• ३१ जेठ २०८१, बिहिबार

रोजाइ विद्यार्थीकै

blog

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको तीन साता बित्न लागेको छ । यसबिचमा विद्यार्थी तथा अभिभावक कक्षा ११ मा भर्ना हुने शैक्षिक संस्थाको खोजीमा लागिसकेका छन् । कतिपय शैक्षिक संस्थाले विद्यार्थी भर्ना प्रक्रियालाई अन्तिम चरणमा पु-याइसकेका छन् भने केहीमा भर्ना प्रक्रिया जारी छ । 

तैपनि विद्यार्थी तथा अभिभावकसमेत कक्षा ११ मा आफूले पढ्ने विषय कस्तो होला ? यो विषय पढेपछि उच्च शिक्षामा आफूले रोजेको विषय पढ्न पाइएला कि नपाइएला वा आफूले रोजेको शैक्षिक संस्थाले स्तरीय र सिपमूलक शिक्षा दिन्छ कि दिँदैन भन्ने दुविधामा छन् । त्योभन्दा ठुलो दुविधा विद्यार्थीलाई अहिले परीक्षामा आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ले पनि खडा गरेको छ । राम्रो ग्रेड ल्याउनेले पढ्ने विषय राम्रो हुने र तल्लो ग्रेड ल्याउनेले पढ्ने विषय नराम्रो हुने भन्ने आम बुझाइले यसलाई थप मलजल गरेको छ । यो भ्रमबाट मुक्त भएर मात्र विद्यार्थी शैक्षिक संस्थाको परामर्शमा जानु उपयुक्त हुन्छ । 

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन या अन्य जे विषय पढे पनि यी कुनै सङ्काय ठुलो वा बढी महत्त्वपूर्ण र अर्को सङ्काय सानो वा कम महत्त्वपूर्ण भन्ने छैन । यी विषयमध्ये कुनै पहिलो दर्जा र अर्को दोस्रो दर्जाको होइन। सबै विषय आआफ्ना विधामा उत्तिकै महत्त्वपूर्ण छन् । शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले जिपिएको आधारमा कक्षा ११ मा भर्नाका लागि विद्यार्थीको चाख र रुचिलाई कुण्ठित गर्न नहुने सुझाव दिनुभयो । पढाइमा राम्रा विद्यार्थीका लागि सबै विषयमा रोजगारी र पेसागत विकासको उत्तिकै सम्भावना रहने बताउँदै उहाँले भन्नुभयो, “मुख्य कुरा विद्यार्थीको चाख र रुचि के हो भन्ने कुरा यकिन गर्न सक्नु पर्छ । समाजको ट्रेन्ड र त्यसैका आधारमा सिर्जित पारिवारिक दबाब विद्यार्थीको शैक्षिक र पेसागत उपलब्धिका लागि प्रत्युत्पादक बन्न सक्छ ।”

विद्यार्थीलाई कक्षा ११ र १२ मा पढाइ हुने विषय तथा त्यसपछि उच्च शिक्षामा पढ्न पाइने अन्य विषयबारे आधारभूत ज्ञान र त्यससँग सम्बन्धित पेसाको कामको प्रकृतिका बारेमा विद्यार्थीलाई सुसूचित गराउन आवश्यक रहेको शिक्षाविद् डा. कोइरालाको सुझाव छ । पछिल्लो समय बजारमा गैरप्राविधिक विषयभन्दा प्राविधिक विषय ‘राम्रा’ भन्ने बुझाइले जरो गाडेको छ, अर्थात् बजारमा प्रशस्तै खुलेका स्कुल र सामाजिक सञ्जालदेखि मूलधारका सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण भइरहेका प्रचारप्रसारका सामग्रीले पनि विद्यार्थी अभिभावकलाई एक प्रकारको भ्रम नै छरेको छ । यही भ्रमका कारण कतिपय विद्यार्थीले एसइईमा आएको ग्रेडका आधारमा पनि आफूलाई अब्बल र कमजोर ठान्ने गरेका छन् । यी सबै भ्रमलाई चिरेर विद्यार्थीको चाख र रुचिलाई कुण्ठित गर्न नहुने यस क्षेत्रका जानकारहरूको भनाइ छ । विषय छान्दा सबैभन्दा पहिले विद्यार्थीले आफ्नो रुचि बुझ्नुपर्छ । आफू के पढ्ने, कुन विधामा जाने वा कुन विधामा रुचि छ भन्ने स्पष्ट भए त्यो उद्देश्य हासिल गर्न के पढ्ने, कुन बाटो हिँड्ने थप स्पष्ट हुन सक्ने जानकारहरूको भनाइ छ । 

अहिले नै उद्देश्य पहिल्याउन गाह्रो परेको छ भने आफू कुन कुन विषय पढ्दा रमाउँछु र ती विषय कुन समूहमा पर्छन् भनेर बुझ्न जरुरी छ। त्यसैले विषय छान्दा आफ्नो रुचिलाई पहिल्याउनु नै सबैभन्दा महत्त्वपूर्ण आधार हो। विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले कक्षा ११ को कोर्स एकलपथीय भएकाले विद्यार्थीको रुचि र क्षमता हेरेर विषय छनोट गर्नुपर्ने बताउनुभयो । “म के बन्ने ? रुचि र क्षमताअनुसार मैले कुन विषय पढ्नुपर्छ, त्यसमा विद्यार्थीले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो, “यो मामलामा अभिभावक तथा अग्रजहरूले सुझाव दिन सक्छन् तर विद्यार्थीलाई बाध्य पार्नु हुन्न ।”

अहिले ११ र १२ लाई विद्यालय तहकै शिक्षामा ल्याइएको छ तर पनि अधिकांश विद्यार्थी, स्कुल तथा सञ्चालकदेखि अभिभावकसम्मको बुझाइ भने अहिले पनि सङ्कायमै छ । सङ्काय हुन्थ्यो भने निश्चित विषय मात्र राखिएका हुन्थे । सङ्काय नभएका कारण ११ र १२ मा विषय छनोटमा ध्यान दिइएन भने उच्च शिक्षा अध्ययनमा भने समस्या पर्न पनि सक्छ । तसर्थ कक्षा ११ र १२ मा पढेको विषयले नै उच्च शिक्षाको ढोका खुल्ने हुनाले उच्च शिक्षामा के पढ्ने हो त्यसैका आधारमा विषय छनोट गर्नुपर्ने पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतमले बताउनुभयो । उहाँले स्नातक तहमा पढ्न चाहेको सङ्काय र विषयलाई आधार मानेर कक्षा ११ र १२ मा विषय छनोट गर्न सकेको अवस्थामा विद्यार्थीलाई सहज हुने बताउनुभयो । 

के के छन् विषय ?

कक्षा ११ मा नेपाली, अङ्ग्रेजी तथा सामाजिक अध्ययन गरेर तीन वटा अनिवार्य विषय छन् भने अरू ऐच्छिक विषय छन् । ऐच्छिक विषयलाई चार खण्डमा विभाजन गरिएको छ । जस अन्तर्गत ७९ वटा विषय छन् । ७९ वटा विषयबाट तीन वटा छान्नुपर्ने भएकाले विद्यार्थीलाई केही समस्या पर्न सक्छ । यस्तो अवस्थामा विद्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सम्बन्धित स्थानीय तह, रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट कार्यव्रmम गरेर विद्यार्थीलाई विषयको महत्त्वबारे परामर्श दिनुपर्ने बताउँदै शिक्षाविद् डा. कोइरालाले यसले विषय छनोटमा विद्यार्थीलाई सहज हुने उल्लेख गर्नुभयो । विद्यार्थीले ऐच्छिक खण्ड अन्तर्गत पनि न्यूनतम तीन वटा विषय छान्नुपर्ने हुन्छ । साथै एउटै समूहबाट दुईवटा विषय छनोट गर्न मिल्दैन । 

एउटा समूहबाट एउटा विषय मात्रै लिनुपर्छ । चौथो समूहबाट पनि विद्यार्थीले चाहेमा पढ्न त पाउँछन् तर विद्यार्थीलाई भार धेरै पर्ने भएकाले चौथो समूहबाट पढ्ने सम्भावना कम हुन्छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीमध्ये धेरैजसो वाणिज्य समूह अन्तर्गतका रहने गरेका छन् तर विद्यार्थीले एसइईमा न्यूनतम १.६ जिपिए ल्याएको अवस्थामा आफूले रोजेको विषय पढ्न पाउने राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारिसकेको छ । 

कुन खण्डमा कुन विषय ?

पहिलो खण्डमा ऐच्छिक पहिलो पत्रमा १५ वटा विषय छन् । भौतिक विज्ञान, लेखाका सिद्धान्तहरू, ग्रामीण विकास, विधिशास्त्र र कानुनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान, बालविकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैङ्गिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बाली विज्ञान, प्राकृतिक चिकित्सा, मानवमूल्य शिक्षा र मूर्तिकला पढ्न सकिन्छ । 

त्यस्तै दोस्रो खण्डमा १४ वटा विषय छन् । रसायन विज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, भाषाविज्ञान, व्यवसाय अध्ययन, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसङ्ख्या अध्ययन, बागवानी, खाद्यपोषण, नृत्य यो खण्डमा पर्छन् । तेस्रो खण्ड अन्तर्गत ३० वटा विषय छन् । जीव विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, कम्प्युटर विज्ञान, बुढ्यौली शिक्षा तथा स्याहार शिक्षा, योग तथा अध्ययन, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, आमसञ्चार अध्ययन, संस्कृति, फेसन डिजाइनिङ, मूर्तिकला, पशुपालन, पन्छीपालन र माछापालन, नेपाली, अङ्ग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापानिज, कोरियन, उर्दु, फ्रेन्च, हिबु्र, अरेबिक, संस्कृत, पाककला र बजारशास्त्र यो खण्डमा छन् । 

त्यस्तै चौथो खण्डमा २० वटा विषय छन् । गणित, प्रायोगिक गणित, वाणिज्य गणित, मानवअधिकार, पुस्तकालय तथा सूचना विज्ञान, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध दर्शन, प्रायोगिक कला, गायन, चित्रकला, रेशमखेती र मौरीपालन, सौन्दर्यकला र केसकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ र वायरिङ, आन्तरिक सजावट र होटल व्यवस्थापनलगायत यो खण्डमा पर्छन् ।  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।