सन्तोष दहित
दाङ, वैशाख २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग तथा प्राकृतिक चिकित्सालाई मुख्यधारको चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका महाप्रबन्धक तथा संकल्पकर्ता हरि सापकोटा सहितको टोलीसँगको भेटमा मुख्यमन्त्री आचार्यले यस्तो धारणा व्यक्त गर्नुभयो ।
भेटका क्रममा दुवै पक्ष यसै विधिबाट नयाँ जीवन पाउन सफल व्यक्तिहरू भएकाले यसको विकास र विस्तारतर्फ लाग्नु कर्तव्य भएको निष्कर्ष निकालिएको थियो । मुख्यमन्त्री आचार्यले नेपालको मौलिक तथा पूर्वीय दर्शनमा आधारित योग र प्राकृतिक चिकित्साको विकास सरकारको प्राथमिकतामा पर्न थालेको बताउनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा समेत यसको आवश्यकता, विकास र विस्तारका विषय समावेश भइसकेका छन् । साथै सातै प्रदेशको ध्यानाकर्षण गराउँदै यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो ।
छलफलमा योग र प्राकृतिक चिकित्सा वैकल्पिक नभई मुख्यधारको पहिलो रोजाइको उपचार पद्धति बनाउन जनचेतनामूलक कार्यक्रम उत्पादन तथा प्रसारणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने विषयमा समेत केन्द्रीत छलफल भएको थियो । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घबाट अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने प्रस्ताव पारित हुनु नेपालका मौलिक र पूर्वीय दर्शनमा आधारित योग तथा प्राकृतिक चिकित्साको अन्तर्राष्ट्रिय मान्यता र महत्व बढेको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरिएको छ ।
यसै सन्दर्भमा नेपाललाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्ने, १५ दिनभित्र आरोग्य पर्यटन रणनीति सार्वजनिक गर्ने तथा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउने सरकारी निर्णयले यस क्षेत्रको विकास, विस्तार र संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सोही क्रममा टोलीले प्रमुख सचिव, स्वास्थ्य सचिव, अर्थ सचिव, सामाजिक विकास सचिव तथा प्रदेश योजना आयोगसँग समेत छलफल तथा अन्तरक्रिया गरेको थियो ।