सन्तोष दहित
दाङ, पुस १० गते । थारू समुदायको साझा संस्था थारू कल्याणकारिणी सभा (थाकस)ले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । थारू कल्याणकारिणी सभाको हालै बसेको केन्द्रीय कमिटी बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा अधिवक्ता हल्लु प्रसाद चौधरी (दाङ–देउखुरी), फोनिराम चौधरी (कैलाली), सत्यनारायण चौधरी (रूपन्देही) र सुरेन्द्र चौधरी (सुनसरी) रहनु भएको छ ।
अधिवक्ता हल्लुप्रसाद चौधरीलाई पश्चिम नेपालका मटाँवा, बरघर र भलमन्साहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा मनोनित गरिएको कोषाध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
यसैबिच, बैठकमा सहयोग गर्ने सम्पूर्ण केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, विदेश विभागका संस्थापकहरू, जिल्ला सभापतिहरू तथा विभागीय संयोजकहरूप्रति थारू कल्याणकारिणी सभाले हार्दिक आभार व्यक्त गरेको छ ।
वि.सं. २००५ सालमा स्थापना भएको थारू कल्याणकारिणी सभा थारू समुदायको उत्थानका साथै देशभरका थारूहरूलाई एकीकृत गर्दै समुदायका हक अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।