• १३ साउन २०८१, आइतबार

खोटाङमा ५० प्रतिशत मात्रै रोपाइँ

blog

रोपाइँ गर्दै रावाबेसी गाउँपालिका –६ हौँचुरका किसान । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई 

खोटाङ, साउन १० गते । देशभर महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोगले खोटाङमा रोपाइँ प्रभावित भएको छ । लम्पी स्कीन रोगले जोत्ने गोरु मरेपछि धान हरियो हुनुपर्ने समयमा किसानका खेत बाँझै छन् ।  

जिल्लामा गतवर्षको साउन २ गतेसम्म ७० प्रतिशत रोपाइँ सकिएको थियो । यो वर्ष गोरुमा लम्पी स्कीन रोग फैलिएपछि साउन पहिलो हप्ता बितिसक्दा ५० प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । खेत जोत्ने यान्त्रीकरण सबै किसानको पहुँचमा नहुँदा रोगले गोरु मरेपछि खेत रोपाइँ प्रभावित भएको हो । 

रोगको महामारीसँगै समयमा वर्षा नहुनु पनि रोपाइँ ढिला हुनुको एउटा कारण बनेको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो । 

कुल १२ हजार ८९८ हेक्टर खेतमा धानखेती हुँदैआएको खोटाङमा हालसम्म ६ हजार ४४९ हेक्टर खेतमा मात्र रोपाइँ सम्पन्न भएको छ । जसले गर्दा यस वर्ष धान उत्पादनमा गिरावट आउने सम्भावना देखिएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिका र सबैभन्दा कम रावाबेसी गाउँपालिकामा रोपाइँ भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७५ प्रतिशत र रावाबेसी गाउँपालिकामा २५ प्रतिशत खेतमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६० प्रतिशत, खोटेहाङ गाउँपालिकामा ६०, साकेला गाउँपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा ५०, जन्तेढुङ्गा गाउँपालिकामा ५०, केपिलासगढी गाउँपालिकामा ४५, बराहपोखरी गाउँपालिकामा ४० प्रतिशत र ऐंसेलुखर्क गाउँपालिकामा ४० प्रतिशत रोपाइँ सकिएको केन्द्रको भनाइ छ ।  

मानो रोपेर मुरी उब्जाउने समयमा गोरु नै मरेपछि किसान चिन्तित बनेका छन् । रोग लागेर हलगोरु मर्दा पनि तीन तहका सरकार मौन बसेको किसानको गुनासो छ । अधिकांश गोरु मरेपछि बचेका गोरु आलोपालो जोत्दै किसान अहिले रोपाइँमा ब्यस्त छन् । 

लम्पी स्कीन रोगबाट खोटाङमा हालसम्म ३०० भन्दा बढी गाईगोरु मरिसकेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङ दिक्तेलले जनाएको छ । स्थानीय तहहरुले रोग नियन्त्रण गर्न पशु प्राविधिक खटाएको भनिए पनि किसानहरुले जानकारी नभएको बताएका छन् ।