• १३ साउन २०८१, आइतबार

मुस्ताङको कागबेनीमा बाढीले १० घर सहित निर्माणाधीन पुल बगायो

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, साउन २९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती  १० घर सहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ । 

गाउँपालिका केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा आइतबार राती ८ बजे काग खोलाबाट आएको बाढीले घर,सार्वजनिक भवन र पुलमा क्षति पुर्‍याएको वारागुङ मक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक सय घरधुरी रहेको कागबेनीको बिच बस्तीमा काग खोलाको बाढी पसेको छ । 

आइतबार राती ८ बजे भारी वर्षापछि काग खोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको थियो उहाँले भन्नुभयो,‘‘१० वटा घर,निर्माणाधीन एउटा पक्की पुल र सडक बगाएको खबर आएको छ । खोला आसपासका धेरै घरहरूमा बाढी पसेको छ ।’’ माथिल्लो मुस्ताङ जाने कागबेनी र छुसाङ जोड्ने निर्माणाधीन पक्की पुल बाढीले बगाएको पालिका अध्यक्ष गुरुङले बताउनुभयो । 

अहिले बिहानै बाढीग्रस्त क्षेत्र तर्फ जनप्रतिनिधि सहितको टोली हिँडेको पालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बाढीले धेरै नै क्षति पुर्‍याएको खबर आएको छ । राती अबेर सम्म स्थानीयवासी र सुरक्षाकर्मीहरूले उद्धारको काम गर्नुभएको छ । मानवीय क्षति भने हुन पाएको छैन । म अहिले बाढीग्रस्त क्षेत्र तर्फ हिँडेको छु ।’’ उहाँका अनुसार बाढी बस्तीमा पसेपछि आइतबार साँझ स्थानीयवासी भागाभाग गरेका थिए । 

मुक्तिनाथको शिर हुँदै बहने वारागुङ मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो । 

बस्तीमा बाढी पसेपछि स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको उहाँले बताउनुभयो । मानवीय क्षति नभए पनि बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको उहाँले बताउनुभयो । नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित जनप्रतिनिधिहरू उद्धारमा खटिएका छन् । 

बाढीले पोल बगाएको हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध भएको छ । सिँचाइको नहर,गुम्बामा पनि बाढीले क्षति गरेको छ । कागबेनीको जनशान्ति माविका शिक्षक मनवीर किसानले कागबेनीको पुजा स्थल,पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिनुभयो । बाढी आएपछि छात्रावासका शिक्षक र विद्यार्थीहरू सुरक्षित ठाउँमा गएर बसेको उहाँले बताउनुभयो । 

प्रहरीका अनुसार कागबेनीमा रहेको प्रहरी चौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ । एउटा झोलुङ्गे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ । झोङ भन्ने स्थानमा पहिरो गई काग खोलामा मिसिएपछि बाढी तल कागबेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले दिएको जानकारी अनुसार कागबेनी र जोमसोमको सम्पर्क विच्छेद भएको छ । उहाँले भन्नुभयो, ‘‘बाढीले सडक र विद्युत् पोल बगाएकाले कागबेनीमा पुग्न समस्या भएको छ ।’’

बाढीले बिजुलीको तार पोल बगाएकोले विद्युत् आपूर्ति रोकिएको छ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले भन्नुभयो, ‘कागबेनी र जोमसोम बिचमा पर्ने पाण्डाखोलामा आएको बाढीले जिल्लाबाट थप सहयोग पठाउनसमेत समस्या भएको छ ।’कागबेनी माथिका शाखा खोलाको बहाव उच्च हुँदा कालिगण्डकी नदीको सतह समेत उच्च भएको बताइएको छ । कागबेनी माथिको शाखा खोला थुनिएको थाहा पाएपछि जोमसोम बजारमा समेत बाढीको त्रास बढेको बताइएको छ ।