नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक २२ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वैदिक सनातन धार्मका हिसाबले महत्त्वपूर्ण रहेको गण्डक क्षेत्रमा धार्मिक गतिविधि बढेको बताउनुभएको छ । ढकालले मानव जातीका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएको बताउनुभएको छ । उहाँले धर्मसँग मानवीय भावनालाई जोडेर बागलुङ भूमिलाई थप चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।
मानव सेवा आश्रम बागलुङको शाखाको भवन निर्माणका लागि आयोजना गरेको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञको शुक्रबार उद्घाटनपछि बोल्दै ढकालले मानवीय भावनालाई धर्मसँग जोडेर बागलुङलाई चिनाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले महायज्ञमार्फत मानवताको मन्दिर निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
“मानवीय भावनको पुण्य कार्यमा सबैको सहयोग रहन्छ, मेरो जन्मभूमिमा मानवताको मन्दिर बन्न लाएको छ, पवित्र कालीगण्डकी तट जुन मुक्तिनाथ र दामोदरकुण्डको काखमा छ” ढकालले भन्नुभयो “मानवताको मन्दिर निर्माणमा मेरो देखिनेगरी सहयोग रहन्छ, आश्रमको भवन निर्माणमा व्यक्तिगत र संस्थागत रुपमा सहभागी हुन्छु, मानवजातीको उद्दार र सेवाका लागि खट्नुभएको सबैमा धन्यवाद दिन चाहान्छु ।”
कालीगण्डकी नदी किनारमा मानवसेवा आश्रमको भवन सम्पन्नताका लागि आफूले देखिने गरी सहयोग गर्ने अध्यक्ष ढकालले प्रतिबद्धता जनाउनुभएको छ । पवित्र कार्यका लागि सरिक हुन पाउदा आफू खुसी भएको ढकालले बतानुभयो । उहाँले मानव सेवा आश्रममा लाग्नुभएका मानव जिवनका प्रेरणाका स्रोत तथा मानव सेवाका अभियान्तालाई यसैगरी मानवीय भावनामा लाग्ने प्रेरणा जागोस् भन्ने चाहेको बताउनुहुन्छ । महायज्ञमार्फत निर्माण गरिने पूर्वाधार पवित्र रहने उहाँको भनाइ छ ।
विश्वका हिन्दु धर्मावलम्बीहरुका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र दामोदर कुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा सुप्रसिद्ध तीर्थस्थललाई मानव सेवा आश्रमले जोड्नुपर्ने बताउनुभयो । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले चिरेको बागलुङ धार्मिक पर्यटनको क्षेत्रमा अघि बढेको बताउदै मानवीयताको मन्दिर निर्माणमा सबैले सहयोग गर्न आवश्यक रहेको ढकालको भनाइ छ । आश्रमका अभियान्ता रामजी अधिकारी, सुमिरा लामासहित सबैलाई थव मानवीय क्षेत्रमा काम गर्न ढकालले आग्रह गर्नुभयो ।
“आश्रमले नेपालका धेरै जिल्लामा भवन निर्माण गरी मानव सेवा प्रदान गर्दै आएको कुरा मैले सुन्दै पनि आएको थिए” उहाँले भन्नुभयो “आफ्नो जन्मभूमिमा मानव सेवा आश्रमको भवनलाई सहयोग गर्न पाउनु गौरवको कुरा हो ।” सबैभन्दा ठुलो सेवा भनेको मानव सेवा रहेकाले यस्तो पवित्र कामको अगुवाइ गर्दै आएकोमा मानव सेवा आश्रमको समग्र टिमलाई अध्यक्ष ढकालले धन्यवाद दिनुभयो ।
सडकमा अलपत्र परेका, बेसहारा भएका, सहयोगापेक्षी, अभिभावकविहीन र अलपत्र परेका जस्को कोही छैन त्यस्को मानव सेवा आश्रम छ भन्ने सन्देश नेपाल भर पु¥याउन आवश्यक रहेको उहाँको भनाइ छ । २०७२ सालमा बागलुङ शाखाको स्थापना भएको मानवसेवा आश्रम अहिले भाडाको भवनमा ६४ जनालाई आश्रय प्रदान गर्दै आएको छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा २०७८ देखि निर्माण थालिएको मानव सेवा आश्रमको भवन निर्माणमा पाँच करोड खर्च भइसकेको छ भने भवन सम्पन्नताको लागि थपचार करोड खर्च लाग्नेछ । महायज्ञबाट सङ्कलन भएको रकमले भवनलाई पूर्णता दिँदै अक्षयकोष श्रीवृद्धि गर्ने लक्ष्य लिइएको छ । कात्तिक २८ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथा वाचकको रुपमा भागवत् भाष्कर कमलनयन गौतम रहनुभएको छ ।