• ३० वैशाख २०८२, मङ्गलबार

पाँच दशकपछि सात सय परिवारलाई लालपुर्जा

blog

रेखीराम राना

पाल्पा, साउन २१ गते । पाल्पाको रामपुरका सात सयभन्दा बढी परिवारले पाँच दशकपछि लालपुर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोगले जिल्लाको रामपुर नगरपालिकाभित्रका ७०२ परिवारलाई लालपुर्जा वितरण गरेको हो ।  

विगत पाँच दशकदेखि अव्यवस्थित रुपमा रामपुरको वडा नं. ५, ६ र ७ का विभिन्न स्थानमा बसोबास गर्दै आएका बासिन्दालाई पाँच दशकपछि लालपुर्जा वितरण गरिएको आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले जानकारी दिनुभयो । अव्यवस्थित जग्गाधनी पुर्जा वितरणबाट ११ करोड ७७ लाख ५३ हजार ५५२ रुपियाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । 

लामो समयदेखि अव्यवस्थित रुपमा बसोबास गर्दै आएका रामपुरका सात सयभन्दा बढी स्थानीय बासिन्दाले आफूले उपभोग गरेको जग्गाको लालपुर्जा प्राप्त गरेको उहाँले बताउनुभयो । रामपुर नगरपालिकाको ७८३ जनालाई लालपुर्जा वितरण गर्ने योजना रहेकोमा ८१ जनाको विविध कारणले लालपुर्जा दिन बाँकी रहेको अन्य सबैलाई पुर्जा वितरण गरिएको उहाँले बताउनुभयो । 

पुर्जा वितरण गर्न बाँकीमध्ये १२ वटाको राजस्व जम्मा नभएको, ४१ घडेरीको श्रीमान् वा श्रीमतीको हस्ताक्षर बाँकी रहेको, एउटाको मुचुल्का नभएको आयोगका विज्ञ सदस्य कृष्ण अधिकारीले बताउनुभयो । यस्तै, १८ वटाको दोहोरो निवेदन परेको र नौ वटा निवेदनको कार्यविधि अनुसार नमिल्ने भएकाले त्यसमाथि अध्ययन भइरहेको उहाँले बताउनुभयो । 

तत्कालीन रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यको लागि यहाँको जग्गा वितरण गरेको थियो । यस्तै, हालको रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा माविलगायतका विद्यालयहरूले विद्यालय सञ्चालनका लागि तत्कालीन समयमा विक्री गरेको जग्गामा बसोबास गर्दै आएका स्थानीय बासिन्दाले लालपुर्जा पाएका छन् । 

लालपुर्जा पाएपछि यहाँका स्थानीय बासिन्दा खुसी छन् । विगत चार दशकदेखि उपभोग गर्दै आएको जग्गाको लालपुर्जा पाउँदा खुसी लागेको स्थानीय बासिन्दा लक्ष्मी ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “चार दशकपछि यहाँका बासिन्दाले जग्गाको लालपुर्जा पाएका छन्, यसबाट अब जग्गा समस्या छ भनेर चिन्ता लिनु नपर्ने भयो ।”