• १२ पुस २०८२, शनिबार

विपत् उद्धारका लागि विमानस्थलमा पोखरी

blog

विपत् उद्धार पोखरीे शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री यामलाल कँडेल ।

सुर्खेत समाचारदाता

सुर्खेत, पुस १२ गते । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा सुर्खेत विमानस्थलभित्र मानवीय सहायता तथा विपत् उद्वारका लागि पोखरी निर्माण गर्न लागेको छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेसको हाताभित्र निर्माण हुने पोखरीको शिलान्यास गर्नुभयो । सो पोखरीबाट आगलागीका घटनामा हेलिकोप्टरमार्फत पानी भरेर जङ्गलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने जनाइएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका विपत् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमका अनुसार हेलिकोप्टरबाट आगो निभाउने प्रविधिलाई बम्बी बकेट भनिन्छ, यसको अर्थ  हेलिकोप्टरमा झुन्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर जङ्गल डढेलो वा अन्य आगलागीमा खसालिन्छ । 

उहाँले उक्त पोखरी अधिकतम ९७ फिट लामो  र १३ फिट गहिरो हुने जानकारी दिनुभयो । नेपाली सेनाको प्राविधिक सहयोग रहने उक्त पोखरीको लागत ९९ लाख ९६ हजार रुपियाँ रहने छ । विमानस्थलभित्र मानवीय सहायताका हिसाबले उक्त पोखरी नेपालकै पहिलो हुने बताउँदै उहाँले पोखरी निर्माणपश्चात् प्रदेश सरकारले नेपाली सेनालाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो । 

सो पोखरीको शिलान्यास गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विपत्का घटना अकस्मात् हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिनप्रतिदिन बढिरहेकाले हेलिकोप्टरसहित दमकलबाट समेत अग्नि नियन्त्रणमा उक्त पोखरी निर्माणले सहज हुने जनाउनुभयो ।

प्रदेश सरकारले विपत् न्यूनीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायसँग सहकार्य गरिरहेको बताउँदै उहाँले विपत् न्यूनीकरणमा सबैको सामूहिक प्रयासको आवश्यक रहेको औँल्याउनुभयो । पोखरी शिलान्यास कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, उत्तर पश्चिम पृतनाका सहायकरथी  सञ्जयकुमार रञ्जित, नं. ४ बाहिनी नेपालगन्जका बाहिनीपति  दिनेशजङ्ग शाह, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी माधव श्रेष्ठलगायतको उपस्थिति थियो ।