• १४ पुस २०८१, आइतबार

ब्लुपिन्ट जस्तो जीवन अर्थात् एउटा नाटक

blog

यात्रा रहेछ जिन्दगी...

यात्रा नै रहेछ । मनमै लागिरह्यो, मैले पुग्नुपर्ने कहाँ, जाँदैछु कता वा मेरो गन्तव्य थाह नपाईकन म हिँडेको छु । 

मेरा एक मित्रले हातमा एउटा टेलिग्राम थमाइदिएर मलाई तत्काल बम्बई फर्किन आग्रह ग-यो । 

बम्बईसित मेरो घनिष्ठता थियो, विगत दुईतीन वर्षदेखि म बम्बईसित निकै निकट र आत्मीय भइसकेको छु, कामधन्दा र पेसागत 

जिम्मेदारीले गर्दा । 

बम्बईमा मेरो आफ्नै सानो घरआँगन थियो, पेइङ गेस्टका रूपमा । 

त्यतिबेलाको बम्बई अहिलेको मुम्बई । 

पानी र झरीले निथ्रुक्क भिजेको बम्बई मैले पहिलो पटक रेलबाट ओर्लिंदा देखेको वा भेटेको थिएँ, आजसम्म स्मृतिपटमा  त्यही  बम्बई मेरो आँखामा झुल्किरहन्छ । 

बम्बई भन्नेवित्तिकै त्यही गीत पानी र वर्षात्का विषयमा लेखिएका हिन्दी फिल्मका गीत दिमागमा आइरहन्छन्– 

रिमझिम गिरे सावन 

सुलग सुलग जाये ये मन...

 मञ्जिल फिल्मको यो गीत दिमागमा सुरतालसहित तरङ्गित भइरहन्छ, घरिघरि गुञ्जिरहन्छ । गीत त हो कुनै पनि मौसममा ओठमा, मस्तिष्कमा अनि मनमा आइरहन्छ । पाइला चाल्दा पाइला रोकिँदा पनि यस्ता गीत मनमा लयबद्ध हुन्छन्  । 

बम्बईले यस्ता केही वर्षात्का गीत याद दिइरहन्छन् । 

यसपालिको वर्षात्मा यो रिमझिमे गिरे सावन ..खुब सम्झेँ । यो गीत र यो गीत भएको फिल्म मैले बम्बईमै एक जना आफन्तको फ्ल्याटमा श्यामश्वेत टिभीमा हेरेको थिएँ  । 

फेरि गीत सम्झेँ, बम्बईको वर्षात् अनि त्यो बेरोजगारीका दिन पनि सम्झेँ । 

यसपालि काम विशेषले म कलकत्ता आएको थिएँ र अहिलेसम्म कलकत्तामै छु तर अचानक कामको निम्तोमा कलकत्ताबाट फर्किनुपर्ने देखियो । 

कलकत्ताबाट बम्बईको हजारौँ माइलको यात्रा विमानको एउटा टिकटले तय गर्नु छ । 

म टिकटको जोहो गर्नमा लागेँ । टिकटको निम्ति पैसा । पैसासित ऋणको खोजीमा हिँडे । 

कलकत्तामा पनि मेरा केही परिचित, अर्धपरिचित  आफन्तहरू धेरै छन्, कोही  कालीघाट, कोही धर्मतल्ला अनि कोही  चौरङ्गीलेनतिर । जीवनमा कोही आफन्त नभएको यो महानगरमा मैले आफन्तहरू बनाएको केही वर्ष भयो । 

 कलकत्तासित मेरो अपरिचयको जङ्गलमा आफ्नै किसिमको घनिष्ठता  छ । म कलकत्ता नआउँदा पनि कलकत्तासित भलिभाँती परिचित भएको थिएँ जस्तो लाग्छ । 

कलकत्ता आउनुअघि नै  म किशोरकालमा दाजुसित बङ्गलादेश गएको थिएँ, ढाका चटगाउँतिर । बङ्गलादेशमा बोलिने बाङ्गला भाषासित म पन्ध्रसोह्र वर्षको उमेरदेखि नै परिचित थिएँ र बुझ्छु पनि बोल्छु पनि । भाषाको मितव्ययीतामा म बिचबिचमा म मिष्टी मिष्टी शब्द दह्रो किसिमले दोहो¥याइरहन्थेँ । 

कुनै बङ्गालीले मलाई बाङ्गला बोल्तो पारोइन भनेपछि म अल्पो अल्पो भन्न हतारिहाल्थेँ । यसपछि बाँकी भाषाको प्रवाह मेरो आफ्नै ढङ्गले जान्थ्यो । 

बङ्गलादेशमा यही शैलीबाट सुरु भएको मेरो यो यात्रा कलकत्तामा पनि यसरी नै जारी छ, यसपालिको समर भिजिट मेरो कलकत्ता बसाइका लागि नभएर सिक्किम जानका लागि ट्रान्जिट थियो तर त्यो टेलिग्रामले मलाई सिक्किमसित दुरस्थ बनाइदियो ।

सिक्किम । दक्षिण सिक्किमको राबाँग्ला । राभाग्लाको होटल सरिता । होटल सरिताका आफन्तहरूसितको बसाइ समाप्त असमाप्त गरेर म बम्बई फर्कें । 

बिहान कलकत्ताबाट निस्के र साँझ बम्बई पुगेँ । 

शरीरमा एक थोपा पसिनाबिना नै हजारौँ माइलको यात्रा तय भयो, यस्तो लाग्यो मानौँ पहिलो तलाबाट भुइँतल्लामा झरेको जस्तो मात्र । 

बम्बई आउने वित्तिकै मैले मसुदलाई भेटेँ, मसुदको पूरा नाम त मख्दुम मोहिद्दिन  अख्तर हो तर उसले सार्वजनिक प्रयोगमा आफ्नो नाम मसुद अख्तर मात्र राख्ने र भन्ने गरेको छ । 

मसुदले पठाएको टेलिग्राम नै कलकत्ताबाट रिटर्न भएको हुँ । 

अलि अलि थाकेको त थिएँ तर मसुदको हँसमुख चेहरा देखेपछि   त्यो पनि दुर भयो । 

किन बोलाइस् ? 

मैले सोध्नु पथ्र्यो र सोधेँ ऊ मुस्कुरायो सधैँ जस्तै । उसको मुस्कानमा गज्जबको आकर्षण छ, म उसको मुस्कान देखेर फिदा हुन्थेँ । कुनै लोग्ने मान्छेको मुस्कान पनि यति मनमोहक हुन्छ भनेर मैले कुनै फिल्मको नायकलाई हेरेर कल्पना गरेको थिएँ हुँला तर मसुदलाई भेटेपछि त्यो मेरो कल्पना उसले तहसनहस गरिदिएको थियो । त्यसो त मैले सुदर्शन पुरुष धेरै देखेको छु तर मसुदको व्यक्तित्वमा अलग्गै सुन्दरता छ । कुनै सुन्दरता मुग्ध गर्ने खालको हुन्छ । कुनै सुन्दरता विनाशकारी पनि हुन्छ । तर कोही कोही आफ्नो सुन्दरतामा स्निग्धतामा आफैँ उल्लसित भएर समुचा जीवन बिताइदिन्छ अरूलाई त्यसको हिस्सेदार बन्न पनि दिँदैन । 

सौन्दर्यको बारेमा शास्त्रमा अनेकानेक व्याख्या वा चर्चा गरिएका छन् तर मसुदको सुन्दरता अलग्गै थियो, जो उसको सम्पर्कमा आउँछन् उसको सुन्दरताको आभामा नुहाएर उपकृत भइजान्छन् । 

म पनि ती पागलमध्ये एक थिएँ उसको,  जसलाई अङ्ग्रेजी शब्दकोशका अनुसार  सायद फ्यान भन्छन् । 

चल पै से मिलते हैँ कल । 

पै मेरो सङ्घर्षकालको अर्को घनिष्ठ मित्र हो, जसको पूरा नाम इन्द्रजित पै हो तर हामी प्रेमले उसलाई पै मात्र भन्छौँ । पै आफ्नी छोरी राजेश्वरीसहित बम्बई फिल्मी जीवनमा सङ्घर्षरत छ । पै अर्को हृदयी मान्छे जसले बेलाबेलामा बेरोजगारीका दिनमा सानो सानो काम खोजेर हामी दीनदुःखीको उपकार गर्ने गर्छन् । 

एक पटक उसले मलाई दयाल निहलाणीको टिभी सिरियल मौत के पञ्जों में मा नायकको भूमिकाको निम्ति सिफारिस गरेका थिए तर मैले मेरो अर्को मित्र सोमनाथलाई त्यो भूमिकामा साइन गराइदिएँ । भारतीय नेपाली कथाकार परशुराम रोकाको कथामा बनेको त्यो टिभी फिल्ममा मेरा नेपाली मित्र सोमले राम्रो मौका पाएको थियो, पैले गर्दा नै । 

भोलिपल्ट मसुद र म पैलाई बिहानै भेट्न गयौँ, उसैको घरमा । घर के भन्नु फ्ल्याटमा । 

फ्ल्याटमा ऊ आफ्नी छोरी, आमासित बस्थ्यो । उनकी आमा बुढेसकालको अन्तिम दिन गन्दै थिई अस्वस्थताले गर्दा उनी एउटा वेटिङ रुममा छिन् भन्नुपर्ने हुन्छ । हुन त हामी सबै नै वेटिङ रुममै हो, जानका लागि पर्खिरहेको वा दौडिरहेको । 

पैको घरको ढोकामा कसैले प्रेमपूर्वक इन्दर देखो बाहर कोही आया है भनेको सुनेँ । पैलाई कसैले अगाडिको नामबाट बोलाएको पनि पहिलो पटक सुनेँ । 

हामी पै भन्छौँ, उनकी आमाले इन्दर भन्दिरहिछिन् । 

मलाई आमाले भनेको एउटा पुरानो कुरा सम्झेँ, हेर बाबु । सबै नाम हो । तेरो नाम कसैले राखिदिन्छ । त्यो जसले राखिदिएको होस् तर त्यो नाम बँचाउन तैँले जीवनभर सङ्घर्ष गर्नुपर्छ, नाम तेरो भए पनि अरूले बदनाम गर्न खोज्छन् । जिन्दगीभर तैँले त्यही एउटा नामको इज्जत राख्न काम गर्ने हो । 

जिन्दगीमा एक अक्षर नपढेकी मेरी आमाले नामबारे दिएको यो प्रवचन मलाई ठुलो दर्शन लाग्छ । 

आमाले त मलाई मचा भन्थ्यो, मचाराजा । बाबाले स्कुल भर्ना गर्दा प्रेमदास राखिदिनु भयो । बाबाको नाम रत्नदास भएको भएर मलाई पनि उहाँले प्रेमदास बनाइदिनु भयो । 

प्रेमदास नामको भारी मैले १९ वर्षसम्म बोकँें । पछि एक दिन आमालाई पनि बाबालाई पनि नसोधीकन मैले समीक्षा पत्रिकामा कविता छाप्दा प्रकाश अनि थर पनि नेवारीकरण गरेर सायमी लेखिदिएँ । 

समीक्षाका प्रधान सम्पादक मदनमणि दीक्षितले पहिलो पटक मेरो नाम मेरो हस्तलिखितमा देख्नुभयो, उहाँले प्रेमपूर्वक स्वीकृति दिनुभयो । 

शुव्रmबार प्रकाशित हुने समीक्षामा मेरो नामको न्वारन गर्ने व्यक्ति पनि मै हुँ, पत्रिकामा नाम आएको कैयौँ दिनसम्म आमाबाबा घरपरिवार कसैलाई मेरो नाम प्रकाश सायमी भइसकेको थाहसम्म पनि थिएन । 

यो नामको प्रसङ्गमा म कहिले पाब्लो पिकासोलाई सम्झिन्थेँ, कहिले पाब्लो नेरुदालाई । तर सेक्सपियरलाई पनि सम्झिन्थेँ, उनले त लेखेकै छन्, 

ह्वाट इज द नेम, ह्विच् वी कल दी रोज बाइ एनी अदर नेम ...

नाममा के छ र ? गुलाफलाई जे नामले बोलाए पनि वासना त त्यही हो भन्थे, सेक्सपियर । 

पै को नामको अगाडि इन्द्रजित छ भन्ने हामीलाई थाहै हुँदैन, त्यो इन्द्रजित पनि घरमा इन्दर भनेर भनिन्छ भनेर पनि हामीलाई के थाह ? 

पैसित जुत्ता खोल्दै गर्दा ढोकैमा भेट भयो । 

पैले मलाई भेट्ने वित्तिकै पहिलो प्रश्न ग-यो, क्या रे सादी करने गया था क्या ? 

दाजुको उमेरका पैको सोध्ने बोल्ने तरिका यस्तै थियो, यसपालि हल्ला पनि यस्तै चलेको रहेछ मेरो विवाहका  बारेमा । कतै शङ्काको घेरामा अलिकति पनि ठाउँ बाँकी नराखी सोधिहाल्यो । 

मैले हाँस्दै भनेँ नहीँ यार । 

उसले फेरि जोड दिएर भने मैँने रिलायवल सोर्स से सुना । तू तो शादी करने गये ..

हो र होइन का बिचमा कुरा नटुङ्गिँदै मसुदले चलाखी गरिहाल्यो, इसको काम बताओ यार । 

बम्बईमा बताओको दुईवटा अर्थ लाग्छ, भन्नु पनि हो र देखाउनु पनि । तर मलाई बम्बई आएदेखि बताओले एउटै अर्थको  काम गरेको छ, केही पनि नबुझ्नू । 

मैले केही नबुझे पनि पैको कुरा सुनिरहेँ, उसले लामो बेलिबिस्तार लगाएर भनिरह्यो, यसपालि इप्टामा एउटा लामो नाटक हुँदैछ तिमीले त्यसमा काम गर्नुपर्छ । नाटकमा एउटा मूल पात्र छ, लास । त्यसमा तिमीले त्यो लासको भूमिका ग¥यौ भनेँ यो कमिटीले तिमीलाई अर्को नाटकमा मेन रोल दिन्छ । 

नाटकभित्रको राजनीतिको लामो चर्चा चल्यो । केही पैसा, केही व्यवस्थापनका कारणले म नाटक खेल्ने भएँ । 

नाटकको रिहर्सल पनि सुरु भयो । म व्यापक तनावमा थिएँ, रिहर्सल अनि नयाँ कामको खोजी । नयाँ मान्छेको भेटघाट । पत्राचार ...यस्तैमा दिन बित्दै थियो नाटकको मञ्चनको समय पनि आयो । 

बाल गन्धर्व रङ्गमन्दिरमा नाटकको पहिलो सो पनि भयो । प्रायः हाम्रो नाटकको ग्रान्ड रिहर्सल यही रङ्गभवनमा हुने गर्छ  । 

नाटक मञ्चन सकिएपछि तालीले हामीलाई स्वागत गरियो म पनि मेकअपसहित मञ्चमा आफ्नो परिचय दिन आएँ । 

नाटक सकेर आफ्नो डेरा आउँदै गर्दा बाटोमा मसुदले मलाई गाह्रोसँग हे¥यो रेलको झ्यालबाट टाढा बाहिर हेर्दै भन्यो, कस्तो लाग्यो तँलाई यो भूमिका ? 

भूमिका ? मैले त भूमिकाको बारेमा सोचेकै थिइनँ, किन यसको जवाफ दिनू ? 

तर मेरो मनमा एउटा कुरा खेलिरह्यो, एउटै कुरा । यो सारा जीवन नै नाटक हो, नाटक हो र पनि हामीलाई नाटक गर्न कत्ति गाह्रो हगि ? 

मनमा लागेको यो कुरा ठ्याक्कै मैले मसुदलाई भनेँ ऊ चकित प-यो । 

उसले दार्शनिक अन्दाजमा अर्को डायलग भन्यो, नाटकमा अभिनय गर्नु र जीवनमा अभिनय गर्नु एकै हो त ?  

मैले खासै केही भन्न सकिनँ  तर मेरो आफ्नो परिस्थिति यसपालि यो भूमिकामा साँच्चै फरक थियो । 

मैले भनेँ, “एउटा कुरा मसुद । नाटकमा मरेको अभिनय गर्न जति गाह्रो छ, जीवनमा बाँचेको अभिनय  गर्न पनि त्यतिकै गाह्रो छ ।” 

मसुदको अनुहारमा उसको सदाबहार हाँसो यसपालि गायब भयो । 

म पनि मौन रहँें, सायद उसले मेरो कुरा ठिकसँग बुझ्यो, वा बुझेन पनि होला । 

किन कि म घरदेखि कोसौँ कोस टाढा बम्बईमा घाँस उखेल्न आएको त होइन तर जीवन यसरी पनि चलेकै छ, चलाइरहेकै छु सात्र्रले भनेजस्तै अव्यवस्थापनभित्रको व्यवस्थापन । 

नाटक धारावाहिक रूपमा पन्ध्र दिन मञ्चन भयो, बम्बईका विभिन्न मञ्चमा । म मरेको अभिनय गरिरहेँ, ताली खाइरहेँ । 

नाटक सकिएको दिन मसुद मलाई हलको बाहिर पर्खिरहेको थियो र यत्ति मात्र भन्न ऊ मेरो अगाडि उभिएको थियो, तैँले बाँचेको अभिनय पनि सही नै गरेको छस् दोस्त । 

म घरि घरि सोच्छु, घरदेखि कोसौँ कोस टाढा म यहाँ आएर बसेको छु । हरेक दिन नयाँ मान्छे भेट, नयाँ काम खोज, नयाँ जीवन बाँच । 

मेरो कोठामा मसित एक सङ्गीतकार बस्छन्, जो हिन्दी नेपाली, बाङ्गला हरेक भाषामा गीतको धुन बनाउँछ अनि मलाई सुनाउँछ र भन्छ, ल हेर यो गीतले अब फाडेर देखाउँछ । 

फेरि हिन्दीमा भन्छ, फाड के रख देगा यार । 

सङ्गीतकारको त्यो कुराले म पनि अलि आशावादी हुन्छु, मृत्युचिन्तनबाट मेरो मन हराउँछ । 

सङ्गीतकार पनि कलकत्ताबाट यहाँ आएका हुन्, बम्बईमा । 

यहाँ थोरै म घाँस छिल्नु आएको हुँ । फाड के रख देँगे यार । 

सङ्गीतकार साथी एक दिन आफ्नी बहिनीको विवाह छ भनेर घर फक्र्यो, फेरि ऊ कहिले बम्बई आएन । 

बम्बईमा को आयो को गयो कसैले याद गर्दैन । जो टिक्यो, जो चढ्यो उसलाई मात्र मान्छेले चिन्दो रहेछ । 

बम्बईको के कुरा ? यो संसारको नियम नै यही हो नि । 

सेक्सपियरले ठीकै त भनेका हुन्, यो संसार एउटा रङ्गमञ्च हो हामी सबै अभिनयी ...

सेक्सपियर र हाम्रो टाइम लाइन त एउटै जस्तो छ नि । 

हामी नाटक त गरिरहेछौँ, आफैँलै नबुझ्ने नाटक ।