काठमाडाैं, असार २२ गते । सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले तीन न्यायाधीशसहित एक न्यायपरिषद् सदस्यको नाम अनुमोदन गरेको हो ।
सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताउनुभयो । न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको उहाँले बतउनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भने न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै बैठक बहिष्कार गर्याे । माओवादीको बहिष्कारका बाबजुद पनि संसदीय समितिले तीन न्यायाधीशहरु र एक न्यायपरिषद् सदस्यको नाम अनुमोदन गरेको हो ।