• १२ पुस २०८२, शनिबार

पत्रकार भोजराज थापा ‘राप्ती पत्रकारिता पुरस्कार- २०८२’ बाट सम्मानित

blog

काठमाडौँ, पुस १२ गते । राप्ती समाज काठमाडौँको आयोजनामा सम्पन्न ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार भोजराज थापालाई  राप्ती पत्रकारिता पुरस्कार - २०८२  प्रदान गरी सम्मान गरिएको छ। उक्त अवार्ड समारोह २०८२ साल पौष ११ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपको सभाहलमा भव्य रूपमा सम्पन्न भएको हो।

राप्ती समाजका अध्यक्ष गोविन्द मधुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो। समारोहमा राष्ट्रिय भाव, सन्देशमूलक, लोक, आधुनिक, पप, चलचित्र गीतसंगीत, अभिनय, छायांकन, निर्देशन, सम्पादन लगायत करिब ४० विधामा विभिन्न कलाकार, सर्जक तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

पत्रकार थापालाई सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै युवामुखी पत्रकारितामा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा सहभागी अतिथि तथा कलाकारहरूको नौमती बाजासहितका झाँकी र सांस्कृतिक प्रस्तुतिमार्फत भव्य स्वागत गरिएको थियो।

राप्ती म्युजिक अवार्डले स्थापित कलाकारसँगै नवप्रवेशी सर्जकलाई पनि राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ। लोक, आधुनिक, पप तथा चलचित्र गीतसंगीतदेखि नयाँ प्रतिभासम्मलाई समेट्ने यस अवार्डले नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

कार्यक्रममा अध्यक्ष तथा चर्चित गायक–संगीतकार गोविन्द मधुर आचार्यले कला, संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन सबैको साझा दायित्व भएको उल्लेख गर्दै कलाकार, स्रष्टा, दर्शक, शुभेच्छुक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो। साथै, यस्ता अवार्ड कार्यक्रमले नेपाली स्रष्टा र कलाकारलाई थप प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभयो।