दोलखा समाचारदाता
दोलखा, भदौ ६ गते । सडक अवरुद्ध भएपछि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं. ७ र ८ का पहिरोपीडितले राहत पाउन सकेका छैनन् । पहिरोपीडित दुवै वडाका ६५ घरपरिवारलाई दाताले राहत दिन खोजे पनि पाउन नसकेको बताइएको छ ।
नेपाल रेडव्रmस सोसाइटी दोलखा शाखाले दिन लगेको राहत सडक अवरुद्ध भएपछि फर्काउन बाध्य हुनु परेको शाखाका पूर्वसभापति गोकर्णप्रसाद पोखरेलले बताउनुभयो । सडक नियमित भएपछि पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । गत साउन १८ गतेको पहिरोबाट प्रभावित वडा नं.–७, टोपटारका छ, भस्मेका २३ हुप्चीका दुई र खानीखोलाका एक घरपरिवारलाई एसबी जर्मन, रिड नेपालको आर्थिक सहयोग गरिएको छ । गौरीशङ्कर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले पुस्तकालयको सहकार्यमा प्राप्त खाद्यान्न सामग्री वडा कार्यालयबाटै वितरण गरिएको बताउनुभयो ।
पहिरोपीडित ३१ परिवारलाई दैनिक आवश्यक पर्ने चामल ४४ बोरा, खाने तेल ४४ लिटर, दाल, जिरा, नुन, चिनीलगायतका राहत सामग्री वितरण गरिएको हो । विपत्तिमा कसैलाई अप्ठ्यारो नपरोस् भन्ने उद्देश्यले वडा नं.८ का ३४ घरपरिवारलाई १३४ बोरा चामल, २२१ लिटर तेल, दाल, जिरा, नुन, चिनीलगायतका राहत सामग्री वितरण गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
तत्कालका लागि आवश्यक पर्ने केही राहत सामग्री र त्रिपाल वडा तथा पालिकाले उपलब्ध गराएको वडा नम्बर ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।
पहिरोपीडित ६५ घरपरिवारलाई राहत स्वरूप वैदेशिक रोजगारी गएका दोलखालीबाट राहत सङ्कलन गरिएको छ । दोलखा समाज जापानबाट प्राप्त एक लाख ३५ हजार रुपियाँ र दोलखा समाज युएईबाट प्राप्त ५० हजार रुपियाँ गरी कुल एक लाख ३५ हजार रुपियाँ नगद पालिका अध्यक्ष विश्वास कार्कीलाई हस्तान्तरण गरिएको युएईका संस्थापक उपाध्यक्ष पुष्कर अधिकारीले बताउनुभयो ।
पहिरोमा परी टोपटारका दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना अझै बेपत्ता छन् । टोपटारमा ठुलो धनजनको क्षति भएपछि भस्मेवासी पहिरोको त्रासले मार्बुमा रहेका आफन्तका शरणमा बसिरहेका छन् ।