• २२ वैशाख २०८१, शनिबार

भँगेरा र भोकमरी

blog

चीनमा जनक्रान्ति सफल भएपछि विकासमा फड्को मार्नका लागि सञ्चालित ‘द ग्रेट लिप फर्वार्ड’ मा उठाइएका अभियानमध्ये चार विनाशकारी किट ‘फोर पेस्ट्स क्याम्पेन’ को प्रभावले उल्टै चीनमा ठूलो भोकमरीको अवस्था सिर्जना भएको थियो। सन् १९५८ मा माओ जेदोङले ‘द ग्रेट लिप फर्वार्ड’ सुरु गरेका थिए।

यस अभियानको मुख्य लक्ष्य के थियो भने चीनको कृषि र औद्योगिक उत्पादनमा क्रान्तिकारी परिवर्तन ल्याएर उत्पादकत्व बढाउने साथै सामूहिक खेतीकिसानी र सामुदायिक जीवनलाई प्रवर्धन गर्ने। सरकारको विश्वास थियो सुधारका यी कायक्रमद्वारा चीन विश्वमा समुन्नत देशको स्तरमा पुग्ने छ।

चीनले सञ्चालन गरेको चार विनाशकारी किट अभियान अन्तर्गत अधिकारीहरूले चार वटा जीवजन्तु मुसा, झिँगा, लामखुट्टे र भँगेरालाई समूल नष्ट गर्ने लक्ष्य लिए। एउटा भँगेराले प्रतिवर्ष लगभग दुई किलो अन्न खाने अनुमान चिनियाँ अधिकारीहरूले गरे। यस कारण देशभरि भँगेरा मार्ने तथा भँगेराको गुँड, अन्डा, बच्चा मार्ने अभियान नै चलाइयो। चीनमा भँगेरा सकाउने अभियान व्यापक स्तरमा सुरु भयो। लाखौँ मानिस यस कार्यमा संलग्न भए। एक्लै वा समूह बनाएर भँगेरा मार्न थालियो। मानिसहरू समूह बनाएर भाँडाकुँडा ठटाउँदै भँगेरालाई गुँडबाट लखेट्ने र आराम गर्न नै नदिने। एकछिन पनि आराम गर्न नपाएको भँगेरा उड्दा उड्दै जमिनमा पछारिएर मर्थे।

भँगेरालाई थकाउने मात्र होइन गुलेली हानेर मार्ने काम पनि गरियो। जसरी सकिन्छ भँगेरालाई मार्न सारा चीन लागिपर्‍यो। यसको नतिजा चीनमा भँगेराको सङ्ख्या निकै कम भयो, लोप नै हुने अवस्था आइपर्‍यो। भँगेरा मारेर अन्नबाली उत्पादन बढाउन सकिने विश्वासमा चालिएको यस कदमको ठिक उल्टो प्रभाव पर्‍यो। खेतमा किराफट्याङ्ग्राको आतङ्क नै मच्चियो। भँगेराले किराफट्याङ्ग्रा खाइदिने भएकाले अन्नबालीमा ठूलो नोक्सानी हुन पाउँदैनथ्यो तर अब भँगेरा नै थिएनन्। चीनका खेतबारीमा किराफट्याङ्ग्राको बिगबिगी नै भयो र तिनको एक प्रमुख प्राकृतिक सिकारी भँगेरा चिनियाँको गलत निर्णयको सिकार भएको थियो।

किराफट्याङ्ग्राले चीनको कृषिबालीको ठूलो क्षति पुर्‍याए, अनि चीनको कृषि उत्पादन धेरै नै घट्यो। चीनमा भोकमरी मच्चियो, जुन ‘ग्रेट चाइनिज फेमिन’ नामले चिनिन्छ। विश्वमा सबैभन्दा विकराल अकालका रूपमा चिनिने ‘ग्रेट चाइनिज फेमिन’ सन् १९५९ देखि १९६१ सम्म रह्यो तथा यसबाट तीन करोडभन्दा बढी मानिस भोकमरीले मरेका थिए। इतिहासमा ‘ग्रेट चाइनिज फेमिन’ लाई एक भयङ्कर मानवकृत्य त्रासदि मानिएको छ।


‘द ग्रेट स्पेरो क्याम्पेन’ लाई ‘किल अ स्पेरो क्याम्पेन’ नामबाट समेत बुझिन्छ। ‘ग्रेट लिप फर्वार्ड’ अन्तर्गत अवलम्बन गरिएको पहिलो अभियान थियो ‘फोर पेस्ट्स क्याम्पेन’, जुन सन् १९५८ देखि १९६२ सम्म सञ्चालन गरिएको थियो।

चीनले ‘फोर पेस्ट्स क्याम्पेन’ मा औलो नियन्त्रणका लागि लामखुट्टे, प्लेन नियन्त्रणका लागि मुसा, सरुवा रोग नियन्त्रणका लागि झिँगा तथा अन्नबाली, बिउ र फलफूल जोगाउन भँगेरालाई लक्ष्य बनाएको थियो।

भँगेरा विनाशले अनिकाल परेको महसुस गरेपछि चीनमा भँगेराको सङ्ख्या बढाउन सोभियत सङ्घलगायतका देशबाट भँगेरा आयात गरिएको थियो। 

– युवामञ्च