गोविन्द शर्मा
बाँके, पुस ११ गते । नेकपा (एमाले) बाँकेले हालै राजधानीमा सम्पन्न महाधिवेशनको सन्देश गाउँ तहसम्म पुर्याउन जिल्लास्तरीय भेला गरिरहेको छ ।
शुक्रबार नेपालगञ्जमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा एमाले नेताहरुले महाधिवेशनबाट एमाले एकमना एकतासाथ अघि बढेको भन्दै पार्टीलाई बलियो बनाउन तल्लो तहदेखि सक्रिय भएर लाग्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङले महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओली नेतृत्वको पदाधिकारी र केन्द्रीय सदस्यहरुको जुझारु टोलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन थप बल पुगेको टिप्पणी गर्नुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “एमालेबिरुद्ध फैलाइएका र फैलाउन खोजिएका सम्पूर्ण भ्रमहरु महाधिवेशनले अन्त्य गरेको छ ।” एमाले बाँकेका उपाध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले एमालेबिरुद्ध बिभिन्न शक्तिहरु एकजुट भएर भ्रम फिजाउन खोजिएको टिप्पणी गर्दै एमालेले कार्यकर्ताको बलमा त्यसलाई परास्त गर्ने बताउनुभयो ।
उहाँले अध्यक्ष ओलीमाथि स्थानहद यथावत राखिनुले सरकार निर्वाचन चाहँदैन भन्ने पुष्टि हुने दाबी गर्नुभयो । कार्यक्रममा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु शान्ति ढकाल, सूर्य ढकाल, मोहम्मद हारुन, आरती पौडेल, बसन्ती अधिकारी र लेखा आयोगका सदस्य विजया धिताललाई सम्मान गरिएको छ ।