• १९ कात्तिक २०८२, बुधबार

सत्यवती मेलामा दर्शक झुमे सोरठीमा

blog

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), कात्तिक १९ गते । नेपाल सरकारको सय पर्यटकीय गन्तव्य मध्येमा पर्ने गुल्मीको सत्यवती क्षेत्र प्रशिद्ध पर्यटकीय क्षेत्र मानिन्छ । चिच्याएर वर माग्ने धार्मिक क्षेत्रको रूपमा रहेको सत्यवती मेलामा बिहानैदेखि दर्शनार्थीहरूको भिड लागेको छ । 

मेलाको अवसरमा सत्यवति र कालीगण्डकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । बिहानैबाट पूजा र सोरठी, मारुनी, भैलो लगायतका सांस्कृतिक कलामा दर्शक झुम्न थालेका छन् । सत्यवती बजै प्राचिनकालमा पारकोटे राजा रितुवर्णका पत्नी थिइन् । किम्बदन्तीअनुसार तान्त्रिक विद्यामा निपुर्ण रहेकी सत्यवती बजैका मालिका, कालिका, मनकामना र आलमदेवी गरी पाँच दिदीबहिनी थिए र सत्यवती बजै सबैभन्दा जेठी थिइन् । त्यसैकारण सत्यवती क्षेत्रलाई बुढी सत्यवती क्षेत्र पनि भन्ने गरिएको सत्यवती गाउँपालिका–३ का स्थानीय तथा पूजारी यमबहादुर तरामुले बताउनुभयो ।

उहाँका अनुसार नेपाल एकीकरणको बेला पदच्युत भएका राजा रितुवर्णलाई एकदिन मृगको सिकार गर्न मन भएछ । सिकारका लागि निस्केका राजाले  मृगलाई बाँणले हाने । त्यो बेला मृगको रूप धारण गरेर तालमा नुहाई रहेकाले बाँणले बजैको कानमा लागेर छेदन गरेछ । बजैको कानमा धनुषबाँणले लागेपछि कान नसुन्ने भएकाले वर माग्दा चिच्याएर माग्ने चलन रहेको तरामुले बताउनुभयो । 

पछि बाँण लागेकी बजैको त्यही देहवसान भयो । ताल पनि छेदन भएपछी सुकेको कुरा पाकापुस्ताहरू बताउँछन् । सोही कारण कान र आँखा दुखेमा समेत सत्यवती बजैलाई परेवा चढाएपछि सन्चो हुन्छ भन्ने चलन अझै पनि रहेको छ । यहाँ हरेक वर्ष कार्तिक शुक्लपक्ष चतुर्दशी साँझदेखि डम्फु मादल, बाजागाजा र खाजा बोकेर मेला भर्न जाने, रातभर जागिरात बस्ने र भोलिपल्ट बिहानैबाट सत्यवती बजैसित चिच्याएर वर माग्ने, परेवा उडाउने, बोका, कुखुराको बलि दिने तथा दिनभर स्थानीय कला संस्कृतिका आधारित सोरठी, कौरा, झ्याउँरे, लगायतका गीत सङ्गीतमा झुम्न हजारौं दर्शनार्थीहरू आउने गरेको सत्यवती गाउँपालिका-३, ठुलो लुम्पेकका स्थानीय अगुवा खोमा तरामुले बताउनुभयो ।

स्थानीयका अनुसार लुम्बिनीको सबैभन्दा अग्लो शिखर थाप्ले लेक हो । यही क्षेत्रमा पर्यटकीय विकासका अनेक सम्भावना बोकेका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा र देवस्थलहरू रहेका छन् । सत्यवती क्षेत्रलाई नेपाल सरकारले २०७५ कात्तिक १५ गते स्थापित तथा प्रवर्धन गरिनु पर्ने गन्तव्यको रूपमा घोषणा गरेको थियो ।   

सत्यवती गाउँपालिकामा समग्र नेपालको झल्को दिने विभिन्न जातजातिको कला, संस्कृति, रहनसहन, प्राकृतिक मनोरम दृश्यहरू, झरनाहरु, विश्वप्रख्यात भिक्टोरी क्रस उपाधि चुमेका वीर गोर्खाहरूको जन्मभूमि हो । प्राचिन मगर संस्कृतिमा आधारित झुमारानी, जिवैमामै, ठुलोनाच सोरठी, कौरा, सालैजो, झ्याउँरे, भजन कीर्तनजस्ता लोकसांस्कृतिक सम्पदा र सम्पत्तिको रूपमा रहेको सत्यवती गाउँपालिका –३, ठुलो लुम्पेकका वडाध्यक्ष जितबहादुर तरामुले बताउनुभयो।

धार्मिक सांस्कृतिक सम्पदाको रूपमा रहेको सत्यवती क्षेत्र प्राकृतिक रूपमा अद्भुत, मनोरम र सुन्दर रहेको छ । यहाँबाट धौलागिरि, माच्छापुच्छ्रे र अन्नपुर्ण हिमालयको मनमोहक श्रृङ्खलाको दृश्य हेर्न सकिन्छ । सत्यवती क्षेत्रमा थाप्ले, मसिना दह, हिलेसिद्धबाबा, लुम्पेकी थानी, हचिङ्कोट दरबार, लामथुडी झरना, आलम थान, हुक्रायो सेतिनाग लगायतका महत्त्वपूर्ण सम्पदा क्षेत्रहरू समेत घुम्न सकिने वडाध्यक्ष तरामुले बताउनुभयो । 

मगर समुदायको बाहुल्य रहेको सत्यवती क्षेत्रमा परम्परागत र रैथाने कृषि बालीका अर्गानिक मगरी खाना परिकारको फरक तर मिठो स्वादको खाना समेतले प्रख्यात रहेको छ ।