• १२ साउन २०८१, शनिबार

काठमाडौंको पहिलो बालमैत्री वडा कीर्तिपुर ७ घोषणा

राष्ट्रिय बाल नीति छिट्टै पारित हुन्छ : मन्त्री आचार्य

blog

कीर्तिपुर ७ भाजंगलमा बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा–२०८० समारोहमा सहभागी हुनुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यलगायत । तस्बिर : सपना थामी

सपना थामी
कीर्तिपुर, भदौ ७ गते ।
कीर्तिपुर नगरपालिका–७ लाई काठमाडौं जिल्लाको पहिलो बालमैत्री सुशासनयुक्त वडा घोषणा गरिएको छ ।

कीर्तिपुर नगरपालिकाले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, ललितपुर र बाल विकास समाज, काठमाडौंको सहकार्यमा बिहीबार कीर्तिपुर ७ भाजंगलमा बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा–२०८० समारोहमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले स्थानीय तह, प्रदेश र केन्द्रले नीतिगत योजना बनाएर बाल अधिकार र विकासको क्षेत्रमा काम गर्नुपर्ने भन्नुहुँदै सरकारले राष्ट्रिय बाल नीति छिट्टै पारित गर्ने बताउनुभयो ।

मन्त्री आचार्यले भन्नुभयो, “गरिबी, बेरोजगारका कारण बालश्रम, कुपोषण रोजगारीको सिलसिलामा पठनपाठन छोडेर गएको अवस्था छ । स्थानीय, प्रदेश र केन्द्रले नीतिगत योजना बनाएर ध्यान दिनुपर्छ । राष्ट्रिय बाल नीति पारित हुने अवस्थामा छ ।”

उहाँले मोबाइल, टेलिभिजनमा बालबालिका धेरै व्यस्त हुने गरेको प्रसङ्ग जोड्नुहुँदै सामाजिक सञ्जाल एवम् अनेक विकृतिमा नलाग्न अभिभावकले उनीहरुलाई सिर्जनात्मक कार्यमा लगाउनुपर्ने सुझाव दिनुभयो ।


पूर्वमन्त्री एवम् सांसद राजेन्द्रकुमार केसीले बालबालिको शारिरीक तथा मानसिक विकासमा ध्यान दिन जोड दिनुभयो । कुपोषणका कारण २५ प्रतिशतमा कुपोषण रहेको भन्नुहुँदै उहाँले गर्भावस्था र बच्चाको डेढ, दुई वर्षको उमेरमा अभिभावकले असाध्यै ख्याल राख्नुपर्ने भनाइ राख्नुभयो ।

कार्यक्रमका सभापति एवम् नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले अबको तीन वर्षमा कीर्तिपुर नगरपालिका सबै बालमैत्री सुशासनयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले घोषणा गर्नु मात्रै ठूलो कुरा नभएको भन्दै यसको दिगोपनाका लागि जनसमुदाय नै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । ५१ वटा सूचक पूरा गरेर बालमैत्री वडा घोषणा भएको र स्थानीय निकाय बालश्रममुक्त अपाङ्गमैत्री, युवामैत्री हुन आवश्यक रहने भनाइ राख्नुभयो ।

बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले नेपालको संविधान २०७२ लगायत विभिन्न बालसन्धिमा उल्लेख भए बमोजिम बाल अधिकार, संरक्षण, संवर्द्धन र उपयुक्त वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।

कीर्तिपुर नगरपालिका–७ ले विसं २०७७ देखि स्थानीय बालमैत्री सुशासनयुक्त बनाउन पहल गर्दै आएको बताइएको छ ।

वडाध्यक्ष दिवाकर अधिकारीले २०८० सम्म ९८ प्रतिशत घरधुरी सर्वेक्षण गरेर उक्त तथ्याङ्कको आधारमा ‘बालबालिकामा लगानी योजना तथा घोषणापछिकाे रणनीति २०८०’ प्रकाशन गरेको बताउनुभयो ।

उहाँका अनुसार वडाले बालमैत्री स्थानीय शासनका सम्पूर्ण ५१ वटा सूचकमध्ये बाल बचाउ अन्तर्गतका १४ सूचकमध्ये १० वटामा सय प्रतिशत नतिजा प्राप्त गरेको छ । तीन वटा सूचकमा ९५ प्रतिशतभन्दा बढी, बाल विकास र बाल सहभागिता अन्तर्गतका छ/छ वटा सबै सूचकमा शतप्रतिशत नतिजा प्राप्त गरेको छ ।

संस्थागत विकासअन्तर्गतका १५ मध्ये १३ वटामा शतप्रतिशत र दुई वटामा ८० प्रतिशतभन्दा बढी नतिजा प्राप्त गरेको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।