अमृतप्रसाद पौडेल
म्याग्दी, साउन १४ गते । शुक्रवार बेलुकादेखिको वर्षाले गर्दा आएको पहिरोका कारण बेनी जोमसोम सडक अवरुद्ध भएको छ । मुस्ताङ क्षेत्रमा शनिवार परेको वर्षाले गर्दा घाँसा–जोमसोम सडक खण्डको कैकु र लेते क्षेत्रको सडक आइतबार देखि अवरुद्ध भएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार थासाङ गाउँपालिकाको लेते खोलामा सडक अवरुद्ध भएको छ । लेते खोलामै घोडाघोडी यातायातको गाडी शनिवार राति फसेको थियो । बा४ख ८७७२ नम्बरको गाडी लेते खोलाको पानीमा शनिवार बेलुकादेखि फसेको र आइतबार बिहान १० बजे गाडी बाहिर ल्याइएको थियो । थासाङ गाउँपालिकाकै कैकु खेलामा रहेको डाइभर्सन बाढीले बगाएको छ । बाढीले डाइभर्सन बगाउँदा घाँसा–जोमसोम सडक खण्डमा सवारी सञ्चालन हुन सकेको छैन ।
त्यस्तै बेनी–जोमसोम–कोरला कालिगण्डकी करीडोर सडक आयोजना अन्तरगतको रघुगङ्गा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेको कारणले गर्दा सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने पर्यटकहरूलाई समस्या भएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले सडक मर्मत गरेर सञ्चालनको प्रयास गरिएको भए पनि लेदोसहितको पहिरो झर्न नरोकिएकोले जोखिम भएको बताउनुभयो । रघुगङ्गा गाउँपालिकाको वडा नं. १ र २ को सिमाना बाट झरेको पहिरोले रघुगङ्गा –३ बैशरीमा अवरुद्ध भएको हो ।
सडक खुलाउनका लागि प्रहरी तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिँदा सडक खुलाउन पनि जोखिम भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।
म्याग्दीको सदरमुकाम बेनी जोड्ने बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक भने सुचारु अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिनुभयो ।