मुलुक ऊर्जामा आत्मनिर्भरताको नजिक पुगेको छ । स्वच्छ ऊर्जाको पहुँचमा नेपालले गरेको प्रगति दक्षिण एसियाली देशको तुलनामा अब्बल छ । आमउपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा भने अझै उपलब्ध हुन सकेको छैन । सुधार गर्नुपर्ने पक्ष धेरै हुँदाहुँदै पनि स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा मुलुक अगाडि बढेको सुखद अवस्था छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठुला आयोजना अगाडि बढाइरहेको नेपाल विद्युत् प्राधिकरणले नियमित र गुणस्तरीय विद्युत् प्रवाह गर्न गम्भीर हुनुपर्ने छ । बर्सातमा विद्युत् उत्पादन हुँदाहुँदै पनि हिजोआज नै पटक पटक बिजुली काटिने समस्या नभएको होइन तर दस वर्षमा दस हजार मेगावाट विद्युत्् निर्यात गर्ने लक्ष्यसाथ अगाडि बढाइएका उत्पादन, प्रसारण र उपयोग योजनाहरूले नेपाललाई स्वच्छ र गुणस्तरीय ऊर्जाको मुलुक बनाउने छन् । लगातार बढ्दै गएका ग्राहकलाई गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्ने दायित्वसँगै विद्युतीय स्वच्छ ऊर्जालाई औद्योगिकीकरणमा लगाई समृद्धिको दिशामा अग्रसर हुनु छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल राष्ट्रिय ग्रिडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत् आयोजना एवं सौर्य विद्युत्बाट तीन प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरिरहेका छन् । आगामी दुई वर्षभित्र सम्पूर्ण नेपालीसामु विद्युत्को पहुँच पु-याउने गरी वितरण प्रणाली निर्माण अगाडि बढाइएको छ । पछिल्लो आर्थिक सर्वेक्षणले दुई हजार ६६६ मेगावाट विद्युत् उत्पादन भएको देखाएको छ । चालु आर्थिक वर्षमा झन्डै आठ सय मेगावाट विद्युत् नेपालको कुल जडित क्षमतामा थप हुने अनुमान गरिएको छ । केही समयभित्रै तीन हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्दै छ । मुलुक ठुला जलाशययुक्त तथा आकर्षक जलविद्युत् आयोजना निर्माणमा केन्द्रित छ ।
कुल छ सय ३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त आयोजना निर्माणको अन्तिम चरणमा छ । एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरूणमा लगानीका लागि विश्व बैङ्कलगायतका दातृ निकायले चासो व्यक्त गरेका छन् । प्राधिकरणले दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौँ र ६० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य राखेको छ । अरूण चार जलविद्युत् आयोजना सतलज जलविद्युत् निगम लिमिटेडसँग संयुक्त रूपमा निर्माण गर्ने काम अघि बढाइएको छ । नेपाल र बङ्गलादेशको चौथो संयुक्त निर्देशक समितिको बैठकमा समझदारी भए अनुरूप निकट भविष्यमै छ सय ३८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना साझेदारीमा निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त र कर्णाली चिसापानी जलविद्युत् आयोजना अघि बढाउन लागिएको छ ।
यी सबै आयोजनाबाट उत्पादन हुने विद्युत् अहिलेकै गतिको औद्योगिकीकरण र घरेलु प्रयोगले निश्चय नै खपत हुन सक्दैन । त्यसैले नेपाली विद्युत् ऊर्जाको ठुलो माग रहेका छिमेकी मुलुकहरू भारत, बङ्गलादेश र चीनमा समेत निर्यातको सम्भावना ठुलो छ । नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विद्युत् निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पु-याउने गरी भारतसँग प्रारम्भिक हस्ताक्षर भइसकेको र यसै वर्षायामभित्र नेपाल–बङ्गलादेश विद्युत् व्यापार सुरु हुने गरी नेपाल, भारत र बङ्गलादेशका सम्बन्धित निकायबिच सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको जानकारी दिनुभएको छ । आगामी महिनामा आफूबाट हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महìवपूर्ण सम्झौता हुने विश्वास पनि उहाँको छ । हाल एमसिसी परियोजनामार्फत भारततर्फको प्रसारण लाइन विस्तार कार्य भइरहेको छ भने चीनतर्फको केरुङ जोड्ने उच्च भोल्टेज क्षमताको प्रसारण लाइन निर्माण गर्न विशेष पहल हुँदै छ ।
नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएसँगै विद्युत् निर्यातका लागि बजारको अभाव हुने छैन । यस्तो सम्भावना अनि स्वच्छ र हरित ऊर्जाको दीर्घकालीन विकास सोचको आयाममा मुलुक कुनै अर्थमा नचुक्ने गरी आयोजना र खरिद बिक्रीसम्बन्धी सम्झौताहरू गरिनु पर्ने छ । आयोजनाहरू वातावरणमैत्री बनाउँदा अन्तर्राष्ट्रिय लाभ पनि पाउन सकिने छ । घरेलु तथा औद्योगिक क्षेत्रलाई उत्साही बनाउन र भविष्यमा अन्तरदेशीय विद्युत् व्यापार गर्नसमेत प्राधिकरणले गुणस्तरीय विद्युत् प्रवाह गर्न सक्नु पर्छ । आन्तरिक विद्युत् मुलुकको समृद्धि लक्ष्य चुमाउने उत्पादन अनि निर्यातको महत्वपूर्ण आधार हो ।