• १ जेठ २०८२, बिहिबार

मलङ्गवा बजारको सडक कालोपत्रे

blog

भर्खरै कालोपत्रे भएको मलङ्गवा बजारको सडक । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन ८ गते । सर्लाही सदरमुकाम मलङ्गवामा बजार क्षेत्रको मुख्य सडक लामो प्रतीक्षापछि कालोपत्रे हुँदा स्थानीय खुसी भएका छन् । सडक फराकिलो बनाएर मलङ्गवाको कृष्णामणि माध्यमिक विद्यालयदेखि राजश्री सिनेमा हलसम्मको सडक कालोपत्रेपछि आवतजावतमा सहज भएको हो ।

सडकको मापदण्डमा पर्ने घर तथा अन्य संरचना हटाउन नसक्दा मलङ्गवा बजार क्षेत्रको मुख्य सडक कालोपत्रे हुन नसकी अलपत्र अवस्थामा थियो । नगरप्रमुख नागेन्द्रप्रसाद यादवले सडकमा पर्ने आफ्नै घर भत्काएर ‘साइड क्लियर’ गरेपछि स्थानीयले समेत आ–आफ्नो घर र अन्य संरचना भत्काउन सहयोग गर्नासाथ कालोपत्रेको काम पुरा भएको हो ।

मलङ्गवा नगरपालिका–८, का स्थानीय रवीन्द्र जैसवालले सडक फराकिलो पारेर कालोपत्रे गरिएसँगै आउजाउमा सहजता भएको बताउनुभयो । “यसअघि सडक असाध्यै साँघुरो र धुलाम्मे हुँदा बजार क्षेत्र निकै कुरूप देखिथ्यो । अहिले कालोपत्रे भएपछि फराकिलो र केही व्यवस्थित बनेको देखिन्छ,” जैसवालले भन्नुभयो, “पैदलयात्रीलाई हिँडडुल गर्न तथा गाडीघोडा चलाउन पनि सहज भएको छ ।” 

सडक कालोपत्रे भएपछि सडक छेउछाउ घर भएका स्थानीय र व्यापारीले धुलोबाट मुक्ति पाएका छन् । सदरमुकाम भएर पनि मलङ्गवाको सडक व्यवस्थित हुन नसकेको गुनासो आइरहन्छ । 

मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले सङ्घीय आयोजना कार्यान्वयन इकाई जनकपुरमार्फत मुख्य बजार क्षेत्रको सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो । 

“सङ्घीय सरकारको क्रमागत बजेटबाट सडक कालोपत्रे गरिएको हो,” प्रमुख प्रशासकीय अधिकृत गौतमले भन्नुभयो, “हामीले साइड क्लियर गराएर दिएपछि काम भयो, कालोपत्रेको काम पूरा भएपश्चात् नगरको सौन्दर्यतामा समेत टेवा पुगेको छ ।” 

अझै केही घर भत्काउने विषयमा विवाद हुँदा नगरपालिका चोक र त्यसआसपासको सडक भने कालोपत्रे हुन सकेको छैन ।