रमेश विश्वकर्मा
गुल्मी, साउन २८ गते । नेपाल शिक्षक महासङ्घले गुल्मीका सबै स्थानीय तहमा धर्ना दिएको छ । यस जिल्लामा रहेका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमा तीन घण्टा धर्ना दिएको नेपाल शिक्षक महासङ्घ गुल्मीका अध्यक्ष हिरासिंह सराङ्कोटीले जानकारी दिनुभयो ।
अध्यक्ष सराङ्कोटीका अनुसार शिक्षक महासङ्घमा आबद्ध सबै सङ्घ सङ्गठनले बिहान ११ देखि २ बजेसम्म जिल्लाका स्थानीय तहमा शान्तिपूर्ण, स्थानीय तहको सेवा प्रवाह र विद्यालयमा कुनै प्रभाव नपारी धर्ना दिएका हुन् ।
धर्ना लगत्तै स्थानीय सरकारलाई विगतमा शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिको बारेमा जानकारी गराउनका लागि सहमतिको प्रतिलिपि सबै स्थानीय तहलाई बुझाएको उहाँले बताउनुभयो ।
नेपाल सरकारले ल्याउन लागेको शिक्षा ऐनले सबै शिक्षकको माग सम्बोधन नगरेको, सरोकारवालासँग छलफल नगरी शिक्षा ऐन ल्याउन लागेको, नेपाल शिक्षक महासङ्घसँग सरकारले गरेको ५१ बुँदे सहमति कार्यान्वयन गर्न नखोजेको भन्दै यसरी धर्ना दिइएको नेपाल शिक्षक महासङ्घ रेसुङ्गा नगरपालिकाका अध्यक्ष बालसिंह खत्रीले बताउनुभयो ।
रेसुङ्गा नगरपालिकामा भएको धर्ना कार्यक्रममा नेपाल शिक्षक महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष प्रेमनारायण भण्डारी, नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष धना भण्डारी, नेपाल शिक्षक सङ्घ रेसुङ्गा नगरपालिका अध्यक्ष टामलाल पौडेल, नेपाल शिक्षक सङ्गठन रेसुङ्गा नगरपालिका अध्यक्ष लेखनाथ पौडेल, अखिल नेपाल शिक्षक सङ्गठनका कृष्ण प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
शिक्षक महासङ्घले पहिलो चरणको विरोधका कार्यक्रमअन्तर्गत साउन ३० गते सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना, साउन ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना र भदौ १ गते सङ्घीय सांसदहरूलाई जानकारीसहित सहयोगका लागि आग्रह गर्ने कार्यक्रम रहेको बताइएको छ ।