राजन रावत
हुम्ला, कात्तिक २० गते । नाम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीको तुम्लिङमा फोन सम्पर्क गर्न अग्लो डाँडामा जानुपर्ने बाध्यता छ ।
मोबाइल सम्पर्क नभएपछि दुई घण्टा पैदल हिँडेर अग्लो डाँडामा पुगेको फोन सम्पर्क गर्नुपरेको हो। तुम्लिङ पुगेर फोन सम्पर्क नभएपछि अग्लो डाँडामा पुगेर सञ्चार सम्पर्क गर्नुपरेको लाप्चा घुम्न पुग्नुभएका आन्तरिक पर्यटक मन्दिर सिंहले बताउनुभयो ।
सो स्थान बाहेक अन्यत्र कतैबाट पनि सञ्चार सम्पर्क हुन सक्दैन । तुम्लिङबाट दुई घण्टा पैदल हिँडेर पुगे पछि मात्र सो स्थानमा सञ्चार सम्पर्क हुने गरेको अनुभव उहाँले सुनाउनुभयो ।
तुम्लिङ र ताक्चीमा भने सञ्चार सम्पर्क हुन नसक्ने भएको कारण विशेष काम परेका पर्यटकहरू र त्यहाँका स्थानीय उक्त क्षेत्रमा पुगेर सञ्चार सम्पर्क गर्ने गर्दै आउनुभएको छ ।
तम्लिङबाट सञ्चार सम्पर्क हुने डाँडामा गाडीमा गए तीन हजार भाडा तिर्नुपर्छ । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ निक्कै लामो प्रयासपछि सञ्चार सम्पर्क हुने डाँडा पत्ता लागेको बताउँदै लिमीका तीन गाउँ बाहेक ताक्ची, तुम्लिङ, लाप्चामा फोन सम्पर्क हुन नसक्ने बताउनुभयो ।
लिमीको हल्जी गाउँ माथिको नेटवर्कले पूर्वी भागमा काम गर्न नसकेको कारण सञ्चार सम्पर्क हुन नसक्ने उहाँले बताउनुभयो । सो डाँडामा फोर जी सेवा पनि राम्रोसँग गर्ने गर्छ ।
तुुम्लिङ र ताक्चीका होटेल व्यवसायीले छ किलो मिटरभित्र काम गर्न सक्ने वाक्की ट्वाकीको व्यवस्था गर्नुभएको छ । स्थानीयले त्यसैबाट पनि काम चलाउने गरिएको उहाँले बताउनुभयो ।
उक्त डाँडाबाट आधा घण्टा हिडेर गएपछि लिमीको जाङ गाउँ छ । सो गाउँमा भने सञ्चार सम्पर्क भने हुने गर्छ ।