गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २३ गते । विपत् व्यवस्थापनसम्बन्धी गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायबिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले सञ्चालन गर्दै आएको ‘अभ्यास हातेमालो’ को आठौँ संस्करण सुरु भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जङ्गी अड्डामा आयोजित कार्यक्रममा युद्धकार्य महानिर्देशक उपरथी अनुपजङ्ग थापाले अभ्यासको शुभारम्भ गर्नुभयो । कार्यक्रममा विपत् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपाली सेना र गृह मन्त्रालयको समन्वयमा सञ्चालन हुँदै आएको उक्त अभ्यास आर्थिक वर्ष २०७५/७६ मा प्रदेश तहमा सञ्चालन गरिएको थियो । त्यसयता जङ्गी अड्डामा वार्षिक रूपमा निरन्तर अभ्यास हुँदै आएको सेनाले जनाएको छ ।
यस वर्षको अभ्यासमा मनसुनजन्य विपत्लाई केन्द्रमा राखेर सञ्चालन गरिएको र विशेष गरी बाढीपहिरो तथा प्राकृतिक विपत्का सम्भावित घटनामा उद्धार, राहत, समन्वय र प्रतिकार्यलाई प्रभावकारी बनाउने लक्ष्यसहित अभ्यास सञ्चालन गरिएको छ ।
तीन दिनसम्म चल्ने उक्त अभ्यास क्रमिक रूपमा प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्ने योजना रहेको सेनाले जनाएको छ । साथै नेपालमा हरेक वर्ष मनसुनका समयमा बाढी, डुबान र पहिरोका कारण ठुलो जनधनको क्षति हुने गरेको छ ।