• ३१ वैशाख २०८२, बुधबार

नारायणगढ– मुग्लिङ सडक एकतर्फी सञ्चालनमा ल्याउने तयारी

blog

शान्ता अधिकारी

चितवन, भदौ ५ गते । सोमबार राती ८ः३० बजे देखि पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक अन्य अवरोध नभए मङ्गलवार अपराह्न सम्म एकतर्फी खोल्न सकिने सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर रमेश पौडेलका अनुसार रातिदेखि नै पहिरो पन्छाउन मेसिनसहितको जनशक्तिको प्रयोग भइरहेको छ । चार वटा मेसिनको प्रयोग भइरहेको बताउँदै उहाँले अन्य अवरोध नभएको खण्डमा अपराह्न ५÷६ बजेसम्म एकतर्फी सडक खोल्न सकिने बताउनुभयो । उहाँका अनुसार नारायणगढ मुग्लिङ सडक खण्डमा गएको यो पहिरो यस वर्षकै सबैभन्दा ठुलो पहिरो हो ।

नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना ६  नाम्सीखोला पुल नजिकै ठुलो पहिरो खसेपछि सोमबार राति ८ः३० बजे देखि उक्त सडक खण्ड अवरुद्ध बनेको थियो । राति १० बजेदेखि नै सडक डिभिजनले दुई वटा मेसिनबाट र बिहान थप दुई गरी चार वटा मेसिनबाट पहिरो पन्छाउने काम भइरहेको बताइन्छ ।   

पहिरोका कारण अवरुद्ध बनेको सडक र त्यहाँ भइरहेको कामको अनुगमन गर्न   चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीसमेत उक्त स्थलमा मङ्गलवार बिहानै पुग्नुभएको छ । सोमबार कार्यभार सम्हाल्नुभएका प्रजिअ थापा पहिरो पन्छाउन खटिएका  कर्मचारी तथा सुरक्षाकर्मीको हौसला बढाउन आफैँ फिल्डमा पुगेको बताउनुभयो ।