नवीनराज कुइँकेल
लमजुङ, पुस १० गते । लमजुङको दोर्दी गाउँपालिकामा रहेका होमस्टे सञ्चालकलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ ।
दोर्दी गाउँपालिका-७, माथिल्लो दैलुङमा बुधबारबाट सुरु भएको पाँच दिने तालिममा दोर्दी गाउँपालिकामा होमस्टे सुरु गरेका गाउँका होमस्टे सञ्चालकहरू सहभागी भएका छन् । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दोर्दी गाउँपालिकामा यसअघि होमस्टेलाई प्रवर्धन गर्न ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रमको सुरुवात भएकोमा अहिले होमस्टे सञ्चालकलाई व्यवस्थापन तथा खाना बताउने तालिम दिन थालेको बताउनु भयो । उहाँले पर्यटकलाई स्वागत गर्न र पर्यटकसँग बोल्दा नलजाउन आग्रह गर्नु भयो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले पर्यटन प्रवर्धनका माध्ययमबाट गाउँघरका नागरिकलाई स्वरोजगार बनाउन, आर्थिक उपार्जन गराउन तथा गाउँका नागरिकलाई गाउँमै बस्ने वातावरण बनाउन गाउँपालिकाले होमस्टे सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्दै आएको बताउनु भयो । उहाँले गाउँको आर्थिक उन्नति र विकासका लागि गाउँमै स्वरोजगार आवश्यक रहेको बताउनु भयो ।
दीगो पर्यटन परियोजनाको समन्वयमा दोर्दी गाउँपालिकाले आयोजना गरेको होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम पुस १३ गतेसम्म सञ्चालन हुने छ । तालिममा होमस्टे महासङ्घ गण्डकी इन्चार्ज चुडामणि पौडेल र होटल व्यवस्थापन प्रशिक्षण केन्द्रका सञ्चालक मोहन गजुरेलले प्रशिक्षण दिनु भएको छ ।
दोर्दी गाउँपालिकामा वडा नं. २ को सल्लाबोट, ३ को श्रीभन्ज्याङ लामागाउँ, ६ को ताँजे, ७ को लप्सीबोट र दैलुङ, ८ को टाप गाउँ र खिन्चोक गाउँ र ९ को माझगाउँ गरी ७ वटा गाउँमा होमस्टेहरू दर्ता गरी सञ्चालनमा ल्याइएका छन् । ती होमस्टे गाउँबाट ३० जना बढी होमस्टे सञ्चालकहरू तालिममा सहभागी भएको गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले जानकारी दिनुभयो ।