• १३ साउन २०८१, आइतबार

माटोको उर्वराशक्ति घट्दाे

blog

परीक्षणपश्चात् माटोको अवस्थाबारे नगरप्रमुख महतो र उपप्रमुख बुढाथोकीलाई जानकारी गराउँदै माटो विज्ञ सिंह । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन ९ गते । धनुषाको मिथिला नगरपालिकाभित्रका खेतीयोग्य माटोको उर्वराशक्ति कमजोर बन्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ मधेश प्रदेशले मिथिला नगरपालिका कृषि शाखाको समन्वयमा शिविर सञ्चालन गरेर माटोको परीक्षण गरेको हो । 

तीन दिनसम्म चलेको उक्त शिविरमा तीन सय ३७ स्थानको माटोको परीक्षण गरिएको छ । माटो परीक्षणको नतिजा अनुसार नगरपालिकाभित्रका खेतीयोग्य ६५ प्रतिशत माटोको उर्वराशक्ति कमजोर अवस्थामा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला मधेश प्रदेशका प्रमुख सुनिल सिंहले बताउनुभयो । 

“किसानको खेतबारीबाट माटो ल्याएर परीक्षण गर्दा माटोमा अम्लीयपनमा एकरुपता देखिएन । सामान्यता माटोमा पिएचको मात्रा छ दशमलव पाँचदेखि सात दशमलव पाँचसम्मलाई उत्पादनका लागि उपयुक्त मानिन्छ । तर, यहाँ चार दशमलव पाँचदेखि आठ दशमलव पाँच पिएचसम्म देखियो । उल्लेखित मात्राभन्दा तल भए खराब र बढी भए पनि बिग्रिएको मानिन्छ”, उहाँले भन्नुभयो । 

रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग एवम् बालि चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना घटबढ हुन गई उर्वराशक्तिमा ह्रास आउने गरेको प्रमुख सिंहको भनाइ छ । माटोमा उर्वराशक्ति कमजोर हुनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । उहाँले माटोमा सुधार ल्याउन प्राङ्गारिक मल, कृषि चुन र ढैँचा मलको प्रयोग बढाउन मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख सुनीतासिंह बुढाथोकीलाई सुझाव दिनुभयो । प्रमुख सिंहले किसान पनि जागरुक बनाउँदै माटोको अवस्था हेरेर एक रोपनीमा ३५ देखि ७० किलोका दरले कृषि चुन प्रयोग गर्न सकिने भन्नुभयो । 

मिथिला नगरपालिका कृषि शाखाका प्राविधिक उमेश महतोले अहिलेको माटोको परीक्षणबाट आएको नतिजाअनुसार अन्नबाली उत्पादनमा कमी आउने बताउनुभयो । किसानले धान, मकै, गुहँलगायत तरकारी बालीको उत्पादनमा बढाउन बिना मापदण्ड युरिया र डिएपीलगायतका मलसँगै कीटनाशक औषधीको प्रयोग गर्नाले माटोको अवस्था बिग्रिएको छ। 

परीक्षणपछि आवश्यक मात्रामा मलको प्रयोग गर्दा माटोलाई चाहिने आवश्यक तत्व परिपूर्ति हुनुका साथै माटोको उर्वराशक्ति कमजोर हुनबाट बचाउन सकिने उहाँले जानकारी दिनुभयो ।