• ३० वैशाख २०८२, मङ्गलबार

बिपी राजमार्गको एक किलोमिटर स्थानान्तरण गरिने

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, साउन २३ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका व्रmममा डुबानमा पर्ने बिपी राजमार्गको ९६५ मिटर सडक स्थानान्तरण गरिने भएको छ । 

उक्त आयोजना निर्माणका क्रममा सिन्धुली र रामेछाप जिल्लाको सिमानामा रहेको सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लम्बाइको बाँध निर्माण गर्दा डुबानमा पर्ने बिपी राजमार्गको ९६५ मिटर उक्त सडकलाई स्थायी रूपमा स्थानान्तरण गर्न लागिएको आयोजनाले जनाएको हो ।

आयोजनाका अनुसार खुर्कोटदेखि दुई किलोमिटर टाढा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा उक्त बाँध निर्माण गर्दा बिपी राजमार्गको ९६५ मिटर सडक डुबानमा पर्छ । डुबान हुने सडकसहित इन्टेक एप्रोच कल्भर्टलगायतका संरचना निर्माण गर्नुपर्ने भएकाले निर्माण अवधिभर २.९६ किलोमिटर सडक डाइभर्सन हुने छ । बाँध निर्माण अवधिमा डुबानमा पर्ने ९६५ मिटर सडकलाई हाल सञ्चालनमा रहेको सडककै माथिको भागबाट निर्माण गरी स्थायी रूपमा समाधान गर्न लागिएको हो ।  

आयोजना प्रमुख मित्र बरालका अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण भइरहेको छ । कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये शुव्रmबारसम्म सात हजार ८४२ मिटर निर्माण सम्पन्न भएको छ । दोस्रो चरणको काम अन्तर्गत बाँध निर्माणको काम अगाडि बढाइएको हो । सुरुङ निर्माणको काम २०७९ साल असोज २८ देखि सुरु भएको थियो । सुरुङ निर्माणको अवधि २२ महिनाको रहेको छ ।

उहाँले भन्नुभयो, “बाँध निर्माणका लागि ठेक्का सम्झौता भई प्रारम्भिक तयारीसहितको निर्माण अगाडि बढेको छ । सो क्षेत्रमा सिन्धुली जिल्लातर्फ पर्ने जग्गा अधिग्रहण भई मुआब्जासमेत वितरण भइसकेको छ । रामेछापतर्फ डुबानमा पर्ने जग्गाको मूल्याङ्कन सम्पन्न भई मुआब्जा वितरण भइरहेको छ ।”

सुनकोशी नदीमा बाँध निर्माणका लागि २०७९ साल पुस १७ गते पटेल इन्डिया र रमन नेपाल जेभीसँग १२ अर्ब एक करोड ४० लाख रुपियाँमा ठेक्का सम्झौता गरी क्याम्प निर्माणलगायतका काम सुरु भइसकेको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो । चार वर्ष सात महिनाको अवधिमा सुनकोशी नदीमा ब्यारेज निर्माण गरिसक्नुपर्ने आयोजना प्रमुख बरालले स्पष्ट पार्नुभयो ।