारभन्दा बढी घरपरिवारको जीवनशैली कष्टकर छ । टप्पुका गेरैया, चिलैया, एबिसी टुपु, माझी टोल, सिसौली, जलाल जस्ता बस्तीमा आधारभूत आवश्यकताको अभावमा बसोबास गर्न बाध्य छन् ।

स्थानीयवासी जङ्गली जनावर र कोशीको त्रासमा छन् भने सुरक्षाको हिसाबले पनि जोखिममा छन् । कक्षा ८ सम्म अध्यापन हुने सो क्षेत्रका विद्यार्थी आधारभूत तहदेखि माथि शिक्षाका लागि चव्रmघट्टी तथा उदयपुर जिल्ला जानुपर्ने बाध्यता छ । प्राकृतिक प्रकोप, सुकुमवासी र अव्यवस्थित बसोबास, हात्ती आतङ्क चुनौतीका विषय बनेका छन् । खोला किनारका र अति दुर्गम बस्तीलाई एकीकृत बस्तीको रूपमा बसोबास गराउनु चुनौतीका रूपमा रहेको छ । वि.सं. २०२२ देखि यताका कोशीपीडित चार हजार दुई सय घरपरिवारको आठ हजार छ सय बिघा जमिन कोशीको बगरमा परिणत भएको छ । नम्बरी जग्गाको लालपुर्जा हुँदाहुँदै सुकुमवासी भएर बस्न बाध्य छन् । 

नगरको विकासमा प्रदेश र सङ्घको समन्वय र सहकार्य कस्तो छ ?

नगरपालिकाको साधन र स्रोतले मात्र कहाँ नगरवासीको आवश्यकता पूरा गर्न सकिन्छ । प्रदेश र सङ्घ दुवै सरकारसँग सहकार्य गरेर काम गर्ने गरेका छौँ । गत आर्थिक वर्षमा कोशी प्रदेशको समन्वयमा दर्जनभन्दा बढी योजनाको काम सम्पन्न भएको छ । सङ्घबाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा बहुवर्षे योजनाको काम र एक दर्जन अन्य योजनाको काम भइरहेका छन् । यस आवमा पनि गत वर्षको जस्तै योजना समावेश भएका छन् । 

तपाईंको कार्यशैलीप्रति नगरवासी कत्तिको सन्तुष्ट छन् ?

जहाँसम्म मलाई लाग्छ मेरो कामप्रति नगरवासी सन्तुष्ट नै हुनु पर्छ । नगरवासीकै लागि काम गरिरहेको छु । यद्यपि यो त नगरवासीले मूल्याङ्कन गर्ने कुरा हो । नगरवासीप्रति उत्तरदायी भएर काम गर्ने गरेको  छु । मेरो स्वभाव र कार्यशैली सरल र सहज भएकाले सबै नगरवासीको पहुँचमा छु ।

वराहक्षेत्र नगरपालिका धार्मिक नगरी हो, धार्मिक पर्यटनका बारेमा कस्तो योजना बनाउँदै हुनुहुन्छ ?

वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र धरान उपमहानगरपालिका क्षेत्रमा रहेका प्रमुख मठमन्दिरलाई जोडेर धार्मिक सर्किटका रूपमा विकास गर्न पालिकाहरू मिलेर अगाडि बढ्ने सल्लाह भएको छ । रामधुनीको रामधुनी मन्दिर, चतरा, वराहक्षेत्र र धरानको पिण्डेश्वर, दन्तकाली, विष्णुपादुका क्षेत्र मिलाएर धार्मिक सर्किटका रूपमा विकास गरी आन्तरिक र बाह्य पर्यटक भिœयाउने योजनामा छौँ । यसले गर्दा नगर क्षेत्रको आर्थिक गतिविधि बढ्नुका साथै सांस्कृतिक सञ्चरणमा मद्दत पुग्छ । वराहक्षेत्र मन्दिरको प्रवर्धन, सडकको विकास, सरसफाइ र भेटीको व्यवस्थानमा नगरपालिका लागिपरेको छ ।

सप्तकोशी नदी नियन्त्रणका लागि कस्ता प्रयास गर्नुभएको छ ?

सप्तकोशी नदी कटानको दीर्घकालीन समस्याको समाधानका लागि माथिल्लो निकायलाई खबरदारी गरिरहेका छौँ । तटबन्धमा भएका कामलाई मजबुत बनाउन अनुगमन र निरीक्षणलाई पनि स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरेको छ । प्रदेश र केन्द्रीय सरकारलाई टापुमा बर्सेनि हुने गरेको कटानको समस्याबारे ध्यानाकर्षण गराएका छौँ । सम्बन्धित निकाय र कोशी जलसंसाधन विभागले पनि पूर्वी तटबन्ध र श्रीलङ्का टापुमा भइरहने कटान नियन्त्रण गर्नसमेत आग्रह गर्दै आएका छौँ ।  

नगरको स्वास्थ्य सेवामा तपाईं आएपछि के परिवर्तन भयो ? 

स्वास्थ्य बिमालाई प्राथमिकतामा राखी असहाय तथा विपन्न परिवारको स्वास्थ्यमा पहुँच पु-याएका छौँ । वडा नं. २ नेपालकै पहिलो र एक मात्र स्वास्थ्य बिमायुक्त वडा हो । यसलाई सबै वडामा पु¥याउने योजना छ । वडामा रहेका स्वास्थ्य एकाइमा स्वास्थ्यकर्मी पु-याउने कार्य हामी आएर ग-यौँ । नगर अस्पतालको अवस्था जर्जर थियो । कर्मचारीले तलब पाएका थिएनन् । हामीले यसलाई व्यवस्थान गरेर नाफामा ल्याएका छौँ । दक्ष जनशक्ति थपेका छौँ । यसले नगरवासीलाई सेवा पु-याइरहेको छ । मधुवन अस्पतालमा डाक्टर ल्याएर सेवा थपेका छौँ । चतरा अस्पताललाई सुविधासम्पन्न बनाउने योजनामा छौँ । वडा नं. १ सूर्यकुण्डमा अस्पताल,  वडा नं. ६ र ९ मा रहेको श्रीलङ्का टापुमा रहेका स्वास्थ्य एकाइको स्तरोन्नति, प्रसूति गृह सञ्चालनका लागि जनशक्ति र उपकरणको थप काम हुँदै छ । साथै वडाका स्वास्थ्य चौकीहरूको स्तरोन्नति गर्न लागिपरेका छौँ । नगरमा फैलिरहेको डेङ्गुको परीक्षण नगर अस्पतालबाट निःशुल्क गरिएको छ । 

सामुदायिक विद्यालय शिक्षा सुधार गर्ने के कस्ता योजना छन् ? 

शिक्षाको सुधारका लागि सामुदायिक विद्यालयको अनुगमनलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । प्राविधिक शिक्षालाई जोड दिएका छौँ । सप्तकोशी क्याम्पसमा स्नातकोत्तर सञ्चालन गर्ने योजनामा छौँ । शिक्षा सुधार गर्ने कार्यमा कसैसँग पनि सम्झौता गर्दैनौ । शिक्षाको विकास भए मात्र नगरको विकास हुने हुँदा नगरवासीको थप सल्लाह सुझाव लिएर शिक्षा सुधारमा नगरपालिका अगाडि बढ्छ ।