विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस १० गते । सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरुविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लगाउँदै तीन वटा संगठनले राजविराज निवासी अफरोज आलममाथि कानुनी कारबाहीको माग गरेका छन् ।
राष्ट्रिय बजरंग दल, हिन्दु सम्राट सेना र श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै कारवाहीको माग गरेका हुन् ।
ज्ञापनपत्रमा राजविराज नगरपालिका वडा नम्बर १ रहमतपुर टोल निवासी अफरोज आलमले सामाजिक सञ्जालमार्फत भगवान् श्रीकृष्णलाई लक्षित गरी अत्यन्त अश्लील, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेको आरोप लगाइएको छ ।
राष्ट्रिय बजरंग दल सप्तरीका अध्यक्ष आकाश यादव (अमित), हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दास र श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीका संयोजक अनिल यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उक्त अभिव्यक्तिले सम्पूर्ण हिन्दु समुदायको धार्मिक भावना गम्भीर रुपमा आहत भएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, “भगवान् श्रीकृष्ण कुनै एक समुदायका मात्र नभई धर्म, मर्यादा, प्रेम, करुणा र मानव मूल्यका प्रतीक हुनुहुन्छ । यस्ता पवित्र आस्थामाथि गरिने तुच्छ टिप्पणीले करोडौँ सनातनी श्रद्धालुहरूको भावना आहत हुनुका साथै समाजमा धार्मिक सद्भाव बिगार्ने प्रयास भएको छ ।”
नेपालको संविधान, प्रचलित कानुन तथा फौजदारी ऐनअनुसार धार्मिक भावना आहत पार्ने, धार्मिक सद्भाव भड्काउने तथा घृणा र विभाजन फैलाउने कार्य दण्डनीय अपराध हुने उल्लेख गर्दै ज्ञापनपत्रमा सम्बन्धित व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
“हामी शान्ति, सहअस्तित्व र धार्मिक सहिष्णुतामा दृढ विश्वास राख्छौँ । तर धर्ममाथिको अपमान, आस्थामाथिको आक्रमण र समाजमा विष फैलाउने कार्यप्रति कुनै सम्झौता हुँदैन,” ज्ञापनपत्रमा भनिएको छ ।
उक्त विषयमा आवश्यक छानबिन गरी कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको छ ।