• २२ वैशाख २०८१, शनिबार

विमानस्थलमै १८ वर्ष कैद !

blog

इरानका एक जना १८ वर्षसम्म एउटा विमानस्थलमा फसेका छन्। सन् १९४६ मा जन्मिएका मेहरन करिमी नासर सर अल्फ्रेड मेहरन  नामबाट समेत परिचित थिए। उनी इरानबाट भागेर युरोपमा जीवन जिउने प्रयासमा पेरिसको चाल्र्स दे गाल विमानस्थलको टर्मिनल एकमा १८ वर्षसम्म फस्न पुगे, सन् १९८८ अगस्त २६ देखि सन् २००६ जुलाईसम्म। बिरामी परेर अस्पताल भर्ना भएपछि मात्र उनले बाहिरको संसार देख्न पाएका थिए।  

सन् २००४ मा उनको आत्मवृत्तान्त ‘द टर्मिनल म्यान’ प्रकाशित गरिएको थियो। उनको जीवनगाथामा आधारित रहेर सन् २००४ मै ‘द टर्मिनल’ चलचित्रसमेत बनाइएको थियो। 

इरानका शासकविरुद्ध प्रदर्शन गरेका कारण आफूलाई सन् १९७७ मा इरानबाट निष्कासित गरिएको नासिरको भनाइ थियो। लामो सङ्घर्ष र कैयौँ देशमा आवेदन गरेपछि युनाइटेड नेसन्स हाई कमिस्नर फर रिफ्युजीद्वारा उनलाई बेल्जियममा शरणार्थी मान्यता प्रदान गरियो। यस मान्यताका आधारमा युरोपका कतिपय अन्य देशमा उनलाई बस्ने अनुमति मिल्यो तर अनुसन्धानले के देखायो भने नासिरलाई इरानबाट कहिल्यै देश निकाला गरिएको थिएन, अनि सुरु भयो नयाँ विवाद।  

आमा स्कटल्यान्डकी भएका नाताले नासिरले सन् १९८६ मा बेलायतमा बसाइँ सर्ने निर्णय लिए तर सन् १९८८ मा बेलायत जानेक्रममा उनको सुटकेस चोरियो र उनका कागजात सबै कथित चोरको हातमा पुगे।

केही स्रोतको दाबी के छ भने बेलायत जान पानीजहाज चढ्नु पहिले  नासिरले वास्तवमा आफ्नो कागजात ब्रसेल्स मेल गरेका थिए र कागजात चोरिएको भनी उनले झुटो बोले। नासिरले पानीजहाजमा यात्रा गर्न पाएनन्। त्यसपछि नासिरले लन्डन जान विमान चढे तर बेलायती अध्यागमन अधिकारीलाई आफ्नो पासपोर्ट देखाउन नसकेपछि उनलाई फ्रान्स नै फर्काइयो। 

नासिरलाई तत्काल फ्रान्सका प्रहरीले पक्राउ गरे तर लगत्तै रिहा गरियो किनभने विमानस्थलमा उनको प्रवेश गैरकानुनी थिएन। नासिरसँग आफ्नो परिचय दिने कुनै पनि कागजात नभएका कारण उनी राज्यविहीन थिए। यस कारण उनी विमानस्थलको टर्मिनल एकमा दिन बिताउन थाले। एक दुई दिन होइन, हप्ता वा महिना होइन, उनले पूरै १८ वर्ष राज्यविहीन नागरिकका रूपमा टर्मिनल एकमा जीवन बिताए। 


–युवामञ्च