काठमाडौँ, भदौ ६ गते । लघुकथा समाज नेपालले लघुकथाको श्रीवृद्धिमा योगदान पु-याउने तथा लघुकथा प्रतियोगितामा उत्कृष्ट हुने साहित्यकारलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ ।
१६ औँ लघुकथा दिवसका अवसरमा समाजद्वारा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ कथाकार लता केसीलाई नगदसहित ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८०’ प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठलगायतले उहाँलाई समाजको तर्फबाट सम्मान गर्नुभएको हो । नेपालको साहित्य इतिहासमा पहिलो पटक २००७ सालमा लघुकथासङ्ग्रह प्रकाशित गर्नुभएका पूर्णप्रसाद ब्राह्मणको नाममा सो पुरस्कार स्थापना गरिएको हो ।
त्यसै गरी लघुकथा समाज नेपाल, कोशी प्रदेशद्वारा आयोजित लघुकथा प्रतियोगितमा उत्कृष्ट हुनुभएका १८ जना साहित्यकारलाई प्रमाणपत्र र दुई हजार रुपियाँ मूल्य बराबरको किताब प्रदान गरेर पुरस्कृत गरिएको थियो । वरिष्ठ आख्यानकार श्रेष्ठले लघुकथा साहित्यको सशक्त विधाका रूपमा स्थापित भएको बताउँदै लघुकथाको सम्मान, श्रीवृद्धि र उन्नयनमा विशेष योगदान पु-याएकोमा लघुकथा समाजको प्रशंसा गर्नुभयो ।
वरिष्ठ नाट्यकार अशेष मल्लले लघुकथा चट्याङको झिल्काजस्तै हुनुपर्ने तथा शब्द र वाक्यको सङ्ख्याभन्दा यसको बनावटमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत पनि लघुकथाको प्रचारप्रसार गर्न सम्बन्धित सबैसँग आग्रह गर्नुभयो । लघुकथा सामान्यतः तीन सय शब्दको हुनुपर्ने मान्यता छ ।
कार्यक्रमका सभापति तथा लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइरालाले लघुकथा लेखनको क्षेत्रमा मात्र नभई संरक्षण संवर्धन तथा प्रचारप्रसारमा योगदान पु-याउने व्यक्ति र सङ्घ संस्थालाई समाजले सम्मानित र पुरस्कृत गर्दै आएको बताउनुभयो ।
लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले साहित्यको सशक्त विधाका रूपमा लघुकथा स्थापित भएको बताउनुभयो । समालोचक प्राडा लक्ष्मण गौतमले लघुकथा समाजको योगदानको चर्चा गर्नुभयो ।
सम्मानित साहित्यकार केसीले आजको सम्मानले आफूलाई थप जिम्मेवारीबोध भएको बताउनुभयो । सो अवसरमा साहित्यकार केसीको लघुकथामा आधारित ‘दृश्य’ र ‘विधवा’ शीर्षक नाटकको मञ्चन गरिएको थियो ।