टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), पुस १२ गते । शनिबार इस्मा गाउँपालिका–१ को विपी पार्क खेल मैदानमा सञ्चालन भएको छैटौँ फोर्टिन स्टार कप अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा महेन्द्र मावि रेसुङ्गा र पालुखा मावि इस्माबिच प्रतिस्पर्धा हुने भएको छ ।
महेन्द्र मावि, रेसुङ्गा मावि, उपल्लो तम्घास मावि र पालुखा मावि सेमिफाइनलमा प्रवेश गरेका थिए। बिहीबार भएको सेमिफाइनल खेलमा महेन्द्रले उपल्लो तम्घास मावि र पालुखाले रेसुङ्गा माविलाई पराजित गरेर दुई विद्यालयले फाइनलको यात्रा तय गरेका हुन् ।
महेन्द्र माविले उपल्लो तम्घासलाई २–० ले हराउन महेन्द्र माविका रमित श्रेष्ठ र भुषण खत्रीले एकएक गोल गर्नुभयो ।पालुखाले रेसुङ्गा माविलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराएको थियो। निर्धारित समयको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
पालुखाका लागि रमेश मुखिया र सन्तोष मुखिया तथा रेसुङाका लागि आदेश बिक र जेनिश मगरले गोल गरेको फोर्टिन स्टार युवा क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।प्रतियोगितामा १४ विद्यालयले सहभागिता जनाएका थिए ।