• ८ मंसिर २०८१, शनिबार

डेंगुले कुनैपनि बेला महामारीको रुप लिनसक्छ : डा. मरासिनी

blog

डेंगु महामारी र नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि ।

काठमाडौं, साउन २२ गते । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. रुद्र मरासिनीले डेंगु भाइरसले कुनैपनि बेला महामारीको रूप लिने चेतावनी दिनुभएको छ । 

इडिसिडीको सहकार्यमा स्वास्थ्य पत्रकार मञ्चले सोमबार आयोजना गरेको डेंगु महामारी र नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा डा.मरासिनी यस्तो चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो, “डेंगुको भाइरस ७७ वटै जिल्लामा रहेकाले कुनैपनि बेला कुनै पनि स्थानमा डेंगुले महामारीको रूप लिने भएको सचेत हुन आवश्यक छ ।” 

डा. मरासिनीका अनुसार आइतबारसम्म यो वर्ष ७१ जिल्लाबाट सात हजार ७३३ जनामा डेंगु पुष्टि हुनुका साथै सातको मृत्यु भएको छ । यो वर्ष डेंगुका चारवटै सेटोटाइप पुष्टि भएको उहाँले जानकारी दिनुभयो । 

निर्देशक डा.मरासिनीले यो वर्ष सेप्टेम्बर महिनामा डेंगु सङ्क्रमण २७ हजार ५२९ पुग्ने प्रक्षेपण गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जुन महिनाबाट बढ्न थालेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिनामा पिकमा पुग्ने अनुमान २७ हजार ५२९ जनामा डेंगु पिकमा पुग्ने र बिस्तारै घट्दै जाने अनुमान गरिएको छ ।” 

गत वर्ष महामारी फैलेको ठाउँमा यो वर्ष न्यून पुष्टि  

गत वर्ष महामारीका रूप फैलिएका जिल्लामा यो वर्ष निकै न्यून सङ्क्रमित पुष्टि भएको डा. मरासिनीको भनाई छ । सन् २०२२ मा ५४ हजार भन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै ८८ जनाको मृत्यु भएको थियो । 

गतवर्ष काठमाडौँ, ललितपुर,भक्तपुर, मकवानपुर, चितवन, दाङ, धादिङ, रुपन्देही, काभ्रे र सुर्खेत गरी १० जिल्ला ४५ हजार ५४० जनामा डेंगु पुष्टि भएको थियो । 

यो वर्ष सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौँ, झापा, सङ्खुवासभा, धनकुटा, मोरङ र कञ्चनपुर गरी १० जिल्लामा बढीमात्रमा डेंगु सङ्क्रमण फैलिएको छ । 

डेंगुको उपचार सरकारी अस्पतालमा निःशुल्क 

कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले डेंगुको उपचार सरकारी अस्पतालहरूमा नि:शुल्क हुने जानकारी दिनुभयो । डेंगुको परीक्षण शुल्कलाई एकरूपता ल्याउन समिति बनाएर काम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हाल डेंगुको परीक्षण शुल्क ७०० देखि १२५० रुपियाँसम्म लिएको पाइएको छ । डेंगुको परीक्षण शुल्कलाई एकरूपता ल्याउन समिति बनाएर काम गर्ने तयारी भइरहेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक रविन्द्रमान सिंहले यसको सङ्क्रमण रोकथाममा सबैको एकता जरुरी रहेको बताउनुभयो । उहाँले भएका स्रोत साधन र जनशक्ति परिचालन गरेर सरकारले सङ्क्रमण थप फैलन नदिन काम गरिरहेको दाबी पनि गर्नुभयो । 

डेंगु के हो ? 

सरुवा रोग विशेषज्ञ डा.विमल चालिसेका अनुसार डेंगु एक प्रकारको लामखुट्टेकाे टोकाईबाट सर्ने सरुवा रोग हो । डेंगु भाइरसको कारणले यो रोग लाग्ने गर्छ । चालिसेका अनुसार डेंगु भाइरसका चार प्रकारका सेरोटाइप हुन्छन् । 

एक पटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवभर त्यसै सेरोटाइपबाट पुनः डेंगु रोग नलाग्ने चालिसे बताउनुहुन्छ ।  तर अन्य सेरोटाइपको भाइरस बाट डेंगु लाग्न सक्छ जुन पहिलो स्वरूपको तुलनामा बढी खतरनाक हुने डा.चालिसेको भनाई छ । 

डेंगु रोगले रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घरोगी, बालबालिका, गर्भवती महिलालाई जोखिममा पर्ने भएकोले विशेष ध्यान दिन चिकित्सकको आग्रह छ । एक्कासि उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्ने, डाढ, जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने यसका प्रमुख लक्षण हुन । 

यसका साथै लगातार बान्ता हुने, वान्तामा रगत देखा पर्ने,धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने ,रक्तस्राव हुने बेहोस हुने आदि जटिल लक्षण  देखिने डा.चालिसेको भनाई छ । 

दुखाई कम गर्ने औषधि नखान आग्रह 

डेंगु भाइरसबाट हुने भएकोले यसको खास उपचार छैन । यो भाइरस एक दुई हप्तामा आफै निको हुन्छ । उच्च ज्वरो कम गर्न प्यारासिटामोल खाने तर दुखाई कम गर्ने औषधि नखान चिकित्सकको सुझाव छ ।

पानी, झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने, पूर्ण रूपमा आराम गर्ने चिकित्सकको सुझाव छ । यदि डेंगुका जटिल लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था लैजान डा. चालिसे ले सुझाव दिनुभयो । 

डेंगु भाइरसबाट बच्ने उपाय  

लामखुट्टेको वासस्थान सफा गर्नु नै डेंगु नियन्त्रणको प्रमुख कारण भएको विज्ञ बत्ताउँछन् । डा.चालिसेका अनुसार बच्ने उपाय डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, बिहान दिउँसो राति जुनसुकै बेला झुल लगाएर सुत्ने, पुरा बाहुला भएको पुरा शरीर ढाक्ने लुगा लगाउने, शरीरका खुला भागमा लामखुट्टे धपाउने विधिहरू अपनाउन चिकित्सकको सुझाव छ । घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली समेत लगाउनुपर्छ । 

लामखुट्टेको वृद्धि विकास रोक्ने तरीका 

घर वरिपरि, कार्यस्थल र सार्वजनिक स्थानहरूमा पानी जम्न नदिने सफा राख्ने, पानी जमिहालेमा हप्तामा दुई पटक जमेको पानी फाल्ने, दैनिक प्रयोजनको लागि राखिएको पानी छोपेर राख्ने साथै कुलरमा रहेको पानी हप्तामा दुई पटक सफा गर्ने, गमला र गमला राखेको भाँडामा जमेको पानी हप्तामा दुई पटक फालेर प्लेट सफा गर्ने, भाँडाकुँडामा पानी जम्न नदिने, भाँडा घोप्टाएर राख्ने, घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने, काम नलाग्ने भाँडाकुँडा, सिसी बोतल, प्लास्ष्टिकका सामग्री, टायर आदिलाई पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने ।


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।