• १ जेठ २०८२, बुधबार

दोलखाको बिगुमा पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता

blog

चरिकोट, साउन २८ गते । पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता भएका छन् । निगुरो टिप्न गएका गाउँपालिका वडा नम्बर ७ का अन्दाजी ३५ वर्षीय निम्दोर्जे शेर्पा र उहाँका १२ वर्षीय छोरा पासाङ शेर्पा पहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।

आइतबार तिनपाटे नजिकैको जङ्गलस्थित ठाडो खोलामा निगुरो टिप्न गएका बाबुछोरालाई माथिबाट खसेको पहिरोमा परी बेपत्ता भएको प्रहरी जनाएको छ । वडाध्यक्ष दलबहादुर  श्रेष्ठले बेपत्ता भएका निम्दोर्जेको निगुरोसहितको कालो झोला पहिरो गएको ठाउँमा भेटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार खोलाकिनारमा निगुरो टिप्ने क्रममा एक्कासि माथिबाट खसेको पहिरो र खोलामा आएको बाढीले बगाएको हो । घटना आइतबार दिउँसो करिब १ बजे घटेको र घटनास्थलतर्फ चिलङ्खामा रहेको प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।