• ११ पुस २०८२, शुक्रबार

भेरी अस्पतालमा दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

blog

भेरी अस्पतालमा पहिलो पटक दूरविनबाट मेरुदण्डको शल्यक्रिया गर्दै चिकित्सक । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस ११ गते ।
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक अत्याधुनिक दूरविन प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारको बजेटबाट उपकरण खरिद गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका स्पाइन सर्जन डा. प्रकाश थापाको नेतृत्वमा रहेको चिकित्सक टोलीले जाजरकोटका २३ वर्षीय युवकको मेरुदण्डको अत्याधुनिक दूरविन प्रविधिबाट करिब तीन घण्टा लामो सफलतापूर्वक शल्यक्रिया गरिएको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘‘स्पाइन सर्जरीको क्षेत्रमा भेरी अस्पतालको यो ऐतिहासिक उपलब्धि हो, अस्पतालमा पहिलोपटक अत्याधुनिक युबिई प्रविधिबाट एलफोर एल फाइभ डिस्क हर्निएसनको सफल शल्यक्रिया भएको छ ।’’

स्पाइन सर्जन डा. प्रकाश थापाले यस प्रविधिबाट गरिएको शल्यक्रियामा रक्तस्राव न्यून हुने, सङ्क्रमणको जोखिम कम हुने, शल्यक्रियापछिको पीडा घट्ने तथा बिरामी छिटो सामान्य जीवनमा फर्किन सक्ने बताउनुभयो ।

उहाँले युबीई इन्डोस्कोपिक स्पाइन सर्जरी न्यून चिरफार प्रविधि भएको जनाउँदै यसमा मेरुदण्डमा अत्यन्तै सानो चिरा दिएर डिस्कसम्बन्धी समस्या सुरक्षित र प्रभावकारी रूपमा उपचार गरिने गरिएको बताउनुभयो ।

डा.थापाका अनुसार मेरुदण्डको नसा च्यापिने समस्या समयमै उपचार नहुँदा बिरामी पक्षघातसम्मको जोखिममा पर्न सक्छन् । यो प्रविधिको प्रयोगले नसा वरिपरिको संरचना स्पष्ट देखिने भएकाले शल्यक्रिया अझ सुरक्षित र कम जोखिमपूर्ण हुन्छ ।

यसअघि दूरविन प्रविधिबाट यस्ता शल्यक्रिया गर्न चाहने बिरामीहरु काठमाडौँ वा भारतका महँगा अस्पताल धाउन बाध्य रहेको जनाउँदै स्पाइन सर्जन डा. थापाले अबदेखि भेरी अस्पतालमा नियमित रुपमा युबीई इन्डोस्कोपिक स्पाइन सर्जरी सेवा सुरु गरिने बताउनुभयो ।

यो सेवाबाट बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका हजारौं बिरामीहरुलाई काठमाडौँ वा भारत जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको भेरी अस्पतालले जनाएको छ ।  

भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले सीमित स्रोतसाधनका बाबजुद पनि भेरी अस्पतालमा आधुनिक स्पाइन सर्जरी सेवा सुरु गर्न सफल हुनु सबैका लागि गर्वको विषय भएको बताउनुभयो ।

उहाँका अनुसार आगामी दिनमा मेरुदण्डसम्बन्धी रोगहरुको उपचार अझ सुरक्षित, सुलभ र गुणस्तरीय बनाउने योजना अस्पतालको छ । आगामी दिनमा स्पाइन सर्जरीसँगै पुनःस्थापना सेवाहरुलाई समेत सुदृढ बनाउँदै लैजाने अस्पतालले जनाएको छ ।