बैतडी समाचारदाता
बैतडी, वैशाख २३ गते । पोसिलो खाना नपाएर बैतडीका वडैपिच्छे कडा कुपोषित बालबालिका भेटिन थालेका छन् । वैशाख १५ गतेयता (पाँच दिनमै) बैतडीमा १५२ जना कुपोषित बालबालिका भेटिएका छन् । यीमध्ये १९ जना कडा कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याइएको छ ।
जिल्लामा अहिले राष्ट्रिय पोषण लेखाजोखा अभियान चलिरहेको छ । अभियान वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभभयो । अभियानले छ महिनादेखि पाँच वर्षमुनिका २२ हजार बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने उहाँले जानकारी दिनुभयो ।
पोषणको अवस्था खोजी गर्ने क्रममा सिगास गाउँपालिका–२, गाँजरीमा मात्रै चार जना कडा कुपोषित बालबालिका भेटिएको स्वास्थ्य चौकी इन्चार्ज जनकसिंह धामीले बताउनुभयो । उहाँले कडा कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याएर पोषिलो खाना दिने काम सुरु भएको बताउनुभयो । तथ्याङ्क अनुसार सिगास गाउँपालिका देशका १० वटा गरिब स्थानीय तहमध्ये एक हो । यहाँको गरिबी ६६ प्रतिशतभन्दा बढी रहेको तथ्याङ्क छ ।
स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी कार्कीले गरिबीको चक्र कायम रहेसम्म कुपोषणको चक्र मेट्न नसकिने बताउनुभयो । उहाँले बैतडीमा पाँच दिनको अवधिमा १५२ जना कुपोषित बालबालिका भेटिनु भनेको डरलाग्दो तथ्याङ्क भएको बताउनुभयो । उहाँले कुपोषित बालबालिकामा उमेर अनुसार उचाइ र तौल निकै कम हुने र ख्याउटे अनुहार हुने गरेको पाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो पटकको राष्ट्रिय पोषण लेखाजोखा अभियानले जातजातिको कुपोषणको अवस्थासमेत अध्ययन गर्दै छ । पाँच दिनमा भेटिएका कुपोषित बालबालिकामध्ये ३७ प्रतिशत दलित बालबालिका रहेका छन् ।”
गत वर्षसम्म जिल्लामा एक हजार ९३४ जना बालबालिका कुपोषित थिए । यीमध्ये कडा कुपोषणले ग्रसित ३१२ जना बालबालिकाको स्वास्थ्य संस्थामा उपचार गरिएको थियो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले अभियानले मात्रै कुपोषित बालबालिकाको सङ्ख्या नघट्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “बैतडीका सबै पालिकाले गरिबी घटाएर सबै मानिसले पोसिलो खाना पाउने बनाउनु जरुरी छ । बालबालिकाले पाउने पोषण भत्ता, सुत्केरी भत्ता, उपप्रमुखको कोसेली कार्यक्रमको प्रभावकारिता जरुरी छ ।”
जिल्लाका स्थानीय तहले सुत्केरी महिलाका लागि उपप्रमुखको कोसेली कार्यक्रम अन्तर्गत ‘सुत्केरीको घरमा झन्डा, हातमा अन्डा’ जस्ता आकर्षक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । सुत्केरीलाई घिउ बाँड्ने, अन्डा र कम्बल बाँड्ने कार्यक्रमले मात्रै कुपोषण निको नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।
गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न बैतडीमा सन् २०१६ देखि सुआहारा (एकीकृत पोषण कार्यक्रम) सञ्चालनमा थियो । हाल सो कार्यक्रम बन्द भएको छ ।
युएसआइडीको आर्थिक सहयोगमा सुआहारा कार्यक्रमले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउने लक्ष्य राखेको थियो । लक्ष्य पूरा नहुँदै सो कार्यक्रम बन्द भएको हो ।