काठमाडौँ, भदौ ५ गते । डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले गरेको खर्चमा विद्यालय प्रशासन र व्यवस्थापन समिति (विव्यस) बिच विवाद देखिएको छ।
दुवै पक्ष एकअर्काको आरोप प्रत्यारोपमा उत्रेका छन्। विद्यालयको सामाजिक परीक्षण समितिको आर्थिक वर्ष २०७९।८० को प्रतिवेदन देखाउँदै विव्यसले विद्यालयका प्रधानाध्यापककै संलग्नतामा अनियमितता भएको आरोप लगाएको छ। सामाजिक परीक्षण समितिका संयोजक ईश्वर ज्ञवालीले काम नै नभएको शीर्षकमा पनि नक्कली बिल पेस गरेर विद्यालयले रकम खर्च गरेको दाबी गर्नुभयो।
कानुन अनुसार विद्यालयले गर्ने हरेक खर्च विद्यालय व्यवस्थापन समितिमार्फत पारित गर्नु पर्छ। त्यसपछि सामाजिक परीक्षण समितिले अध्ययन गर्छ र उक्त समितिले गरेको अध्ययन प्रतिवेदन महानगरपालिकाको शिक्षा विभागमा पेस गर्नु पर्छ।
सामाजिक परीक्षण समितिमा शिक्षक–अभिभावक सङ्घका अध्यक्ष संयोजक रहने व्यवस्था छ। विद्यालयले गरेको अधिकांश खर्च कानुनविपरीत रहेको समितिका संयोजक ज्ञवालीले दाबी गर्नुभयो। उहाँका अनुसार विद्यालयले कोभिड–१९ का कारण विद्यालय बन्द भएको समयमा समेत परिवहन, शिक्षक बिदाइ, छपाइ तथा मसलन्द र कार्यालय सामग्री, खेलकुद तथा अतिरिक्त क्रियाकलापलगायतका शीर्षकमा अनियमित तरिकाले रकम खर्च गरेको छ।
त्यस्तै विद्यालयले मनोरञ्जन तथा चियापान, कर्मचारीको दैनिक खाजा खर्च, विद्यालयको मर्मत सम्भार, फर्निचर तथा फर्निसिङ खरिद, ट्रस्ट निर्माणलगायतका शीर्षकमा पनि मनपरी रूपमा खर्च गरेको सामाजिक परीक्षण समितिको प्रतिवेदनमा उल्लेख छ।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सुरेन्द्र कार्कीले पनि विद्यालयले उक्त समयमा गरेको अधिकांश खर्चबारे आफूहरूलाई जानकारी नभएको बताउनुभयो। उहाँले कोभिड–१९ का कारण विद्यालय बन्द भएको समयमा पनि अनुमान नै गर्न नसक्ने शीर्षकमा रकम खर्च गरिएको अध्ययनबाट पत्ता लागेको बताउनुभयो। उहाँका अनुसार सबै शीर्षकमा गरेर उक्त समयमा झन्डै २० लाख रुपियाँ अनियमित तरिकाबाट खर्च गरिएको छ।
“विद्यालय बन्द छ तर शिक्षक–कर्मचारीले दैनिक खाजा खाएको बिल पेस गरिएको छ। कतिपय काममा सार्वजनिक खरिद ऐनविपरीत रकम खर्च गरिएको छ,” सामाजिक परीक्षण समितिका संयोजक ज्ञवालीले भन्नुभयो, “कतिपय शीर्षकमा खर्च रकम नै खर्च नभए पनि नक्कली बिल पेस गरेको उदाहरण अध्ययनबाट प्रशस्तै भेट्यौँ। समग्रमा हेर्दा विद्यालयबाट निकै नै बदमासी भएको देखियो।”
विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले भने विद्यालयले विगतमा गरेका सबै हिसाबकिताब स्पष्ट रहेको दाबी गर्नुभयो। आफूहरूले सबै खर्च प्रक्रियागत ढङ्गबाट नै गरेको दाबी गर्दै उहाँले भन्नुभयो, “कसैले हेर्न चाहन्छ भने विद्यालयको सबै खर्चको हिसाब हामी देखाइदिन्छौँ। हामीले सबै खर्च प्रव्रिmयागत ढङ्गबाट नै गरेका छौँ।”
गम्भीर ध्यानाकर्षण
डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा अनियमितता भएको दाबी शीर्षकमा २०८० भदौ ५ गते गोरखापत्र दैनिकमा प्रकाशित समाचारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ ।
कामपाले विद्यालयको लेखापरीक्षण गरिरहेको अवस्थामा त्यसलाई समेत प्रभाव पार्ने गरी समाचार आएको छ । जुन जुन शीर्षकमा अनियमितता भएको भनी हवाला दिइएका छन् ती विद्यालयको लेखा शाखामा प्रमाणित बिल भपाईहरु, नीतिगत निर्णयहरुको निर्णय पुस्तिका तथा अन्य आवश्यक कागजातहरु सुरक्षित रहेको जानकारी गराउँदछु ।
उक्त सामाजिक परीक्षण कानुनबमोजिम तोकिएको कात्तिक मसान्तभित्रै भइसक्नुपर्नेमा नगरेको हुनाले पटक पटक ताकेता गर्दा पनि ज्यादै विलम्व गरी बदनियतपूर्वक २०६० साल जेठ १८ गते मात्र प्रस्तुतीकरण गरिएको र प्रक्रियासमेत नपुर्याई प्रस्तुतीकरण गरिएको थियो । गोरखापत्रजस्तो राष्ट्रियस्तरको, सरकारको आधिकारिक, राष्ट्रकै जेठो समाचार संस्थाले विद्यालयको गरिमामा आँच पुग्ने समाचार प्रकाशित गरेकोमा दुःख व्यक्त गर्न चाहन्छु ।
यदि यस सम्बन्धमा कुनै द्विविधा भएमा विद्यालयको सम्पूर्ण आयव्यय विवरण तथा निर्णयहरु पारदर्शी रहेको र हेर्न चाहेमा देखाउन सकिने व्यहोरासमेत जानकारीको लागि अनुरोध गर्दछु ।
डिल्लीप्रसाद शर्मा ढकाल
प्रधानाध्यापक