रामकृष्ण बोहरा
बागलुङ, फागुन २० गते । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा ७, ८ र ९ स्थित बोबाङका बालबालिका ४७ जनामा दादुरा रोग देखिएको छ । केही दिनअघि बालबालिकामा छिटफुट सङ्केत देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूनाको रुपमा पहिलो चरणमा ८ जनाको परीक्षण गर्दा १ जनामा पुष्टि भएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको अगुवाईमा बुधबार र बिहिबार परीक्षण गर्दा अहिलेसम्म बोबाङका ४७ जनामा दादुरा सङ्क्रमण भेटिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजरका राजु खत्रीका अनुसार, तत्काल उपचार र आइसोलेसनको व्यवस्थापन नगरेमा गाउँभरी दादुरा फैलने खतरा बढ्ने देखिन्छ ।
खत्रीसहित धौलागिरि प्रादेशिक अस्पताल र बुर्तिवाङ जिल्ला अस्पतालका डाक्टरले संभावित बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा धेरै बालबालिकामा दादुराको समस्या देखिएको हो । ‘‘प्रारम्भिक रुपमा परीक्षण गर्दा धेरैमा समस्या आउन सक्ने देखियो, तत्काल रोकथामको उपाय खोज्दै छौं’’ खत्रीले भन्नुभयो, ‘‘गाउँमै देखियो वा अन्यकतैबाट सरेर आएको हो भन्नेबारे अनुसन्धान भैरहेको छ ।’’
जन्मेको १५ महिनाभित्र लगाइसक्नुपर्ने खोप नलगाएका कारण वा अन्य के कारणले रोग लागेको भन्ने अध्ययन हुन बाँकी रहेको खत्रीले बताउनुभयो । दादुरा संक्रमण भएकाहरु अधिकांस १० देखि २० वर्ष उमेर समूहका छन् । अधिकांस बालबालिकालाई ज्वरो, खोकी र शरीरमा बिविरा भेटिएको स्वास्थ्य चौकीका प्रमुख दिपक थापाले जानकारी दिनुभयो ।
‘‘बोबाङका गाउँहरु दुर्गम क्षेत्रमा छन्, त्यसैले पहिला खोप नलगाएको पनि हुन सक्छ’’ थापाले भन्नुभयो, ‘‘अध्ययन नभइ वास्तविक भन्न सकिंदैन ।’’ तत्काल रोकथामका लागि प्राथमिक उपचारको काम भने भैरहेको उहाँले जानकारी दिनुभयो । भाइरल प्रकृतिको रोग भएकोले कोभिड झै आइसोलेसनमा राखेर उपचार गर्न सकेमा मात्र निको हुने र रोकथाम गर्न सकिने भएकोेले अभिभावकलाई जानकारी गराईएको थापाले बताउनुभयो ।
शुक्रबारदेखि बोबाङमा सघन रुपमा खोजी र उपचारको काम अगाडि बढाइने उहाँको भनाई थियो । दादुराको समस्या देखिएपछि उपचारसहित खोजी र परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने कार्यालय वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।