तारकेश्वर (काठमाडौँ), साउन ११ गते । तारकेश्वर नगरपालिकाअन्तर्गत विभिन्न खोलामा सरसफाइ अभियान अघि बढेको छ । वर्षायाममा खोलाको सतह बढेर बस्तीमा पानी पस्ने जोखिम बढेसँगै सो अभियान अभियान अघि बढाइएको हो ।
नगरपालिका प्रमुख कृष्णहरि महर्जनले वर्षायाममा खोलामा माटो जम्मा हुने र सतह बढेर बस्तीभित्र पानी पस्न सक्ने भएका कारण सो अभियान अघि बढाएको बताउनुभयो ।
नगरप्रमुख महर्जनले भन्नुभयो, “खोलामा जति पनि पानीको सतह बढ्नुको कारण माटो माथिबाट बगाएर जम्मा भएको अवस्थामा खोलाको बहावलाई सरल तरिकाले बगाउन, बस्तीभित्र पानी नछिराउने अभियानले खोला सरसफाइ अभियान अगाडि बढाएका छौँ ।”, उहाँले जमेको माटोलाई व्यवस्थापन गर्दै खोलामा विसर्जन भएको फोहोरमैला सरसफाइ अघि बढेको बताउनु भएको हो ।
हिउँदयाममा अघि नबढ्ने यो अभियान बर्खायाममा नै अघि बढाउनुपर्ने कारण के हो भन्ने जिज्ञासामा उहाँले यो कार्य आवश्यकता अनुसार अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “जति बेला आवश्यक हुन्छ, त्यतिबेला गर्ने कुरा हुन्छ । बर्खाको बेला निश्चित समयमा माटो आउने हुनाले बर्खामा पानी बग्न सरलता पनि हुन्छ । यसलाई आगामी वर्षदेखि चाहिँ नपर्ला भनेका छौँ ।”
उहाँले अबको एक महिनाभरि निरन्तर यो अभियान क्रमिकरुपमा अघि बढ्ने बताउनुभयो । तत्कालीन विपद्को अवस्था भएकाले यसका लागि छुट्टै बजेट विनियोजन भइनसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “अहिले तत्काल आपत्कालीन अवस्थामा बजेट विनियोजन भएको अवस्था छैन । सामान्य, फोहोरमैला व्यवस्थापन तथा सरसफाइअन्तर्गतको बजेट छुट्याएर यो कार्य अगाडि बढाउने काममा हामी लागेका छौँ ।”
तारकेश्वरअन्तर्गतको सबै खोलामा यो अभियान सञ्चालन हुने भए पनि महादेव खोलाबाट सरसफाइ अभियान सुरु भएको छ । आवश्यक संरचना निर्माणका लागि मनसुन इन्फ्र इन्स्ट्रक्चर कम्पनीसँग समन्वय गरिएको छ ।
कम्पनीका इन्जिनियर रोशन तिवारीले महादेव खोला हुँदै शेषमती, साङ्लालगायतका सबै खोलामा सरसफाइ अभियान अघि बढ्ने बताउनुभयो ।
तिवारीले भन्नुभयो, “तारेकश्वर नगरपालिकामा जति पनि खोला पर्छ, लगभग सबैमा यो अभियान सञ्चालन हुन्छ । कतिपय ठाउँमा, सडकमा, घरहरूमा पानी छिर्ने समस्या छ ।”
स्थानीयले फोहोर ल्याएर खोलामा फालिदिने हुँदा निरन्तर यो समस्या देखिँदै आएको हो । यसको रोकथाम एवम् नियन्त्रणका लागि आगामी दिनमा सिसिटिभी र जरिवाना तोकिने उहाँले बताउनुभयो ।
खोला छेउछाउका पर्खालमा भारपात र रुख नै उम्रिसकेको अवस्था छ । यसबाट अहिलेसम्म सरसफाइ अभियान प्रभावकारी रूपमा अघि नबढेको सहजै बुझ्न सकिन्छ । तर, उहाँले भन्नुभयो, “यसको व्यवस्थापनका लागि जनशक्ति खटाइरहेका छौँ । त्यसलाई हटाएर निकाल्ने, खोलाको जति पनि कोरिडोर छ त्यहाँ फूल र बोटबिरुवा रोप्ने ।”
तिवारीले भन्नुभयो, “मेयरको पहलमा हाम्रो नगरपालिकालाई नमुना नगरपालिकाको रूपमा विकास गर्न यो अभियान अघि बढाइएको हो । अहिले १५ दिन भयो । यसलाई दिगो रूपमा तीन–तीन महिना अर्थात् ९०-९० दिनमा यो अभियान सञ्चालन गर्ने भन्ने पनि छ”, यी लगायत अन्य विषयमा नगरपालिकामा थप बहस भइरहेको उहाँको भनाइ छ ।