भवानीदत्त भट्ट
कञ्चनपुर, पुस १२ गते । कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रवार साँझ शुक्लाफाँटा नगरपालिका–५ वन समिति स्थित बेलौरी कलुवापुर सडकमा म १ त ९३१ नम्बरको ट्याक्टर र सुपप्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक गड्डु विकको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा परि मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–५ का ४५ वर्षीय विकको टाउको र खुट्टामा चोक लागेको थियो ।
झलारीमा सामान्य उपचार पछि थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा पुगाइएका उहाँको उपचारका क्रममा गएराति ९ बजेको समयमा निधन भएको प्रहरीले जनाएको छ ।
यसै गरी, मोटरसाइकलको पछाडि सवार शुक्लाफाँटा नगरपालिका–५ का वीरराम पोखरेल घाइते छन् । उहाँको झलारीमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले ट्याक्टर चालक लालझाँडी गाउँपालिका–३ का २६ वर्षीय वीरेन्द्र रानालाई ट्याक्टर सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताउनुभयो ।