• २२ कात्तिक २०८२, शनिबार

रामग्राम स्तुपको प्रवर्धनमा विश्व बैंकको चासो

blog

रामग्राम स्तुपमा विश्व बैंकका प्रतिनिधि र रामग्राम नगरपालिकाका जनप्रतिनिधि लगायत सरोकारवालाबिच भएको छलफल । तस्बिरः बिकास अधिकारी

बिकास अधिकारी
पश्चिम नवलपरासी, कात्तिक २२ गते ।
रामग्रामका विभिन्न पूर्वाधार विकासमा सहयोग गर्दै आएको दातृ निकाय विश्व बैंकले रामग्राम स्तुप क्षेत्रको प्रवर्धनमा चासो देखाएको छ । स्थानीय स्तरमा रोजगारी सृजना र स्तुपको विकास र प्रवर्धनका लागि आवश्यक न्यूनतम आवश्यकताको परिपूर्ति गर्ने गरी विश्व बैंकले चासो देखाएको हो । वृहत लुम्बिनी क्षेत्र विकास आयोजनाअन्तर्गत रामग्राम स्तूपासहित बुद्ध स्थलको प्रवर्धन र रोजगारी सृजनाको सन्दर्भमा विश्व बैंकको परियोजना टोलीले रामग्रामका जनप्रतिनिधिसहित सरोकारवालासँग छलफल गरेको छ ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको अध्यक्षतामा भएको छलफलमा ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्टका टास्क टिम लिडर ईल्याड शेनफेल्डले रामग्राममा पर्यटकलाई बढिभन्दा बढि समय बिताउन गर्नुपर्ने कार्यका विषयमा छलफल गर्नुभएको थियो ।

सो क्रममा नगर प्रमुख यादवले नगरपालिकाले पनि स्तुपाको प्रवर्धनका विभिन्न कार्यक्रम सुरुवात गरेको र पर्यटकको बसाइ लम्ब्याउन ध्यान केन्द्र र आवास निर्माणको आवश्यकता रहेकोमा जोड दिनुभयो । स्थानीयलाई पर्यटक केन्द्रित गरेर स्थानीय उत्पादनको बिक्री वितरणमा सहभागी गराउन आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो । सो क्रममा विश्व बैंकको परियोजना टोलीले रामग्रामको आवश्यकता र पर्यटकको चाहना तथा न्यूनतम पूर्वाधार निर्माणको विषयमा चासो राखेको थियो । सो विषयमा दुवै पक्षले आन्तरिक तयारी गरेर आवश्यक योजना निर्माण परियोजना सञ्चालन गर्ने गरी आजको छलफल सकिएको प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।

रामग्राम स्तुपा सहित बुद्धसँग सम्बन्धित पर्यटकीय स्थलमा पर्यटक बढिभन्दा बढि भित्र्याउने र स्थानीयलाई उद्यमी बनाउने उद्देश्यले विश्व बैंले सङ्घीय सरकारको बृहत लुम्बिनी क्षेत्र विकास आयोजनामा लगानी गर्दै छ । जसका लागि स्थानीय तहका सरोकारवालाबिच छलफल हुँदै आएको छ । यसअघि पहिलो चरणमा भएको छलफलमा उद्योगी व्यवसायी, पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रमुख, जनप्रतिनिधि लगायत सरोकारवालाहरूले पर्यटन प्रवर्धनसँगै स्थानीय स्तरमा कसरी उद्यम सृजना गर्न सकिन्छ भन्ने विषयमा सुझाव प्रस्तुत गरेका थिए ।

पर्यटकलाई रामग्राम स्तुपा लगायतका क्षेत्रमा कसरी बढि समय व्यथित गर्ने वातावरण बनाउने र स्थानीय उत्पादनको पनि प्रवर्धन हुन सकोस् भन्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको रामग्राम नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ढकालले बताउनुभयो । सरकारले गौतमबुद्ध जन्मिएको स्थान लुम्बिनीलाई ‘बृहत लुम्बिनी विकास’ नामको नयाँ योजनासहित लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु, देवदह र रामग्राम नगरपालिकाको बृहत्तर विकासका लागि परियोजना सञ्चालन गर्न लागेको हो । रामग्राम स्तुप गौतम बुद्धको एक मात्र सिङ्गो अस्थिधातु सुरक्षित रहेको स्थल हो ।