• २९ वैशाख २०८२, सोमबार

केन्द्रीय कारागार निर्माणमा अन्योल

blog

नमराज सुवेदी

नुवाकोट, भदौ ५ गते । आवश्यक स्रोत सुनिश्चित नहुँदा नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको तेस्रो तथा अन्तिम चरणको भवन निर्माणमा अन्योल उत्पन्न भएको छ । सात हजार कैदीबन्दी राख्ने क्षमतासहितको यो कारागार निर्माणको पहिलो र दोस्रो चरणको काम सम्पन्न भएको छ ।

विदुर नगरपालिकास्थित खम्बाली क्याम्पमा बन्ने यो कारागारमा २०७८ चैत मसान्तसम्ममा कैदीबन्दीलाई स्थानान्तरण गर्ने लक्ष्य थियो । नेपाल सरकारले बृहत् गुरुयोजना तयार गरी केन्द्रीय कारागार भवनको पहिलो र दोस्रो चरणको निर्माण कार्य पूरा गरी एक हजार पाँच सय कैदीबन्दी नुवाकोट स्थानान्तरणको तयारी गरिरहेको थियो तर अर्थ मन्त्रालयले तेस्रो चरण अन्तर्गत निर्माण हुनुपर्ने भवनसहितका संरचनाका लागि आवश्यक स्रोत सुनिश्चित नगरेका कारण कारागार निर्माण र कैदी स्थानान्तरणमा अन्योल छाएको हो । 

सघन सहरी विकास तथा भवन निर्माण आयोजना धादिङले कारागारको तेस्रो चरणको निर्माण कार्य चालु आर्थिक वर्षदेखि सुरु गर्ने गरी आव २०७९/८० को अन्तिममा विभागीय कार्यक्रम स्वीकृत गरी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । करिब साढे चार अर्ब रुपियाँको लागतमा थप पाँच हजार पाँच सय थुनुवा कैदीबन्दी राख्न आवश्यक संरचनालगायत भवन निर्माणका लागि बोलपत्र आह्वानसहितको प्रक्रिया पूरा भएको थियो । 

निर्माणाधीन कारागारमा रोजगार कक्ष, खेल मैदान, विशेषज्ञसहितको अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सिप प्रवर्धन केन्द्र, योग केन्द्र, किरियापुत्री कक्षलगायतका सुविधा रहने जिल्ला कारागार नुवाकोटका प्रमुख गङ्गालाल योगीले जानकारी दिनुभयो । पहिलो तला मात्रै बनेकाले अहिले नै कैदीबन्दी स्थानान्तरण गर्ने सम्भावना छैन । नयाँ कारागार भवन निर्माण र पुरानाको मर्मतसम्भारका लागि बजेट छुट्याइएको भनिए पनि कति बजेट भन्ने उल्लेख गरिएको छैन । निर्माण कार्य अन्तर्गत अरू धेरै काम बाँकी छ । 

आयोजनाले दर्ता भएका बोलपत्रको प्राविधिक प्रस्ताव अध्ययनपश्चात् आर्थिक प्रस्तावमाथि मूल्याङ्कन गरी निर्माण कम्पनी छनोटसमेत भइसकेको छ तर अर्थ मन्त्रालयले कारागार भवनको तेस्रो चरणको निर्माणका लागि आवश्यक रकम तथा स्रोत सुनिश्चित नगर्दा निर्माण कार्यमा अन्योल भएको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख सुनील ठाकुरले बताउनुभयो  । 

५३४ रोपनी क्षेत्रफलमा निर्माणाधीन उक्त केन्द्रीय कारागारको तेस्रो चरणको निर्माण कार्य चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित चालु आवभित्र निर्माण सुरु गर्ने तयारी गरिएको आयोजना प्रमुख ठाकुरले बताउनुभयो  ।