• १२ पुस २०८२, शनिबार

शीतलहरबाट जोगिन सचेतना जरुरी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १२ गते । देशव्यापी चिसो बढेसँगै तराई भूभागमा केही दिनयता लगातार शीतलहर चलिरहेकाले आमनागरिकको जीवन सहज बनाउने भूमिका निर्वाह गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै निकायमा अपिल गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले पनि शीतलहर चलेको घोषणा गर्दै सचेतना अपनाउन अनुरोध गरेको छ । प्राधिकरणले शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा आएकाले उक्त कार्ययोजना अनुसार आआफ्नो अधिकार क्षेत्रमा पर्ने पूर्वकार्य तथा प्रतिकार्य गर्न पनि अनुरोध गरेको छ । सबै निकायले प्रभावित जिल्लास्थित जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय तहसँगको समन्वयमा विभागको पूर्वानुमान अनुसार प्रतिकार्यमा संलग्न हुन भनेको छ । 

न्यानो लत्ताकपडा र न्यानो गराउने उपकरण तथा सामग्री तयारी अवस्थामा राख्दै आवश्यक परेका खण्डमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सङ्कटापन्न समुदायका घरपरिवारलाई वितरण गर्न प्राधिकरणले सुझाएको छ । उनीहरूलाई न्यानो हुने गरी सार्वजनिक भवन, मठमन्दिर, घर आदिमा राख्ने प्रबन्ध मिलाउन आवश्यक समन्वय गर्न पनि भनिएको छ । प्राधिकरणको नियम अनुसार चिसो वा शीतलहरका कारण ज्यान गएको प्रमाणित भएमा मात्र सङ्घीय सरकारका तर्फबाट आर्थिक तथा अन्य राहत पाइने भएकाले त्यसमा पनि सचेत रहन भनिएको छ । चिसोबाट जोगिने उपाय अपनाउनका लागि आवश्यक सञ्चार तथा सचेतनामूलक सामग्रीको प्रचारप्रसार गर्न पनि अनुरोध गरिएको छ ।

 चिसोबाट मृत्यु भएको प्रमाणित भएमा सरकारका तर्फबाट जनही दुई लाख रुपियाँ नगद राहत मृतकका परिवारलाई प्रदान गरिने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी तराईमा भन्दा पश्चिम तराईमा कडा शीतलहर कायम छ । ती भेगमा बढ्दो चिसोमा प्रतिकार्यको अवस्था आउन सक्ने चेतावनी विभागले दिएको छ । 

बिहानदेखि लागेको कडा हुस्सु, कुहिरो अपराह्नसम्म रहने र साँझदेखि फेरि शीतलहर चल्ने क्रम रहेकाले जनजीवन बढी प्रभावित हुन सक्ने जनाइएको छ । पूर्वी तराईमा पनि शीतलहरको कहर बढ्ने क्रम रहेकाले सतर्क रहन भनिएको छ । ती क्षेत्रमा भने मध्याह्नपछि हुस्सु कुहिरो हटे पनि रातको शीतलहरले सताउने अनुमान गरिएको छ ।