• १३ साउन २०८१, आइतबार

अलैँचीको मूल्य ६ वर्ष यताकै उच्च

blog

अलैँची केलाउँदै धनकुटाको पाख्रिवास नगरपालिका-२ सान्नेका कृषक ।

कबिराज घिमिरे 

हिले, साउन २२ गते । अलैँचीको नयाँ उत्पादन सुरु हुनै लाग्दा मूल्य आकासिएको छ । सोमबार अलैँचीको मूल्य प्रतिमन ५८ हजार पुगेको छ । यो मूल्य पाँच वर्ष यताकै उच्च हो।

२०७१ मा एक लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यसयता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ मा ६० हजारबाट ओरालो लागेको मूल्य गत पुससम्म प्रतिमन २५ हजार रुपियाँले कारोबार भएको अलैँची त्यसयता भने अलिअलि बढ्दै गएको हिलेका अलैँची व्यापारी श्याम शाह बताउनुहुन्छ । आउँदो वर्ष उत्पादन कम हुनसक्ने डरले ठुला व्यापारीहरूले अलैँची खरिद गरेर स्टक गर्नथाले पछि मूल्य बढेको उहाँको भनाइ छ । 

गत वर्ष ४९ हजार रुपियाँ प्रतिमनसम्म पुगेको थियो तर मूल्य स्थिर रहन सकेन । मूल्य बढेपनि कृषक भने खुसी छैनन् । कृषकसँगको उत्पादन सकिएको र नयाँ उत्पादन आउने समयसम्ममा मूल्य घटिसक्ने कृषकको बुझाइ छ । गत वर्षपनि ४९ हजार रुपियाँ प्रति मनसम्म पुगेको थियो तर कृषकको उत्पादन सुरु भएसँगै घटेर २५ हजारमा झर्‍यो यो वर्ष पनि उत्पादन हुँदा पुरानै दाममा झर्छ पाख्रिवास नगरपालिका-२ का अलैँची कृषक निर्मल स्याङदेन बताउनुहुन्छ । 

उत्पादनमा कमी हुने आकलनकै कारण मूल्य बढेको हुनसक्ने अनुमान कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । अलैँचीको बजार भारतमा भर पर्ने भएकाले भारतमा उत्पादन घटे मात्र नेपालको अलैँचीले भाउ पाउने केन्द्रका सूचना अधिकारी सुरज खनाल बताउनुहुन्छ । “मूल्य बढेपनि स्थिर रहन्छ रहँदैन त्यो चैँ महत्त्वपूर्ण कुरो हो”, खनाल भन्नुहुन्छ ।

अलैँचीको नयाँ उत्पादन असोजको पहिलो साताबाट सुरु हुन्छ । धनकुटामा करिब ४ दशक यता अलैँचीको खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८९।८०मा ११२ हेक्टर क्षेत्रफलबाट ३६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । ४ दशकका अवधिमा आर्थिक वर्ष २०७४।७५४ सबैभन्दा धेरै क्षेत्रफलमा खेती र अलैँचीको उत्पादन भएको थियो । 

कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४।७५ मा २३० हेक्टर क्षेत्रफलबाट १३४ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । त्यस ता भने अलैँचीको उत्पादन निरन्तर ओरालो लागेको छ ।