• ३० वैशाख २०८२, मङ्गलबार

माओवादी केन्द्रीय समिति बैठकमा पार्टी एकताबारे छलफल हुने

blog

 वीरेन्द्र ओली 

काठमाडौँ, साउन १७ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आसन्न केन्द्रीय समिति बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग एकता गर्ने विषयमा छलफल हुने भएको छ । 

पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा  यसअघि डा. भट्टराईले पठाउनु भएको नौ बुँदे एकता प्रस्ताव पनि  समेटिएपछि एकताबारे छलफल हुने भएको हो । बैठक बुधबार बिहान प्रज्ञाप्रतिष्ठान कमलादीमा हुँदै छ । बैठकमा प्रस्तुत हुने प्रतिवेदन अध्यक्षको निर्देशनमा उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्नि सापकोटा र उपमहासचिव वर्षमान पुनले राजनीतिक प्रतिवेदनको मस्यौदा तयार पार्नुभएको बताइएको छ । त्यस्तै पार्टी महासचिव देव गुरुङ र अर्का उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले साङ्गठनिक प्रतिवेदनको मस्यौदा तयार पार्नुभएको छ । उक्त मस्यौदालाई अध्यक्ष प्रचण्डले अन्तिम रूप दिएर बैठकमा पेस गर्ने भनिएको छ ।

साङ्गठनिक प्रतिवेदनमा जनवर्गीय सङ्गठन, विभाग र केन्द्रीय समितिको आकार भद्दा भएको भन्दै व्यवस्थित गर्ने भनिएको छ । पाँच दिनसम्म चल्ने बैठकको सुरुवातमा बुधबार बिहान महासचिवले बैठकका एजेन्डा प्रस्तुत गर्नुहुने छ भने अध्यक्षले राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुने भएको छ ।

बैठक तयारी पूरा 

पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ । केन्द्रीय समिति बैठकअघि बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने छ । स्थायी समितिले पदाधिकारी बैठकबाट प्रस्तावित एजेन्डामा छलफल गरेपछि ११ बजे बस्ने केन्द्रीय समिति सुरु हुने छ ।

“देशभरबाट सहभागी हुने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, पार्टी विभागका प्रमुख र सचिवसहित ७५८ जनालाई परिचयपत्र वितरण सम्पन्न भएको छ,” उपाध्ययले भन्नुभयो, “यसबाहेक अन्य लजिस्टिकको तयारी पनि पूरा भएको छ ।” 

उहाँका अनुसार केन्द्रीय सदस्यको परिचयपत्र ३८७ जनालाई उपलब्ध गराइएको छ । कार्यालय सचिव उपाध्यायका अनुसार खाने र बस्ने व्यवस्था केन्द्रीय समिति सदस्यलगायत सहभागी आफैँले गर्नुपर्ने छ । पार्टीले बैठक स्थलमा खाजा र स्टेसनरी व्यवस्था गरेको छ । बैठक प्रवेश शुल्कस्वरूप प्रतिव्यक्ति ५०० रुपियाँ तोकेको छ ।