नेपाल कृषिप्रधान देश हो, जसको अर्थतन्त्रमा कृषिको ठुलो हिस्सा छ । हाम्रो दैनिक भान्सामा प्रयोग हुने गुन्द्रुकदेखि प्याकेट बन्द स्न्याक्ससम्म, प्रत्येक खानेकुरा कुनै न कुनै रूपमा खाद्य विज्ञान र प्रविधिको स्पर्शबाट गुज्रिएका हुन्छन् । पछिल्ला वर्षमा देशमा खाद्य प्रविधि शिक्षा र अनुसन्धानले फड्को मार्दै गएको छ । नेपालको खाद्य सुरक्षालाई मजबुत बनाउन, आयातमा निर्भरता घटाउन र युवा पुस्तालाई नवप्रवर्तनतर्फ आकर्षित गर्न खाद्य प्रविधि शिक्षा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
खाद्य प्रविधि के हो ?
खाद्य विज्ञान भनेको खानेकुराको भौतिक, जैविक र रासायनिक संरचनाको अध्ययन गर्ने विधा हो, जसले खाना प्रशोधन र संरक्षणका सिद्धान्त उजागर गर्छ । यसले रसायन, जैवप्रविधि, इन्जिनियरिङ, सूक्ष्मजीव विज्ञान र पोषण जस्ता विविध वैज्ञानिक विषयको एकीकृत प्रयोगमार्फत खाद्यको सुरक्षा, पौष्टिकता, स्वच्छता र उपलब्धता बढाउने प्रयास गर्छ । यी वैज्ञानिक सिद्धान्तको व्यावहारिक अनुप्रयोग नै खाद्य प्रविधि हो, जस अन्तर्गत खाना छनोट, परीक्षण, प्रशोधन, प्याकेजिङ, वितरण र उपभोगसम्मका चरणमा आधुनिक प्रविधिको उपयोग गरिन्छ ।
साधारण भाषामा भन्दा, खाद्य प्रविधिले खेतबारी र गोठबाट उपभोक्तको थालीसम्म आउने यात्रा वैज्ञानिक विधिले सुचारु बनाउने कार्य गर्छ । भोजनलाई लामो समयसम्म सुरक्षित राख्ने परीक्षण प्रविधि होस् या नयाँ स्वाद र पौष्टिकताले भरिपूर्ण उत्पादन विकास गर्ने प्रक्रिया, यी सबै खाद्य प्रविधिको अध्ययन अनुसन्धानको दायराभित्र पर्छन् ।
नेपालमा खाद्य प्रविधि शिक्षा
नेपालमा खाद्य प्रविधि शिक्षाको आरम्भ करिब पाँच दशकअघिदेखि भइसकेको छ । विसं २०३० तिर त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरानस्थित इन्स्ट्च्यिुट अफ अपलाइड साइन्स एन्ड टेक्नोलोजीमा प्रमाणपत्र तहको खाद्य प्रविधि कार्यक्रमले पहिलो पटक यो विषयको शिक्षा सुरु गरेको थियो । उक्त प्रमाणपत्र कोर्स विसं २०३६ सम्म सञ्चालन भयो र त्यसपछि उसको स्थानलाई स्नातक तहको फुड टेक्नोलोजिले लियो, जसलाई पछि परिमार्जन गरी त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थान आइओएसटी अन्तर्गत चारबर्से बिटेक फुड कार्यक्रमका रूपमा विस्तार गरियो । यो क्रमसँगै नेपालमा खाद्य प्रविधि शिक्षाले संस्थागत रूपमा विकसित हुँदै आएको छ । हाल नेपालको शैक्षिक परिदृश्यमा करिब १३ वटा कलेज तथा संस्थाहरूले खाद्य प्रविधि र सम्बन्धित विषयका स्नातक तहका कार्यव्रmम सञ्चालन गरिरहेका छन् ।
खाद्य प्रविधि पाठ्यक्रमको संरचना प्रायः चारबर्से हुन्छ, जसमा रसायन विज्ञान, जीव विज्ञान, खाद्य इन्जिनियरिङ, सूक्ष्मजीव विज्ञान, पोषण विज्ञान, गुणस्तर नियन्त्रण आदि जस्ता विषयको सैद्धान्तिक तथा प्रयोगात्मक अध्ययन समावेश हुन्छ । विद्यार्थीले खाद्य विश्लेषण, खाद्य प्रशोधन प्रविधिहरू, खाद्य सुरक्षा नियमहरू, उद्यमशीलता र अनुसन्धान प्रविधि आदिमा ज्ञान हासिल गर्छन् । धेरै जसो कार्यक्रमले अन्तिम वर्षमा उद्योगमा इन्टर्नसिप तथा परियोजना कार्यको व्यवस्था गरेका छन्, जसले विद्यार्थीलाई व्यावहारिक सिप र अनुभव प्रदान गर्छ । यसरी शिक्षित भएका खाद्य प्रविधि स्नातक विभिन्न क्षेत्रमा आकर्षक रोजगारीका अवसर पाउन योग्य हुन्छन् ।
खाद्य प्रशोधन उद्योग, गुणस्तर परीक्षण प्रयोगशाला, अनुसन्धान प्रतिष्ठान, सरकारी निकाय जस्तै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागदेखि लिएर गैरसरकारी संस्था र
अन्तर्राष्ट्रिय सङ्घ संस्थासम्म । हालैको एक प्रतिवेदन अनुसार सरकारले खाद्य अधिकारलाई मौलिक हकका रूपमा स्थापित गर्दै देशका हरेक ७७ वटै जिल्लामा कम्तीमा एक जना खाद्य प्राविधिज्ञ नियुक्त गर्ने प्रस्तावसमेत अगाडि सारेको छ । उपभोक्ताको स्वास्थ्यप्रति सजगता बढ्दै जाँदा सम्बन्धित संस्थाले निरीक्षण तथा जनचेतना कार्यक्रम व्यापक बनाएसँगै खाद्य प्रविधि स्नातकको माग अझ वृद्धि भएको देखिन्छ । यो अवस्थाले युवा वर्गका लागि खाद्य प्रविधिमा करियर बनाउने वातावरण अझै राम्रो बन्दै गएको सङ्केत गर्छ ।
खाद्य प्रविधिको भूमिका
नेपालको आर्थिक तथा सामाजिक विकासमा खाद्य क्षेत्रको भूमिका महत्वपूर्ण छ तर यो क्षेत्रमा कैयौँ चुनौती पनि विद्यमान छन् । कृषि उत्पादन प्रणाली परम्परागत एवं आत्मनिर्भर स्वरूपको भएकाले उत्पादन र आपूर्तिबिच सन्तुलन मिलाउन हम्मे पर्ने गरेको छ । विशेष गरी पहाडी तथा दुर्गम भूभाग खाद्य असुरक्षाको उच्च जोखिममा हुन्छन्, र देशभर नै कृषिमा सीमित सरकारी सहयोग, साना जोत तथा न्यून लगानीका कारण उत्पादन वृद्धिदर सुस्त छ । प्रविधिको ढिलो अपनत्व, सिँचाइ र आधुनिकीकरणको अभाव तथा जलवायु परिवर्तनको असरले गर्दा नेपालमा कृषि उत्पादन र उपज वृद्धि सुस्ताएको र अन्नबालीको उत्पादकत्व अन्य देशको तुलनामा अवस्था कमजोर रहेको देखिन्छ ।
नेपालको खाद्य आपूर्ति शृङ्खलामा नष्ट हुने र खेर जाने खानेकुराको परिमाण पनि धेरै छ । एक अध्ययन अनुसार नेपालमा दैनिक उत्पादन हुने ताजा फलफूल र तरकारीमध्ये ४०५ भन्दा बढी भाग यातायात र ह्यान्डलिङका क्रममा खेर जाने गर्छ । संयुक्त राष्ट्रसङ्घ वातावरण कार्यक्रम (युएनइपी) ले जनाए अनुसार नेपालमा प्रतिव्यक्ति वार्षिक खाद्य फोहोर करिब ७९ किलोग्राम जति छ, जुन विश्व र दक्षिण एसियाली औसतभन्दा उच्च हो । कृषि उपजको यस्तो ठुलो हानि हुनुमा चिस्यान भण्डारण सुविधाको कमी, माग र आपूर्तिबिच प्रभावकारी सूचना आदानप्रदान नहुनु, आपूर्ति शृङ्खलामा धेरै चरणका बिचौलिया र प्रशोधन प्रविधिको अभावलगायत कारण जिम्मेवार छन् । यस किसिमको अकार्यक्षमताका कारण किसानले आफ्नो बालीको उचित मूल्य प्राप्त गर्न सकिरहेका छैनन्, किनभने उपभोक्ताबाट तिरेको मूल्यको ठुलो अंश बिचौलियाले जोखिमको बहानामा राख्ने गरेका छन् । खाद्य गुणस्तर र सुरक्षाका दृष्टिले पनि चुनौती छन्– बजारमा अखाद्य पदार्थ मिसावट र
मापदण्डविपरीत उत्पादनका घटना समय–समयमा सार्वजनिक भएका छन् । यस्ता घटनाले प्रभावकारी नियमन र गुणस्तर सुनिश्चित गर्ने दक्ष जनशक्तिको खाँचो अझ महत्वका साथ उजागर गरेका छन् ।
यी चुनौती सामना गर्न खाद्य प्रविधि र विज्ञानले के कस्ता समाधान दिन सक्छ र यस प्रश्नको उत्तर नै यस क्षेत्रको मूल्य र महìव दर्शाउने कुरा हुने छ । वैज्ञानिक शोध र प्रविधिको उपयोगबाट हामी धेरै सुधारका कदम उठाउन सक्छौँ ।
(क) खाद्य प्रशोधन र संरक्षण : छिटै बिग्रने फलफूल, तरकारी, दुध जस्ता उपजलाई प्रशोधन गरी अचार, जाम, सुकेका तरकारी, पाउडर वा अन्य दीर्घकालसम्म हुने (सुरक्षित हुने) उत्पादनमा रूपान्तरण गर्न सकिन्छ ।
(ख) खाद्य सुरक्षा र गुणस्तर प्रयोगशाला परीक्षण : गुणस्तर मापदण्ड र आधुनिक गुणस्तर नियन्त्रण प्रणालीमार्फत खाद्य पदार्थमा हुने मिसावट, जीवाणुजन्य सङ्क्रमण वा हानिकारक रसायनको उपस्थितिमाथि निगरानी गर्न सकिन्छ । प्रशिक्षित खाद्य प्रविधिज्ञ र निरीक्षकले उत्पादनदेखि बजारसम्मका चरणमा खाद्यको स्वच्छता र सुरक्षालाई सुनिश्चित गर्न सरकार र उद्योग दुवै क्षेत्रमा काम गर्न जरुरी छ ।
(ग) आयात प्रतिस्थापन र मूल्यबर्धन : खाद्य प्रविधिले स्थानीय स्रोतबाट नयाँ उत्पादन विकास गर्ने क्षमता बढाउँछ । नेपालको फराकिलो जैविक विविधता र विशिष्ट परम्परागत खाना छन्, जसमध्ये धेरैलाई व्यावसायिक रूप दिन सकिन्छ । उदाहरणका लागि, कोदाको पिठोबाट निर्मित स्वास्थ्यबर्धक स्न्याक्स, अलैँची वा अदुवाको तेलबाट सुगन्धित पेय पदार्थ, अर्गानिक चिया तथा कफीका नयाँ मिश्रण । यस्ता अनगन्ती सम्भावना छन्, जुन खाद्य प्रविधिमा दक्खल भएका युवाले नयाँ उत्पादनका रूपमा बजारमा ल्याउन सक्छन् । खाद्य प्रविधिको ज्ञान हासिल गरेका युवा आफ्नै खाद्य प्रसंस्करण उद्यम खोली स्थानीय उत्पादनमा मूल्यबर्धन र खाद्य सुरक्षामा योगदान दिन सक्छन् ।
(घ) रोजगारी र आर्थिक वृद्धि : खाद्य प्रविधिमा दक्खल हासिल गरेका जनशक्ति अहिले खाद्य प्रसंस्करण उद्योग, कृषि उद्यम, होटल तथा पर्यटन क्षेत्र, गुणस्तर परीक्षण प्रयोगशाला, अनुसन्धान संस्था, सरकारी नियामक निकायलगायत थुप्रै क्षेत्रमा मागमा छन् । एक अध्ययनले जनाए अनुसार उपभोक्तमा सुरक्षित र स्वस्थ खानेकुराको माग बढेसँगै होटल, रेस्टुरेन्ट र खाद्य उद्योगले गुणस्तर सुनिश्चित गर्न दक्ष जनशक्ति राख्न थालेका छन् । यसले घरेलु रोजगारी सिर्जना गर्दै युवालाई आफ्नै देशमै अवसर पाउने वातावरण प्रदान गरेको छ ।
युवापुस्ताको भूमिका
नेपाल जस्तो विकासोन्मुख देशमा दिगो विकास हासिल गर्न कृषिलगायत सबै क्षेत्रको रूपान्तरण आवश्यक छ । खाद्य क्षेत्र तिनैमध्ये एक प्रमुख क्षेत्र हो, जसले दिगो विकासका सामाजिक, आर्थिक र पर्यावरणीय तिनै आयामलाई समेट्छ । खाद्य सुरक्षाको प्रत्याभूति दिगो विकासदेखि स्वस्थ जीवन र पोषण, मर्यादित रोजगारी, आर्थिक वृद्धि र जिम्मेवार उपभोग तथा उत्पादनसम्म धेरै लक्ष्य खाद्य प्रणालीसँग गाँसिएका छन् । यी लक्ष्य प्राप्तिका लागि युवापुस्ताको नवीन सोच, ऊर्जा र सिपलाई परिचालन गर्नु अत्यावश्यक छ ।
आजका नेपाली युवा विज्ञान र प्रविधिमा दक्खल राख्ने, नयाँ कुरा छिटो आत्मसात् गर्ने र उद्यमशील सोच भएका छन् । सरकारले र अन्तर्राष्ट्रिय निकायले समेत कृषि तथा खाद्य प्रणालीमा रूपान्तरण ल्याउन युवाको सक्रियता र नेतृत्वलाई अपरिहार्य ठहर गर्न थालेका छन् । युवाले खाद्य प्रविधि क्षेत्रमार्फत दिगो विकासमा बहुआयामिक योगदान दिन सक्छन् ।
नवप्रवर्तनमार्फत – परम्परागत खेती र उद्योग चलाउने तौरतरिकामा नयाँ प्रविधि र विचार भित्र्याउन युवा सक्षम छन् । उनीहरू डिजिटल प्रविधि, सूचना प्रणाली र आधुनिक संयन्त्रको प्रयोग गरी कृषि–खाद्य शृङ्खला अधिक प्रभावकारी र पारदर्शी बनाउन सक्छन् । विशेषज्ञले ध्यानाकर्षण गराएका छन् कि नेपालमा कृषि र शिक्षाबिच सम्बन्ध जोड्दै व्यावहारिक तालिम, प्राविधिक शिक्षा र उद्यमशीलताको प्रशिक्षण दिनु आवश्यक छ, जसले गर्दा युवा पुस्ता परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्न सक्षम होऊन् ।
नेतृत्व र जागरुकतामार्फत – युवा शक्ति परिवर्तनको वाहक हो । आजका विद्यार्थी र युवा वैज्ञानिकले खाद्य सुरक्षाका महत्व, पोषणका आवश्यकता र वातावरणीय संरक्षण जस्ता विषयमा समुदायस्तरमा अभियान र जागरूकता फैलाउन सक्छन् । विद्यालय र कलेजहरूबाट नै खाद्य विज्ञान र पोषणका कुराहरू सिकाइयो र प्रयोगात्मक रूपमा देखाइयो भने भविष्यका लागि स्वास्थ्यप्रद भोजन (बानी) र उत्पादनप्रति सम्मान जगाउन सकिन्छ ।
सङ्घर्ष र नीति (नियममा सहभागिता) नीति निर्माणमा युवापुस्ताको आवाज पर्नु जरुरी छ । नेपालको सन्दर्भमा खाद्य सुरक्षासम्बन्धी ऐन, खाद्य गुणस्तर मापदण्ड र कृषि–उद्योग प्रवर्धन नीतिहरूको प्रभावकारी कार्यान्वयनका लागि सचेत युवा पुस्ताले निगरानी र वकालत गर्न सक्छन् ।
खाद्य प्रविधि र विज्ञानमैत्री युवापुस्ताकै प्रयासबाट नेपालको खाद्य प्रणाली दिगो र समृद्ध बन्ने छ । खाद्य प्रविधि शिक्षाले युवा पुस्तालाई आधुनिक सिप, ज्ञान र आत्मविश्वासबाट कृषि र उद्योगबिचको खाडल कम गर्न सहयोग गरेको छ । अब आवश्यक छ त केवल यी युवालाई उचित अवसर, प्रोत्साहन र पूर्वाधार उपलब्ध गराउने । सरकारले प्राविधिक शिक्षा र अनुसन्धानमा लगानी बढाउँदै युवा अनुसन्धानकर्तालाई प्रोत्साहन दिनु जरुरी छ । निजी क्षेत्रले समेत स्टार्टअप र नयाँ परियोजनासँग सहकार्य गरी नवप्रवर्तनलाई बजारसम्म लैजान सघाउनु पर्छ ।
खाद्य प्रविधिमा आजको लगानी र युवापुस्ताको आकर्षणले भोलिको स्वस्थ, समृद्ध र दिगो नेपाल निर्माणमा अभूतपूर्व योगदान दिने छ । सरल शब्दमा, खाद्य प्रविधिमा निपुण युवा भनेका राष्ट्रिय सम्पदा हुन्, जसले नेपाललाई भोकमुक्त, स्वस्थ र समृद्ध बनाउने मूलधारको यात्रामा अगुवा भूमिका निर्वाह गर्न सक्छन् ।