• ९ जेठ २०८१, बुधबार

सर्प दंश उपचार बारे जनचेतना

blog

बाबुराम कार्की 

वराहक्षेत्र (सुनसरी) साउन ५ गते । वर्षासँगै सर्पको बिगबिगी बढ्न थालेपछि सामुदायिक सर्प दंश उपचार केन्द्र इटहरीले प्रभावित क्षेत्रहरूमा जनचेतनाका कार्यक्रम सुरु गरेको छ । सामुदायिक सर्प दंश उपचार केन्द्र इटहरीले विज्ञ टोलीसहित मोबाइल जनचेतना कार्यक्रम सुरु गरेको सामुदायिक सर्प दंश उपचार केन्द्रका अध्यक्ष दिवस पोख्रेलले जानकारी दिनुभयो ।

सैनिक नागरिक सम्बन्ध विस्तार अभियान अन्तर्गत इटहरी ब्यारेक परिसरमा स्थापना भएको सामुदायिक सर्प दंश उपचार केन्द्रले बिहीबार वराहक्षेत्र १० को वडा कार्यालयको सहकार्यमा सर्प दंशसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम गरेको हो । 

कार्यक्रममा सहभागी विज्ञहरूले सर्पले कसरी डस्छ ? कुन बेलामा सर्प बढी सक्रिय हुन्छ ? र सर्पले डसेपछि कसरी प्राथमिक उपचार गर्नेजस्ता विषयहरूमा जानकारी गराएका थिए । पूर्वाञ्चल विश्व विद्यालयका उपप्राध्यापक द्वय सरिता खतिवडा र दीक्षा पौडेलले सहजीकरण गर्नुभएको थियो । सर्पले टोकिसकेपछि गर्नुपर्ने कार्य, कुन र कस्ता प्रकृतिका सर्पले डस्दा विष लाग्ने बारे कार्यक्रममा बताइएको थियो । 

कार्यक्रममा सर्प दंश केन्द्रका अध्यक्ष दिवस पोख्रेलले पहिलो चरणअन्तर्गत सुनसरी र मोरङका सर्प प्रभावित क्षेत्र र ग्रामीण तथा विकट स्थानमै गएर विज्ञसहितको टोलीले जनचेतनामूलक कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । पहिलो चरणअन्तर्गत पाँच स्थानमा गरिने जनचेतनामूलक कार्यक्रम प्रकाशपुरबाट सुरु गरिएको बताउनु भयो । 

अध्यक्ष पोख्रेलले सामुदायिक सर्प दंश उपचार केन्द्र इटहरीले सर्पले डसेका सुनसरी, मोरङ, उदयपुरलगायत जिल्लाका १४ हजार जनालाई सफल उपचार गरिएको बताउनु भयो । सर्पले डसेको विपन्न परिवार र बस्तीका मानिसलाई उपचार केन्द्रले निःशुल्क उपचार सेवा दिँदै आएको अध्यक्ष पोख्रेलले बताउनु भयो । 

घर वरिपरि मट्टितेल, फिनेल र लसुन कुटेर समय समयमा छर्नसमेत सुझाउनु भयो ।