• १२ पुस २०८२, शनिबार

‘दुःखी’ का साहित्यिक योगदान

blog

नेपाली साहित्यको क्षेत्रमा सुन्दरप्रसाद शाह दुःखी (विसं १९८८–२०७२) समसामयिक स्थिति र घटनाबिचको पारस्परिक सम्बन्धमाथि गहन चिन्तन र विश्लेषण गर्ने एउटा अत्यन्त कुशल साहित्यकारका रूपमा स्थापित हुनुहुन्छ । उपन्यासमा ऐतिहासिक पक्षलाई विश्वसनीय किसिमले स्थापित गर्ने कार्यमा जीवन्त भूमिका निर्वाह गर्न सक्नु भएकै कारण उहाँ विशेष गरी ऐतिहासिक उपन्यासका अविस्मरणीय स्रष्टाका रूपमा प्रतिष्ठित हुनुहुन्छ । उहाँका ‘प्रतिवाद’, ‘त्रिफट्’, ‘बहादुर शाह’, ‘कान्तवती’ र ‘सानो हजुर’ शीर्षकका कृति यसका दृष्टान्त बनेका छन् । यति हुँदाहुँदै पनि उहाँका सम्बन्धमा जे जति चर्चा–परिचर्चा हुनुपथ्र्यो त्यो भने हुन सकेको पाइँदैन । 

खास गरी ओझेलमा परेका वा पारिएका ऐतिहासिक घटना र विविध व्यक्ति–व्यक्तित्वका सम्बन्धमा यथार्थ जानकारी दिने क्रममा घटनाको यथार्थ र सत्य पक्षमा अलिकति पनि प्रतिकूल प्रभाव नपरोस् भन्ने विषयतर्फ सुन्दरप्रसाद शाह दुःखी अत्यन्त सजग र सचेत रहनुभएको पाइन्छ । ऐतिहासिक विषयमा केन्द्रित भई साहित्य–सिर्जना गर्दा त्यसमा तिथि, मिति, समय र स्थान आदिको यथार्थ मात्र उद्घाटित नभई त्यसमा घटना–सत्यको यथार्थ पक्ष पनि राम्ररी उद्घाटित हुन सक्नु पर्छ । यस किसिमको साहित्य सिर्जना गर्दा कलात्मक पक्षमा भन्दा बढी यथार्थ सत्यको कलात्मक वर्णनमा सर्जकको ध्यान केन्द्रित हुनु पर्छ भन्ने मान्यता उहाँ राख्नुहुन्थ्यो ।

उहाँ कुनै पनि ऐतिहासिक विषयमा लेख्नुअघि प्राप्त वा उपलब्ध सामग्रीको गहन अध्ययन गर्नुहुन्थ्यो । थप सामग्रीका सम्बन्धमा शोधखोज गरी स्रोत व्यक्तिको सूची निर्माण गरेर उनीहरूसँग साक्षात्कार गरी अनुपलब्ध सामग्री जुटाउन अविरल रूपमा उहाँ संलग्न रहनु हुन्थ्यो । त्यति मात्र होइन घटना सम्बद्ध विविध स्थलको स्थलगत अध्ययन अनुसन्धानसमेत गरी ऐतिहासिक विषयलाई कृत्रिमता र आडम्बरबाट मुक्त गराउन प्रयत्नशील रहनु हुन्थ्यो । उहाँ ऐतिहासिक साहित्य–लेखनका क्रममा इतिहासको सीमा र मर्यादाको रक्षा गर्न सदैव प्रयत्नशील रहनुहुन्थ्यो । विषय–सत्य प्रतिपादित भएको ऐतिहासिक साहित्यले नै पाठकको विशेष श्रद्धा र विश्वास आर्जन गर्न सक्नेमा उहाँ विश्वस्त पनि हुनुहुन्थ्यो ।

ऐतिहासिक साहित्य–सिर्जनाका क्रममा सत्यलाई काल्पनिकताले किमार्थ थिच्नु हुँदैन भन्ने मान्यता राख्ने सुन्दरप्रसाद शाह दुःखी ऐतिहासिक साहित्य लेखनका क्रममा कल्पनालाई होइन घटनाहरूको अवलोकन र निरीक्षणद्वारा प्राप्त भएका सत्यलाई कलात्मक रूपमा अभिव्यक्त गर्न अग्रसर हुनु पर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो । यसलाई उहाँको ऐतिहासिक विषय–केन्द्रित साहित्य सिर्जनाले नै स्पष्ट पारेका छन् । ऐतिहासिक उपन्यासका घटना, पात्र, तिनका जीवन्त चरित्र र भूमिका आदि कल्पित नभई स्वाभाविक र यथार्थ हुनु पर्छ । ऐतिहासिक साहित्य सिर्जना अलिकति पनि यथार्थभन्दा बाहिर जानु हुँदैन । सुन्दरप्रसाद शाहका ऐतिहासिक उपन्यासले आफैँमा यस किसिमका गुणवत्ता ग्रहण गरेका छन् ।

त्यसो भए सुन्दरप्रसाद शाह दुःखीले इतिहास नै किन लेख्नुभएन ? बढी मात्रामा इतिहाससम्बद्ध उपन्यास मात्र किन लेख्नुभयो ? भन्ने प्रश्न यहाँनिर उठ्न सक्छ । विश्व–साहित्यिक क्षितिजलाई हेर्ने हो भने पाठकले बढी मात्रामा उपन्यास पढ्न नै रुचाउने गरेको देखिन्छ । यो विधा विश्व–साहित्यकै प्रमुख अङ्गको रूपमा विकसित हुँदै आइरहेको पनि छ । यो अवस्थामा ऐतिहासिक सत्यलाई उपन्यासमा निरूपण गरेर पाठकसमक्ष राखिदिनु बढी मात्रामा उपयोगी हुने उहाँले देख्नुभयो । त्यसैले विशेष गरी यो विधामा केन्द्रित भएर उपन्यास लेख्ने सार्थक प्रयास उहाँले गर्नुभयो । यसका अतिरिक्त उहाँले इतिहाससम्बद्ध विषयमा केन्द्रित भएर केवल उपन्यास मात्र लेख्नुभएको छैन विविध किसिमका ऐतिहासिक नाटक पनि लेख्नुभएको छ । तीमध्ये केही प्रकाशित छन् र केही अप्रकाशित अवस्थामै रहेका छन् । 

विसं २०१३ मा राजदरबारमा सहायक सचिवका रूपमा प्रशासनिक सेवामा प्रवेश गर्नुभएका दुःखीले विसं २०१५ मा संसद् सचिवालयको ‘डेपुटी सेक्रेटरी’ भई २०१९ देखि तत्कालीन राष्ट्रिय पञ्चायतको पहिलो सचिवको रूपमा आफ्नो सेवा अर्पण गर्नुभयो । यसपछि विसं २०२६ मा गृहका साथै तत्कालीन सूचना प्रचार मन्त्रालयको सचिवको पनि दायित्व निर्वाह गर्नुभएका उहाँले विसं २०३० देखि निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको भूमिका निर्वाह गर्नुभयो । यसका अतिरिक्त गोरखापत्र संस्थानको अध्यक्ष, बागमती अञ्चलको अञ्चलाधीशका साथै अन्य विविध किसिमका प्रशासनिक, सामाजिक, धार्मिक आदि संस्थामा आबद्ध रही उहाँले आफ्नो सेवा अर्पण गर्नुभएको पाइन्छ । उहाँले ‘कोसेली’ साहित्यिक द्वैमासिक पत्रिकामा संलग्न रही साहित्यिक पत्रकारिताको क्षेत्रमा पनि योगदान दिनुभएको पाइन्छ । धार्मिक, आध्यात्मिक र भावुक प्रकृतिका सुन्दरप्रसाद शाह ‘दुःखी’ बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व त हुनुहुन्थ्यो नै यसका अतिरिक्त निश्चल स्वभाव, सादा र सज्जन प्रवृत्तिको व्यक्तित्वको रूपमा पनि सुपरिचित उहाँ तन्त्र, योग र हस्तरेखा आदि विविध पक्षका ज्ञाता पनि हुनुहुन्थ्यो ।

ज्यादै उच्च किसिमका सरकारी सेवामा समर्पित भएर लाग्दा निश्चय पनि उहाँलाई साहित्य–सिर्जनाका लागि प्रचुर समय उपलब्ध हुन नसकेको स्पष्ट नै हुन्छ । यस अवस्थामा पनि माथि उल्लेख गरिएका विविध शीर्षकका कालजयी उपन्यासका साथै ‘कामना’ (कविता सङ्ग्रह), ‘झागल गुरुङ’ (ऐतिहासिक नाटक), ‘अन्ध विश्वास’ (मौलिक सामाजिक नाटक), ‘कालो बादल’ (कहानी सङ्ग्रह), ‘श्रीकाली कर्पूरस्तोत्रम्’ (संस्कृतबाट नेपालीमा अनुदित तन्त्र साधनात्मक कृति) आदि शीर्षकका विविध विधामा प्रकाशित कृतिले उहाँको बहुआयामिक व्यक्तित्वमाथि गहन प्रकाश पारेका छन् । विसं २००४ मा ‘गोरखापत्र’ मा ‘पन्छी’ शीर्षकको कविता प्रकाशन गरी साहित्ययात्रा प्रारम्भ गर्नुभएका दुःखीका विविध पत्रपत्रिकामा अनेकौँ लेख–रचना प्रकाशित छन् । उहाँले लेख्नुभएका अनेकौँ कृति अझै प्रकाशनको प्रतीक्षामा छन् । उपर्युक्त सबै वस्तुतथ्यलाई मनन गर्दा उहाँलाई केवल ऐतिहासिक उपन्यासकारका रूपमा मात्र सीमित राख्न सकिँदैन ।

बाबुराम आचार्यलाई इतिहास शिरोमणि, भैरव अर्याललाई सुप्रसिद्ध हास्य व्यङ्ग्यकारका रूपमा मात्र चर्चा परिचर्चा गर्ने गरिए झैँ सुन्दरप्रसाद शाह दुःखीलाई ऐतिहासिक उपन्यासकारका रूपमा मात्र चिनारी दिनु अर्घेल्याइँ हुन सक्छ । आचार्य, अर्याल आदि कतिपय विशिष्ट स्रष्टाले विविध क्षेत्रमा कलम चलाएका छन् तर तिनका योगदानको सही मूल्याङ्कन अझै हुन सकेको पाइँदैन । केवल एक विधामा मात्र केन्द्रित भई गरिएको चर्चाबाट उहाँहरूको योगदान र कार्यको सही मूल्याङ्कन भएको मान्न सकिँदैन । त्यसै गरी सुन्दरप्रसाद शाह दुःखीलाई केवल ऐतिहासिक उपन्यासकारका रूपमा मात्र सीमित गरेर हेर्दा उहाँका समग्र साहित्यिक योगदानको वस्तुनिष्ठ मूल्याङ्कन हुन सक्दैन ।

सुन्दरप्रसाद शाहपछि उहाँको नाममा जोडिएर आउने गरेको ‘दुःखी’ उहाँको साहित्य–सिर्जनासम्बद्ध उपनाम हो । ‘दुःखी’ कष्टप्रद जीवनको पर्याय हो । विविध किसिमका कष्टप्रद जीवन–निर्वाह (भातृमृत्युको चोट) अनि विविध किसिमका जटिल प्रशासनिक कार्यमा ध्यान दिनु परेकाले साहित्य सिर्जनामा पर्याप्त समय दिन नसकेको अवस्था आदिले मनमा उत्पन्न गराउन पुगेका पीडाबोधका कारण दुःखी हुन पुगेकाले नै उहाँको साहित्यिक उपनाम ‘दुःखी’ रहन गएको प्रतीत हुन्छ । यसरी असाधारण किसिमको साहित्य–लेखन क्षमता बोकेका अनि प्रशासनिक अनुभवबाट राम्ररी खारिएका मानवीय मूल्य, मान्यता र आपसी सद्भावलाई बढी महìव दिने सादा जीवन र उच्च विचारका धनी सुन्दरप्रसाद शाह दुःखीका साहित्यिक सिर्जनाले भविष्यपर्यन्त महत्वपूर्ण सिर्जनाका रूपमा स्थापित हुने गुणवत्तालाई वहन गरेका छन् । 

सुन्दर प्रसाद शाह दुःखीको ‘कामना’ शीर्षकको पहिलो कविता सङ्ग्रह पढेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहाँका सम्बन्धमा यस किसिमको विचार अभिव्यक्त गर्नुभएको पाइन्छ । उहाँले लेख्नुभएको छ : ‘पूँजीपति समाजमा चल्ने भइकन दरिद्रको दशामा आँसु चुहाउने प्रवृत्ति देखाउनु, मानवताको दुःखले पीडित भएर सुखी कुलमा जन्मिएर पनि आफ्नो उपनाम ‘दुःखी’ राख्नु सच्चा सहृदयता र भावुकताका चिह्न हुन् ।’

‘उहाँको दिलमा वर्तमानसँग स्वस्थ असन्तोष छ, सुन्दरको खोज छ, असुन्दरको साहसी निन्दा । यिनको विकास ठुलो दर्जाको कविताको भावी आधार हुने छ,’ यसरी ‘दुःखी’ को साहित्यिक वैशिष्ट्यका सम्बन्धमा विसं २००९ फागुन महिना ११ गतेका दिन नेपाली सहित्यका विराट् प्रतिभा देवकोटाले पार्नुभएको उपर्युक्त प्रकाश अनि उहाँका सबै सिर्जनाको सापेक्षताका कसीमा उहाँलाई नेपाली साहित्यका सर्वतोमुखी प्रतिभाका रूपमा लिन सकिन्छ । 

उहाँका सिर्जना सही अर्थमा नेपाल र नेपालीलाई माया गर्ने अनि नेपालको इतिहाससम्बद्ध विषयमा अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण पठनीय–सामग्री बन्न सकेको तथ्य निर्विवाद छ । अनेकौँ पत्रपत्रिकामा प्रकाशित उहाँका सयौँ सिर्जनालाई विधागत रूपमा वर्गीकरण गरी त्यसलाई पुस्तकको रूपमा ल्याउन सकिएको स्थितिमा त्यो नेपाली साहित्यको क्षेत्रमा ठुलै प्राप्तिको विषय बन्न सक्ने देखिन्छ । यसप्रति सम्बद्ध सबैको र खास गरी सुन्दरप्रसाद शाह दुःखी स्मृति प्रतिष्ठानको सत्प्रयास अगाडि बढ्नु आवश्यक छ । यस क्रममा साहित्यलाई अनुत्पादक विषय नठान्ने हो भने यस्ता सबै व्यक्ति–व्यक्तित्वका सिर्जनालाई क्रमिक रूपमा प्रकाशमा ल्याउने क्रमबद्ध प्रयास राष्ट्रस्तरबाटै अगाडि बढ्नु र बढाइनुपर्ने आवश्यकता अझै अपेक्षित रहेको तथ्य स्पष्ट नै छ । आजको परिवर्तित सन्दर्भमा यसतर्फको सत्प्रयास अगाडि बढ्न सकेमा त्यसबाट राष्ट्र नै लाभान्वित हुन सक्ने पक्षमा जिम्मेवार पक्षले पनि समीचीन ध्यान पु¥याउनु आवश्यक देखिएको छ ।