लक्ष्मण पौडेल
भैरहवा, साउन ४ गते । एक सातादेखि फोहर नउठ्दा सिद्धार्थनगर क्षेत्र दुर्गन्धित बन्न थालेको छ । सडकमा आवतजावत गर्ने तथा स्थानीय बासिन्दाले फोहर उठाउनका लागि नगरपालिकाको पटक-पटक ध्यानाकर्षण गराएपनि फोहर उठ्न सकेको छैन ।
स्थानीय घर तथा व्यावसायिक प्रतिष्ठानबाट निस्कने फोहोर सङ्कलन गर्ने नगरपालिकाको गाडी एक सातादेखि फोहोर उठाउन पुगेको छैन । नगरले फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर १ को डण्डाखोला नजिकको स्थानमा वडा नम्बर २ को बस्ती पर्ने भएकाले त्यहाँका स्थानीयले अवरोध गरेपछि फोहोर फाल्ने ठाउँ नपाएकाले सङ्कलन हुन नसकेको फोहोर मानिसको घरघर, चोकचोक तथा मुख्य सडकमा छरपस्ट रहेको छ ।
धेरै दिन भएपछि फोहोरले बजार नै दुर्गन्धित बनाएको छ । मानिस ओहोरदोहोर गर्ने मुख्य सडकमा फोहोर थुप्रिएपछि उक्त सडकखण्डमा आवतजावत गर्नै समस्या भइरहेको स्थानीयको गुनासो छ ।
फोहोर सङ्कलन र व्यवस्थापन गरिरहेको स्थानमा केही राजनीतिक व्यक्तिले स्थानीय जनतालाई अनेकथरी कुरा लगाई फोहोर फाल्न नदिने वातावरण बनिरहेको उपप्रमुख उमा अधिकारीले बताउनुभयो । उहाँले विगतमा पनि नगरपालिकाको आफ्नो जमिन रहेको ओमसतियामा एडिबीले लगानी गरी फोहोर रिसाइक्लिङ प्लान्ट नै लगाउन खोज्दा समेत केही राजनीतिक व्यक्तिले काम हुन नदिएकाले रोकिएको र हाल स्थानीयले विरोध गर्नुमा विगतदेखिकै तुस रहिरहेको हुन सक्ने बताउनुभयो ।
“हामी वार्तामै छौँ”, उहाँ भन्नुहुन्छ, “सकेसम्म अर्को स्थान खोज्छौँ, हुँदै नभए स्थानीयलाई मनाउँछौँ, फोहोर डम्प गर्नै नपाएकाले थुप्रिएको हो । यसप्रति पालिका गम्भीर छ ।”