• ९ मंसिर २०८१, आइतबार

‘विश्वेश्वरप्रसाद कोइरालाका कविता’ माथि छोटो विवेचना

blog

विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति क्षेत्रमा सर्वपरिचित व्यक्तित्व हुन् । राजनीति क्षेत्रको तुलनामा साहित्यमा उनको परिचय स्थापित भएर पनि साँघुरो रहेको देखिन्छ । आम जनतामा जुन रूपमा भए पनि राजनीतिमा जति चासो छ साहित्य त्यो चासो–चिन्तनको क्षेत्र हुँदैन । नेपाली समाजले साहित्यलाई कि त पाठ्यव्रmममा राखेपछि अलि अलि बुझ्न थाल्छ कि त त्यो लेखक विद्रोही लेखक थियो उसको हत्या गरेपछि वा कालकोठरीमा परेपछि चर्चा–परिचर्चाबिच लोकले चिन्दछ । नेपाली साहित्य जगत्मा कृष्णलाल अधिकारी, नेत्रलाल अभागी, कृष्णसेन इच्छुक, डी कौडिण्य जस्ता साहित्यिक व्यक्तित्वलाई हत्या हुनुपूर्व पनि समाजले धेरै चिनेन र हत्यापश्चात् पनि धेरै चर्चा पाउन सकेको देखिँदैन । यसको अतिरिक्त विश्वेश्वरप्रसाद कोइरालाका बारेमा व्यापक बहस हुने क्षेत्र राजनीति भए पनि साहित्यिक क्षेत्रले पनि उत्तिकै र अझ बढी सम्मानपूर्वक पठन भएको देखिन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाको साहित्यमा योगदानको क्षेत्र आख्यान हो । कथा विधामा मनोविश्लेषणात्मक धाराको उदयमा पु-याइएको योगदानले उनलाई अग्रणी व्यक्तित्वका रूपमा चिनाएको छ । आत्मसंस्मरण–आत्मवृत्तान्त लेखनलाई पनि विधागत ढङ्गले निबन्धको एउटा शक्तिशाली हाँगोका रूपमा हेर्दा नेपालको इतिहासलाई बुझ्न, शासकीय दृष्टिदोष र आस्थाको बन्दीको मनोविज्ञान विश्लेषण गर्न विश्वेश्वरप्रसाद कोइरालालाई नपढी हुँदैन । आख्यान क्षेत्रमा उनले कथामा पु-याएको योगदानको सर्वाधिक चर्चा भएको पाइन्छ भने उपन्यास क्षेत्रमा दिएको योगदान विषयमा पनि धेरै चर्चा भएकै छ । यसको साथमा नाटकको क्षेत्रमा समेत उनलाई जोडिएको पाइएको छ । कार्य क्षेत्र राजनीति भएर पनि साहित्यका प्रायः विधामा सफल विश्वेश्वरप्रसाद कोइरालाको कम चर्चा र कम योगदान भएको क्षेत्र कविता विधा नै हो । यस हिसाबले हेर्दा विश्वेश्वरप्रसाद कोइरालाका कविताहरूको चर्चा २०६० को दशकमा मात्र हुन थाल्यो । १९८० को दशकबाटै कथामा परिचित बनेका विश्वेश्वरप्रसाद कोइरालाले कविता लेखनको यात्रालाई पनि १९८० कै दशकमा सुरुवात गरेका थिए । १९८० को दशकको उनको लेखन भाषाका हिसाबले हिन्दी माध्यम थियो भने १९९० को दशकमा उनका शारदाकालीन कथाहरू नेपाली भाषामा पाठकसामु आए । ‘कथा कुसुम’ हुँदै सङ्ग्रहगत रूपमा पाठकको माया पाएका उनका कथाहरूमा सामाजिक परिवर्तन, वर्ग विश्लेषण खोज्नु त्यति उचित छैन तथापि उनका कथाले कुनै न कुनै ढङ्गले स्वतन्त्रताको पाटोलाई राम्ररी उजागर भने गरेकै छ । यस हिसाबले हेर्दा उनको लेखनीमा अभ्यन्तरको स्वतन्त्रता सङ्केत वा प्रमाण बनेर देखा परेको हुन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाका कविताहरूको अध्ययन गर्ने व्रmममा सङ्कलित १२ वटा कवितालाई राम्ररी हेर्ने हो भने कथामा जस्तै न्यून रूपमा सामाजिक, राजनीतिक स्वभावका कविताहरू रहेका छन् । प्रकृतिको चित्रण प्रस्तुत कविता केही छन् भने आधाजसो कविताले जुन ढङ्गले भए पनि स्वतन्त्रताभित्र पनि जैविक आवश्यकता र यौनजीवनका विम्बात्मक विषयलाई प्रकट गरेको देखिन्छ । खुलेर यौनजीवनको चर्चा गर्ने कोइरालाले मानिसको यात्रालाई बढी प्रभावित पार्ने पक्ष यौनजीवन भएको प्रमाणित गरेका छन् । जुन साहित्यकारले जुन शैलीबाट विषय प्रस्तुत गरेको छ सोही अनुरूपका विषय र सन्दर्भ खोजिए मात्र त्यसको पुष्टि हुन आउँछ । यसरी हेर्दा कवि कोइराला नेपाली साहित्यमा २०२५ सालभित्र नै परिपक्व कवि व्यक्तित्वका रूपमा व्यक्तित्व निर्माणमा लागिसकेको प्रष्ट हुन्छ । लेखनका हिसाबले कोइरालाका प्राप्त कविताहरूको रचना मिति १९८७ देखि २०२५ भित्र नै बाँधिएका छन् भने प्रकाशनका दृष्टिले उनको कविता यात्रालाई अलि फरक हिसाबले पनि हेर्न सकिन्छ । उनका केही कविताहरू क्रमशः ‘वर्षाले पोतेको दृश्य’, ‘कोशी–कौशिकी बगरको घोचो र टाढाको कल्पना’ २०४० सालपछि प्रकाशित भएको देखिन्छ । समकालीन लेखन र प्रकाशनको राम्रो अवसर पाएका कोइरालाले पहिलो कविता वि.सं. १९९७ मा हिन्दीमा लेखेका हुन् भने सो कवितापछि अनुवाद भई नेपाली भाषामा छापिएको छ । यस हिसाबले हेर्दा उनका १२ वटा कवितामध्ये ११ वटा कविता २००७ सालको परिवर्तनपश्चात् लेखेका देखिन्छ । कवि धेरै भावुक भएर पनि कवितामा आख्यानमा गरिने अडानयुक्त विषयलाई प्रस्तुत गरेको पाइन्छ । कविले पोखरा भन्ने कवितामा अरू जनले चर्चा गरेको भन्दा फरक ढङ्गले गरेका छन् । कोइरालालाई कविको रूपमा पढ्दा उनका कविताले ऐतिहासिक विषयदेखि मानवीय जीवनका अन्तरङ्गलाई समेत खुलस्त पोखेका छन् । मूलतः प्रकृतिको चित्रणलाई कलात्मक बनाउने क्रममा सृष्टिचक्र र सर्जनशक्ति भएकी धरणीका उत्पादनशील चरित्र कविताहरूमा झल्किएको पाइन्छ । कवि कोइरालाको ‘बम्बईप्रति भन्ने कविताले स्थान विशेषले पनि आफ्नो चरित्र बदल्छ भन्ने भाव प्रकट गरिएको छ । उपनिवेशकालीन बम्बई र भारतीय स्वतन्त्रता सङ्ग्रामकालीन बम्बईमा धेरै फरकपन आयो । यसका साथै स्वतन्त्रताका पक्षधरहरूलाई माया गर्ने बम्बईले आफ्नो कर्तव्यलाई नबिर्सेको मूल आशय कविताभित्र छ । लघु आख्यात्मक ढङ्गको प्रस्तुति यस काव्यको आयाम बनेको छ भने स्वतन्त्रता जस्तो प्यारो केही छैन भन्ने विचार यहाँ प्रकट गरिएको छ । कवितामा कवि स्वतन्त्रताका सेनानीको आवाज बोल्दछन्;

तेरो जस्तै बलिदानले

भारत स्वतन्त्र हुन्छ ।

बम्बई ! ए सन्यासिनी !!

तँ भएको ठाउँमा

तीर्थयात्राका लागि यात्री आउनेछन् –

ती स्थानहरूमा

जुन सहिदहरूको रगतले मुछिएर पवित्र भएका छन्

हजारौँ मन्दिर बन्नेछन्

यात्री श्रद्धाको फूल चढाउनेहरू–

र प्रणत भएर उद्घोष गर्नेछन्–

सहिदहरूको जय ! स्वतन्त्र भारतको जय !! (बम्बईप्रति, पृ. ७५)

माथिको सन्दर्भले भारतीय स्वतन्त्रता सङ्ग्रामको पृष्ठभूमि र स्वतन्त्रताको पक्षधरहरूको बलिदानी भावले एउटा स्थानलाई मात्र होइन सारा विश्वलाई नै उत्साहित गर्न सक्छ भन्ने सार प्रकट गरेको छ । कवि कोइरालाको ‘बारीको कुरो’ कविताले मान्छेको अभ्यन्तरको चाहनालाई गहन ढङ्गले प्रस्तुत गरेको छ । जीवनलाई मायाको मालामा उन्ने र बुन्ने गरे मात्र जीवन र समय बन्न सक्छ भन्ने भाव व्यक्त छ । ‘विष्टापुष्प’ कविता प्राकृति विम्बलाई मानवीय जीवन मूल्यसँग तुलना गरेर प्रस्तुत भएको छ । शिष्ट भाषामा गहिरो भाव व्यक्त गर्दै सृष्टिचव्रmलाई कलात्मक ढङ्गले स्वीकार नगरी सुखै छैन ।

टुट्दैन सपना रुखको

नाचें म त्यसमाथि कतिबेर ।

म वाल्ल पर्छु छोरीका कुराले, मुखलाई

विस्मित मै हेर्छु छोरीलाई

ऊ भन्दै जान्छे मलाई घचघच्याई

सपनालाई नकुल्च बाबा, नत्र ऊ पनि

लत्याउँछ तिमीलाई । (छोरी र छाया, पृ. ८३)

कवि कोइराला सन्तानको सपनालाई महìव दिनुपर्ने धारणा व्यक्त गर्दछन् । पछिल्लो पुस्ताको मनोभाव बुझेर हिँड्न सके मात्र समाजमा रहेका समस्याहरूको अनुसन्धानात्मक ढङ्गले समाधान गर्न सकिन्छ । जीवन यथार्थमा मात्र कहाँ सजिलोसँग हिँड्छ र ! जीवन कल्पनाशील छन् । कल्पनाशील जीवनले आविष्कारको यात्रा तय गर्दछ । छोरीले देखेको सपनालाई विपनामा उतार्न पाए नै जीवन सफल बन्ने कुरा संवादात्मक हिसाबले यहाँ प्रकट गरिएको छ । ‘एउटा सन्धि : एक सम्झौता’ शीर्षकको कवितामा कविले जीवन प्राप्त गर्ने विषय गौरवपूर्ण भए पनि जीवनभित्रका पीडाहरूले जीवनगतिमा गम्भीर असर पारेको छ । सिङ्गो जीवनमा पटक पटक सन्धि र सम्झौता बेहोर्न बाध्य मानिस आफूले आफैँलाई राम्ररी चिन्न नसक्दै समाप्त हुने सार्वभौम तथ्य यहाँ पेस गर्दछन् । आध्यात्मिक कोणबाट भन्दा पनि मान्छेको औसत आयु र उसका यावत सीमाहरूले उसलाई बलियो हुन नदिएको तर्क उनले पेस गरेका छन् । जन्म र मृत्युबिचको लम्बाइ नै जीवन हो । यो जीवन परिचयको एउटा अवसर हो भने सिङ्गो जीवनपीडा बढी र खुसी कम प्राप्त हुने यात्रा हो । मानिसका चाहना, लक्ष्य, भावना यति धेरै छन् जसको परिपूर्ति मानिसले पूर्ण रूपमा गर्न सक्दैन । ऊ सधैँ अभावको भुमरीमा टाक्सिन बाध्य छ ।

पर्सिको पूर्णिमा चहकिलो

नदेखेको स्वर्ग झिलिमिली

उठाउँछु बाहु काँतर म

नभएको स्वर्गमा

नभएको देउताकन

अन्धो नयनबाट

नचुहुने आँसु

चुहाउँछु म

नभएको खाडलमा गाडिन्छु म

नभएको मृत्युमा सेलाउँछु म

नगर्ने काम गरी हिँड्छु म । (नखिचिएको तस्बिर सुन्दर, पृ. ८६)

मान्छे भौतिक स्पर्शमा मात्र कहाँ बाँच्छु र ? उसका हरेक लालसा पूरा हुन नपाउँदै ऊ मर्छ । मान्छे प्रत्येक क्षण आशै–आशाका शृङ्खलामा हराउँछ भने उसले गर्ने प्राप्ति भनेको अभाव, असहयोग, अतृप्तपन नै हो । मान्छे मासिन वा नासिनका लागि भौतिक खाल्डोमै पर्नुपर्छ भन्ने छैन । मान्छे नदेखिने तर शक्तिशाली विषय–वासनाले बाँधिँदै नभएको स्वर्गको आसमा भएको समयबाट सोचमग्न छ । यो सबै उसको अज्ञानताको सूचक मात्र हो । खासमा मान्छेले आफूलाई द्वन्द्वको बिचमा नै बलियो बनाउन सक्छ । अनिश्चित जीवनका पाइलाहरू चाल्दा कम्तीमा सचेतनापूर्वक उज्यालो र अँध्यारो दुवै पक्षको समिश्रण रूप नै जीवन हो भन्ने नबुझी हुँदैन । कवि आफूसँग भएको वस्तु त्यति प्यारो वा बहुमूल्य नलाग्ने र नभएको समय, वस्तु वा सम्पत्ति प्रिय लाग्ने बुझाइमा बाँचेको छ भन्छन् ।

‘पोखरा’ कविता कविको कल्पनाको अप्रतीम चेतलाई शब्दमा उतारिएको एउटा लिखित सामग्री हो । पोखरालाई अलि फरक ढङ्गले पौराणिक, ऐतिहासिक अनि एउटा उच्च उदात्त सन्दर्भ बोकेको नगरीका रूपमा व्याख्या गर्न पुग्छन् । पोखरा छायाले पनि वास्तविक बताउन सक्ने, प्रकृतिले सजिएको एउटा सृष्टिकै नमुना उदाहरण भएको तर्क गर्छन् ।

हिमालयको आज चिहान चिसो

मुटु छेड्ने प्रेम निख्रेको छ जसको

भएले वा चिसोले चिसोले काँप्दै

वा चिसोले कम्पित लगलग गोडा मेरा

कातर थरथर (पोखरा, पृ. ९०)

पोखराको प्राकृतिक रूपको वर्णनले मात्र पुग्दैन यसले मानिसलाई पार्ने प्रत्यक्ष असर र दिने अप्रत्यक्ष ऊर्जा नै यसको गहिरो परिचय हो । ‘बादल गोलगोल कोमलकोमल’ शीर्षकको कवितामा प्रकृतिको अनुपम छटाले मान्छेको भावनामा पार्ने गम्भीर प्रभावको वर्णन गरिएको छ । उनी कोशी नदी आसपासमा आफूले बिताएको बाल्यवय कल्पनाको एउटा शृङ्खला भएको विषय उद्घाटित गर्दछन् । कवि यस कवितामा प्रकृतिलाई मानवीकरण गर्ने र मानवलाई प्रकृतिको असली अनुकरण गर्ने प्राणी विशेषका रूपमा चित्रण गर्न पुग्छन् । प्राकृतिक व्रmीडामय जीवनभित्र नै मानिस आफूलाई आवश्यक पाठहरू पाउँछन् भन्ने कविको तर्क रहेको छ । मान्छेसँग भावना शक्ति यति शक्तिशाली छ कि त्यो भावना वा कल्पना तत्व नहुने हो भने मान्छे हाँस्न पनि सक्दैन र रुँदैन पनि । ‘कोशी–कौशिकी’ कवितामा आफ्नो जन्मभूमि कोशी–कौशिकी सभ्यताको जननी भएको विषय उठान गर्दछन् । मानव जातिलाई पालनपोषण गर्न मात्र नभएर सिङ्गो प्रकृतिको अनुपम छटालाई सबैका सामु राखेर स्वाधीन मुलुकको गौरव बाँचेको कोशी अर्थात् सप्तकोशी सभ्यता हिमाली कणदेखि मधेशको एउटा मार्गचित्र समेत हो ।

हिमप्रदेशदेखि तानिएको डोरोमा

अटुट आस्थाको

समुन्द्र महासागर जोडेर निरन्तर

हिमकण पग्लन्छ, परिणत हुन्छ नुनकण... (कोशी–कौशिकी, पृ. ९६)

कवि कोइरालाको एक दर्जन कविताहरूमध्ये ‘बगरको घोचो’ अत्यन्त प्रतीकात्मक खालको कविता हो । यस कविताले मान्छे पोल्ने क्रममा छाडिएको हरियो बाँस जो डढेको ठुटो बाँचेको छ जसमा सङ्गति खोज्नु नै विसङ्गत पक्ष हो । हरियो भए पनि डढ्नुपरेको पीडा ठाडो बस्न नपाएर लड्नु परेको पीडा अनि एउटा अलि भिन्न खालको परिचय बाँचेर पनि त वस्तु अस्तित्वमा रहन्छ नि ! सृष्टिचव्रmको प्रव्रिmयामा कतै न कतै केही न केही प्रत्येक वस्तु र विषयको महìव हुने कुरा कविताभित्र वर्णित रहेको छ ।

नदीको बगरमा गडेको काठको घोचो

काठको या बाँसको ?

घोचो या मुढो ?

गडेको या लडेको ?

बगरमा लडेको या गडेको ? (बगरको घोचो, पृ. ९७)

कविताभित्रका यही पाँच पङ्क्ति पनि शक्तिशाली छन् कि मान्छे पनि त आखिर यही नियति भोगिरहेछ कुनै न कुनै रूपमा । आफ्नो जीवनको उपयोगिता र कुरूप यथार्थ बाँच्दा जस्तो देखिन्छ त्यो त मानव यात्राकै एउटा चित्र पनि हो । कवि प्रकृतिको एउटा निर्मम तर शास्वत तथ्यलाई मानिसले बिर्सिउ वा नबुझे अनावश्यक दुःखी बन्दछ त्यसैले प्राकृतिक जीवनका पक्ष र पाटा मानव यात्राका विश्वविद्यालयीय पाठ हुन् भन्छन् । ‘टाढाको कल्पना’ कविता कवि कोइरालाको प्राकृतिक विम्बलाई आधार बनाएर लेखिएको रचना हो । कविले जे जस्तो जीवनका मोडमा पनि मान्छे बाँच्नुको विकल्प नभएको चेत प्रस्तुत गरेका छन्;

पानीले निथ्रुक्क भिजेपछि

धरती त्यसै चलमलाउन थाल्छ

मुहारमा निन्याउरोपन लिएर पनि

इन्द्रेणीमा मुस्कुराइरहेको हुन्छ । (टाढाको कल्पना, पृ. ९९)

मानव जातिका लागि प्रकृति नै पढ्नु पर्ने सिङ्गो पाठ हो । मुस्कुराउने वातावरण नभए पनि मुस्कुराउनुको विकल्प छैन । घाम र पानीको समिश्रण जीवनको एउटा रङ्गपूर्ण सम्बन्ध पनि हो । जीवन रहे मात्र अनन्त सृष्टिको सम्भावना रहन्छ, त्यसैले पनि झिनो आशाबिच पनि जीवन गति अगाडि बढ्छ र बढाउनै पर्दछ ।

धरती टाढाको कल्पना

धरती अनादि कालमा कतैबाट निस्किएर

धरती मनुष्यले पाइला टेकेको आँगन

छेकवारले पनि नछेकिने

घामपानीमा इन्द्रेणीमा

एक्लै पनि मुस्कुराइरहे जस्तो

घेराभित्र पनि उन्मुक्त जस्तो

धरती टाढाको कल्पना जस्तो । (टाढाको कल्पना, पृ. १००)

‘टाढाको कल्पना’ कवि कोइरालाको पर्यावरणीय चेत भएको उत्कृष्ट कविता हो । आज मानिसले आफूखुसी स्वार्थ निर्माणका निम्ति धरतीलाई दुरूपयोग गरेका छन् । धरतीको यो खालको अतिव्रmमणले स्वयं धर्तीमाता विरूप देखिने मात्र होइन चराचरमा यसको गम्भीर असर पर्दै गएको हामी पाउँछौँ । वैज्ञानिकले गरेको अध्ययन अनुसन्धानबाट पनि वनपैदावरमाथि मानिसले जमाएको पकडले पानीका स्रोतहरूमा उल्लेख्य असर परेको छ । धरतीमा रहेको दृश्य भौतिक वस्तु र धर्तीभित्र रहेका खनिज तìवको असन्तुलित उत्खनन् सबैका लागि सङ्कटको सङ्केत हो । मान्छेले तीव्र गतिमा बनाउन थालेको बलिया भनिएको संरचना र आधुनिक भाषामा भन्ने हो भने विकासे यात्राले धरतीलाई दिनानुदिन बन्ध्याकरण गरिएको छ । यो यात्रा नरोकिए धरती नै एउटा सपना बन्न पुग्छ । आफूसँग भएको औषधी दुरुपयोग गर्दा त्यो विषका रूपमा काल बनेर उभिने निश्चितप्रायः छ ।

यी विविध विषयबोध भएका कविताहरूले कवि विश्वेश्वरप्रसाद कोइरालालाई पृथ्वीमा प्राप्त दर्शनलाई मानवको हितका निम्ति मात्र होइन सिङ्गो पृथ्वी बनाउने यात्रामा खर्च गर्न आह्वान गर्ने कविका रूपमा परिचित र स्थापित गरेको छ । विश्वेश्वरप्रसाद कोइरालाका कविताका सूक्ष्म अध्ययन गर्दा उनमा भएको मानव कल्याणकारी चेतभित्र सृष्टि र सृजन कर्मबिचको अन्तरसम्बन्ध मिहिन ढङ्गले स्थापित भएको पाउन सकिन्छ । 

चितवन